१६, १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाइ जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको खेल भनौं या नियतिको ! उसको बाबुको ५ वर्षभयो आजसम्म अत्तोपत्तो छैन । हुन त बाबु घरमै हुँदा पनि उसले चाल पाउँदादेखिनै दिनरात आमासँगको झगडा उसले देखेको थियो । नहुनु भन्दा कानो मामानै बेस भनेझैं जँड्याहा नै भए पनि उसलाई आफ्नो बाबुको ठूलो भरोसा थियो । घरमा खानलाई भनेर उसकी आमाले जोहो गरेर राखेको अन्नपात बेचेरै भए पनि किशोरलाई उसको बाबुले फिल्म हेराउन लगेको अनि मिठाइ पसलमा लगेर मिठाइ किनिदिएर घर पठाएको याद अझै ऊसँग ताजै छ । बेलुकी खुट्टा लर्वराउँदै आएर आमालाई लात हान्न कस्सिएको बुबाको कमिज तान्दै हात जोडेर त्यसो नगर्न अनुनय गरेको पनि कहाँ बिर्सेको छ र किशोरले । हुन त हजुरबुबाले अंश दिएर छुट्टाउँदा उनीहरुको भागमा ३-४ बिघा तराइको राम्रो उब्जनी हुने जमिन परेको थियो तर कुलतमा फसेको व्यभिचारी बाबुको दिनरातको जुवातास खेल्नुपर्ने, बेलाबेलामा केटीहरुलाई घुमाउनु लानुपर्ने भएकोले गर्दा सबै घरको रेखदेख वालबच्चा हुर्काउनु सबै जिम्मा किशोरकी आमाको काँधमा थियो । त्यत्ति मात्र नभएर लोग्नेको भकुराइ पनि बेलाबेलामा खानुपर्ने । यी सबै बाबुको चर्तिकला टोलाएर हेर्नु सिवाय किशोर केही गर्न सक्दैनथ्यो । यस्तो पारिवारिक वातावरणमा १० कक्षासम्म जसोतसो पुग्न मात्र पुगेको थियो । उसको बाबुले बन्धक राखेको डेढ बिघा जमिन पनि साहूले खोसेपछि उसको परिवार सुकुम्वासीनै भयो । उसकी आमाले साहूसँग १० कठ्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती गरी वालबच्चा हुर्काउने निधो गरी वर्षको ५० हजार तिर्ने शर्तमा लिन्छे । हुनु हार दैव नटार भनेझैं उसको तरकारी खेती चैतको असिनाले स्वाहा भयो । उसकी आमा पनि अनेकौं तनावले ग्रस्त छे । बेलाबेला मुर्छित भई बर्बराउँछे । उसको यो अवस्था दिन प्रतिदिन बढ्दै छ । यहाँसम्म कि ऊ धेरैजसो कुरा अचेतभै बोलिरहेकी हुन्छे । डाक्टरकोमा देखाउन लाने हविगतनै छैन उनीहरुको । ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ भनेझैं पहिला घरव्यवहार राम्रो हुँदा सम्मानजनक व्यबहार गर्ने आफन्तहरु आमाको उपचार गर्नुपर्यो भनी ऋण माग्न जाँदा उल्टै तथानाम गाली गरेर फर्काउँछन् । आफन्त र इष्टमित्रको व्यवहारबाट आजित भएपछि किशोरको मनमा ठूलो परिवर्तन आउँछ । उसले अब आफ्नो पढाइलाई यहीँ बिट मार्नुपर्ने देख्छ । अहिले उसको काँधमा सम्पूर्ण जिम्मेवारी आएको छ ।
