वर्तमान समय-सन्दर्भमा नेपालको राजतन्त्र इतिहासको विषय बनिसकेको छ । यो हिजो थियो तर आज छैन । यही इतिहाससम्बद्ध विषयहरू प्रस्तुत गर्दा असम्बद्ध र अर्थहीन कुराहरूबाट टाढा रही वास्तविक यथार्थको ज्ञान दिने र यसका माध्यमबाट सम्बद्ध विषयवस्तुको तत्त्वबोध गराउने आफ्नै किसिमको सत्प्रयास कवि नीलकण्ठ भट्टराईले प्रस्तुत पुस्तक ‘शाह-शृङ्खला’मा गरिएको पाइन्छ । वास्तवमा यस किसिमका कृतिहरू नै समाजमा कालान्तरसम्म जीवन्त कृतिका रूपमा स्थापित पनि हुन पुग्छन् ।
हामीलाई थाहा छ-मार्टिन लुथर आज हाम्रासामु छैनन् तर युरोपमा मार्टिन लुथरले सुधार-आन्दोलनसम्बन्धी अभियान तीव्ररूपमा अघि नबढाएको भए युरोपको राजनीतिक र आर्थिक इतिहासले नै अर्कै मोड लिनसक्थ्यो । यसैक्रममा मध्यकालीन युरोपको राजतन्त्रीय एकतन्त्रवादलाई अध्ययन गर्दा त्यसले हानी होइन बढी मात्रामा लाभ नै पुर्याउन सकेको यथार्थलाई पनि हामी अस्वीकार गर्न सक्तैनौँ । इतिहास कहिल्यै मर्दैन । यो सबैका लागि अत्यन्त चाखलाग्दो, कौतूहलपूर्ण र उत्प्रेरक विषय पनि बन्नसक्छ । परिस्थिति र वातावरणले यसलाई ओझेलमा राख्ने गरे पनि त्यो चिरस्थायी हुनै सक्तैन । सालिक ढालेर वा ढलाएर वा अन्य कुनै पनि आक्रोशपूर्ण एवं विक्षिप्त व्यवहार प्रदर्शनबाट पनि कसैले यसको अस्तित्व अन्त्य गर्न सक्तैन । हामी अतीतलाई प्रत्यक्षरूपमा देख्न, भोग्न र स्मरण गर्न सक्तैनौँ । यति हुँदाहुँदै पनि हाम्रा पूर्वजहरूले केही त्यस्ता चिन्ह वा स्रोतहरू छाडेर गएका हुन्छन्, जसका आधारमा इतिहासकारहरूले इतिहासको निर्माण गरेका हुन्छन् । उनीहरू प्राप्त स्रोतका आधारमा अन्य वास्तविक तथ्यहरूको खोज गर्छन् । प्राप्त खोजलाई राम्ररी केलाउँछन् । तुलना, विश्लेषण आदि विविध माध्यमद्वारा त्यसको सत्यापन गर्ने कार्य गर्दछन् ।
यसैक्रममा महाकाव्यकार नीलकण्ठ भट्टराईको ‘शाह-शृङ्खला’ शीर्षकको प्रस्तुत महाकाव्यलाई खासगरी नेपालका तत्कालीन शाहवंशीय राजा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको नेपाली राजतन्त्रको ऐतिहासिक इतिवृत्तका रूपमा आत्मसात गर्न सकिन्छ । यसअघिका राजतन्त्रको सम्बन्धमा पनि सङ्क्षिप्तरूपमा चर्चा गरिएको भट्टराईको यो कृति भावी पुस्ताका लागि इतिहाससम्बद्ध अत्यन्त महत्त्वपूर्ण साहित्यिक स्रोत-सामग्री बन्नसक्छ, जसले सबैमा प्रष्टता र सत्यतामा आधारित चेतना जागृत गर्ने-गराउने कार्यमा महत्त्वपूर्ण सघाउ पुर्याउने छ भन्नेमा विश्वास गर्न सकिन्छ ।
विविध किसिमका शास्त्रीय द्वन्द्व र अलङ्कारहरूले सुसज्जित पन्ध्र सर्गमा बाँडिएको यो महाकाव्य अत्यन्त सरल, सुरुचिपूर्ण र चित्ताकर्षक छ । यो महाकाव्यले नेपालीहरूको अन्तर्मनभित्रको भावनालाई पनि राम्ररी स्पर्श गर्नसकेको देखिन्छ । यसको मूलभाव राष्ट्रप्रेम र राष्ट्रियता नै रहेको देखापर्छ । ऐतिहासिक विषयवस्तुमा आधारित भएर पनि कहीँ कसैलाई आरोपित नगरी राजनीतिक समर्थन वा आलोचनाबाट सर्वथा पृथक् रही प्रकाशमा ल्याइएको यो महाकाव्यलाई दूषित प्रभावबाट मुक्त रहेको एउटा विशुद्ध साहित्यिक कृतिका रूपमा पाठकसामु प्रस्तुत गर्नसक्नु महाकाव्यकारको शिल्प, शैली र प्रवृत्तिगत वैशिष्ट्यका रूपमा देखापरेको छ । यो सानो लेखोटमा महाकाव्यका समग्र पक्षलाई केलाउन नसकिए पनि महाकाव्यभित्रका उनका अनेकौँ चित्राकर्षक श्लोकमध्ये यी दुई श्लोकले नै पनि उनको काव्यकारिता र काव्यवैशिष्ट््सम्बद्ध रोचकपक्षको राम्रो परिचय दिनसकेको छ भन्ने लाग्दछ ।
सुनको सामुमा जाबो
फलाम टल्किने भए ।
चन्द्रको चाँदनी ढाक्ने
जुन्किरी नै हुने थिए ।
पुर्ख्यौली श्रमको साझा
बारी यो सिर्जना थियो ।
बौलठ्ठी वनका ब्वाँसा
जुधेर सब भत्कियो ।
अन्त्यमा भन्नुपर्दा महाकाव्यकार नीलकण्ठ भट्टराईको ‘शाह-शृङ्खला’ शीर्षकको यो महाकाव्य नेपालका शाहवंशीय राजाहरूको कालक्रमिक इतिवृत्तमा समीचीन प्रकाश पारिएको एउटा काव्यमय दस्तावेज हो-जसलाई नेपालका शाहवंशीय राजाहरूको चरित्र, चिन्तन, आनीवानी र व्यवहारआदिका अनेकौँ झाँकी -दृश्य, घटना, लीला आदि) हरूले भरिएको एउटा अनुपम र अभिनव कृतिका रूपमा लिन सकिन्छ र कुनै पनि स्थितिमा अखण्ड नेपाल खण्डित हुन नपाओस् भन्ने सन्देश यसले दिनसकेको पाइन्छ ।
कृतिः शाह-शृङ्खला (महाकाव्य)
महाकाव्यकारः नीलकण्ठ भट्टराई
प्रकाशकः दुर्गादेवी भट्टराई
प्रकाशनः २०६६
पृष्ठ सङ्ख्याः २४९+१०
मूल्यः रु. २२५।-
मधुपर्क २०६८ असार
