सुन-सान अधेँरीमा
रातलाई बिछ्यौना बनाई
उ…त्यो पर…….क्षितिजको
धिपधिपे बत्तीको
सहारामा
म भबिष्यको खाका कोर्दैछु… ..
अनिश्चितताको धरातलमा
पिलिक-पिलिक गर्ने ति बत्ती
म संग पूर्ण अपरिचित छ
र त,कुनैबेला मेटाउन खोज्छ
मैले कोरेका रेखाहरु
आँखा चिम्म पारि !
वरिपरी फुलेका क्याक्टसको
फूलहरु माथि पैताला
बजार्दै
गर्भेनी उंटको आत्मा बोकी
लम्किदै छ मेरो जोस
आफ्नु खाकालाई पूर्णता दिन…
कयौ पटक बनाउदै
भत्काउँदै गरिसकेको छु
मैले स्वप्नका महलहरु
यिनै अँधेरी रातलाई टेकी…
चकमन्न छ रात
जुनकिरीहरु अलाप भैसकेका छन्
कीर-कीर गर्ने किर्किरेहरु भासिएर
धर्ती भित्रै सदाको लागि
कैद भैसकेका छन्….
यता-कता बहने हावा पनि
गर्मीको बोझले
घिस्री रहेको छ
सुस्तर-सुस्तरी आफै शितलताको
खोजीमा देख्दै
कोरले भेटिएका
झैं देखिने खजुरको पात-पातमा
र मै जस्तो मानब निर्मित
नाङ्गो आकासे टावरहरुमा..लट्किरहेकाछन्
फगत अदृश्य सपना साकार पार्न
मात्र असम्भव यात्रा तय गर्न
काल्पनिकतालाई सतहमा ल्याउन
मात्र म जिर्ण यो शरीर लिई
गन्तव्य पहिल्याउन चाल्दैछु यी
कदमहरु बिस्तारै बिस्तारै
शुन्यतातिर ………बस,…
बिस्तारै बिस्तारै
शुन्यतातिर ………..//.
राजेश रुम्बा लामा “अतृप्त”
१८-०७-२०११