अब उसको कलिलो दिमागले संसारमा सबैभन्दा ठूलो पैसा रहेछ भन्ने ठान्छ । पैसा भयो भने इष्टमित्र आफन्त सब नजिक हुने रहेछन् भन्नेकुरो पनि महसूस गर्छ । त्यसैले ऊ पैसा कसरी कमाउने र आफ्नी आमाको उपचार गर्ने भन्नेतर्फमात्र सोचिरहन्छ । ऊ आमालाई उपचार गराउन नसकी मृत्युवरण गरेको हेर्न चाहँदैन । ऊ चिच्याउँछ मेरी आमा……………आमा तिमी धन्दा नमान म तिम्रो लागि जे गर्न पनि तयार छु । भाइ-बहिनीलाई असल शिक्षा दिने अनि त्यो दयानन्द साहूको ऋण तिर्ने पैसा म कमाउँछु । आमा तिम्रो तनावले चहराइरहेको घाउमा मलम लगाउने काम मेरो भयो आमा भन्दै मस्त निन्द्रामा सुतिरहेकी आमाको दुबै पाउ समाएर घोप्टो परेर केहीबेर रुन्छ । सबैजना एउटै कोठाको भुइँमा लम्पसार परेर सुतिरहेका हुन्छन् । तर किशोरलाई भने निन्द्रा पटक्कै लाग्दैन । रातको ३ बजेको हुन्छ । उसलाई के गरौं कसो गरौं हुन्छ । बाहिर निस्कन्छ, भित्र पस्छ । अनि उसकी आमाले पूजागर्ने ठाउँमा जान्छ र दुबै हात जोडेर आँखा चिम्लिएर भन्छ ” हे इश्वर !, मेरी आमा र मेरा भाइबहिनीहरु हजुरको जिम्मा लगाएर म पैसा कमाउन जाँदैछु । मेरो परिवारको रक्षा गर प्रभु ! म फर्केर नआउन्जेल सब हजुरकै जिम्मा ” भन्दै एकपटक शिर झुकाएर ढोक्छ । उसलाई केही बोझ बिसाएझैं मन हलुङ्गो हुन्छ ताकी उसको पुकार सुनेर इश्वरले हुन्छ भनी टाउको हल्लाए । एउटा कपडाको झोलामा उसले आफ्नो किताब बेचेर राखेको ५०० रुपियाँ हुन्छ । त्यसलाई रुमालले बेरेर झोलामा लुकाउँछ । उक्त पैसाले शहरमा काम नपाउञ्जेल आधापेट भए पनि खानुपर्ने हुन्छ । एकदुइ जोर लुगा पनि त्यही झोलामा राख्छ । अनि बिहानको ४ बजेको हुँदो हो घरबाट निस्कन्छ । टहटह जून लागेको हुन्छ । बाटोमा रहेका वयरका पोथ्रापोथ्री बिरुवाहरुले उसलाई गाउँ नछोड भनेर बाटो छेकेझैं लाग्छ । आँप-कटहर लटरम्म फुलेका छन् जसलेगर्दा सुगन्धित वास्ना छरिरहेका हुन्छन् । त्यो मीठो वास्नाले पनि उसलाई आफूतिर आकषिर्त पारी गाउँमै बस्न भनेझैं लाग्छ । पाइला रोकाउँछ, एकपटक पछाडि फर्केर हेर्छ । केराको पातले उसलाई हात हल्लाएर बिदा दिएको अनुभूति हुन्छ । अनि आफ्नो पैसा कमाउने उद्देश्यलाई मीठो कल्पनाको तानाबुनाले बुन्दै बाटो लाग्छ फटाफट । बसबाट जाने पैसा हुँदैन । त्यसैले ऊ हिँडेरै दुइदिन पछि शहर पुग्छ । शहरको निस्सासिने वातावरणमा त्यो स्वच्छ सफा गाउँमा हुर्केबढेको ठिटो उकुसमुकुस हुन्छ । अब कहाँ जाने काम कसले देला ? कहाँ बस्ने होला ? भन्ने चिन्ताले ऊ त्यसै-त्यसै डराउँछ । घरबाट हिँड्दा उसलाई शहरमा के के न पाइएला भन्ने लागेको थियो । तर शहर पुगेपछि भने उसलाई शहरको वातावरणलेनै अत्यास बनाउँछ । ऊ कामको खोजीमा होटल-होटल चाहार्छ । भाँडा माझ्ने काममा पनि उसलाई कसैले पत्याउँदैन किनकि ऊ हेर्दा भाँडा माझ्ने खालको जस्तो देखिँदैन । ठूलै परिवारको मान्छेजस्तो लाग्छ । उसले कुनै काम जानेको पनि हुँदैन । पढ्न पनि एस.एल.सी. पनि गरेको छैन । त्यसैले काम पाउन पनि सक्दैन । शहर पसेको पनि १५ दिन भैसकेछ । तर उसलाई आजसम्म कसैले कुनै काममा लिँदैनन् । ऊ छटपटिन्छ । अब के गरुँ ? कसरी हातमुख जोड्ने ? सुत्न त एउटा मन्दिरको पेटी भेट्टाएको छ । उसले त्यहीँ रात बिताउँछ । शहरको दुर्गन्धित वातावरण, खानु न पिउनु ? पिउने पानी पनि पाउँदैन । उसको खल्ती रित्तो छ । एक मनले घर फर्किउँकि जस्तो लाग्छ । फेरि उसका आँखा अगाडि बेहोस आमा बर्बराउँदै पल्टिरहेको दृष्य नाच्न थाल्छ अनि ५० हजार तिर्नुपर्ने ऋण कसरी चुक्ता गर्ने ? भाइबहिनीलाई आफूले पढ्न नपाएपनि सरकारी विद्यालयबाटनै भए पनि पढाउने उसको अठोट खोइ कसरी पूरा गर्ने त ? यस्ता-यस्ता तर्कनाहरुले उसको दिमाग नाचिरहेको हुन्छ । अहँ म कुनै हालतमा पनि पैसा नकमाइ घर र्फकनु हुन्न । मैले मेरी आमाको उपचार जसरी पनि गर्नुपर्छ, नत्र मेरो जीवनलाई धिक्कार छ भन्ने सोचेर ऊ फेरि दैनिकीझैं काम खोज्न निस्कन्छ । दुर्भाग्यनै भनौं आज पनि उसले कहीँ काम पाउँदैन । बाटोमा खान नपाउनेहरु पेट मिचिमिची आँखाभरी च्रि्रा लिएर भीख मागिरहेछन् । कोही भने झिङ्गा चिप्लिने कारमा भुवादार कुकुर च्यापेर दौडीरहेछन् । उसले सोच्छ मान्छे भन्दा त बरु कुकुरले इज्जत पाउँदो रहेछ, यो शहरमा त । खोइ मान्छेलाई खान पाउने अधिकार – किन भगवानले पनि मान्छे पनि धनी र गरिब बनाएको होला ? सबै समान किन नबनाएको होला ? भन्दै ऊ अघि बढ्छ ।
उसको मनमा धनीप्रति नकारात्मक बिचार पलाएर आउँछ । अनि यस्ता मान्छेको त पैसा लुट्दा पनि पाप लाग्दैन किनकि त्यो पैसालाई सही सदुपयोग गरेको खण्डमा त भगवान पनि खुशि होलान् नि भन्ने सोचेर पाकेट मार्न तर्फउसको अचेतन मन तम्सन्छ अनि त्यो दिन उसले कुन बाटोमा बस्दा अनुकुल होला भनेर मात्र सोचेर बिताउँछ । उसको चेतन मनले त्यसो नगर भन्छ तर आफ्नो अगाडि आइपरेका चुनौतीहरुले उसको चेतनमनलाई जितेर अचेतन मनले ठाउँ ओगट्छ । ऊ पाकेटमार बन्ने निधो गर्छ । तर पहिलो प्रयासमानै ऊ समातिन्छ । उसलाई मान्छेहरुले पिट्छन्, थुक्छन्, तथानाम गाली गर्छन् । ऊ भने केही बोल्दैन । मान्छेको भीड थपिँदै जान्छ । कसैकसैले छोडिदेऊ बदमासलाई पनि भन्छन् । ऊ भने मरेको बिरालो जस्तै लत्र्याकलुत्रुक हुन्छ । हजुर अबदेखि यस्तो काम गर्दिन, मलाई माफ गरिदिनुस् भन्छ । मैले रहरले यस्तो काम गरेको होइन हजुर मेरी आमा. . . . .भन्दै भक्कानिन्छ । तर भीडबाटनै एउटाले उसकी आमालाई अस्लिल शब्द प्रयोग गरेर गाली गर्छ । उस्को त्यो गालीले किशोरलाई यत्ति कठोर बनाउँछ कि ऊ अब मान्छेनै होइन कुनै हिँस्रक जनावर हो । उसले त्यहाँ भीडमा जम्मा भएका सब मान्छेलाई पन्छाउँछ अनि उसकी आमालाई अपशब्द प्रयोग गर्नेतर्फ जाइलाग्छ । तेरो मेरीआमाले के बिगार गरेकी छन् र त्यस्तो फोहोरी कुरामा गाली गर्छस् भन्दै च्याप्प घाँटीमा अठ्याउँछ । उसको हात चारजनाले पनि छुटाउन सक्दैनन् । अन्त्यमा त्यो मान्छे खत्तम हुन्छ । यत्तिक्कैमा प्रहरिको भ्यान आइपुग्छ उसलाई हत्कडी लगाउँछन् र भ्यानमा राखेर लैजान्छन् ।
टीका खरेल
कुलेश्वर, काठमाण्डौं
tikakharel@rocketmail.com
http://pallawa.com.np/?p=12702
