Skip to content


“शुभ सन्ध्या,भद्र महिला आर भद्र लोक”, श्रुतिमधुर बाङ्लाभाषामा ओइक्को पब्लिकेशन्सका अध्यक्ष जाँगरिला युवा कवि सलाहुद्दीन खान कुटुले उपस्थित सम्पूर्ण अतिथिहरूको अभिवादन गरेर औपचारिक कार्यक्रमको सुरूवात गरे । कार्यक्रम थियो बाङ्लादेशको त्यसप्रसिद्ध संस्थाको निमन्त्रणामा ढाका पुगेको नेपाल स्रष्टा समाज टोलीको स्वागतको ।

सन् २०११ को फेब्रुअरी २० तारिख आइतबार साँझको साढे पाँच बजेको थियो । हामी एसियाटिक सोसाइटी अफ बाङ्लादेशको भव्य प्रेक्षालयमा उत्सुकतापूर्वक बसिरहेका थियौँ । त्यहाँ हामीसँग अन्तक्रिया गर्ने र कविता सुन्ने सुनाउने पनि कार्यक्रम थिए जसका लागि बाङ्लादेशका प्रतिष्ठित कवि लेखकहरू र विश्वविद्यालयका प्राध्यापकहरू उपस्थित थिए । केही साहित्यानुरागी विद्यार्थीहरू पनि थिए । प्रेक्षालय पूरै भरिएको थियो । आफ्नो मुलुक, आफ्नो भाषा, आफ्नो साहित्य सम्झेर ढाका विश्वविद्यालयका केही नेपाली विद्यार्थीहरू पनि हाम्रो कार्यक्रममा आएको देखेर हर्षले मन गद्गद् भयो ।

अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरू र स्रष्टाहरूसँग सम्बन्ध स्थापना गरी बिस्तार गर्ने समाजको एउटा प्रमुख उद्देश्य बमोजिम बाङ्लादेशी लेखकहरूसँगको सम्बन्ध बिस्तारै सुदृढ हुँदै गयो । ढाका भ्रमण गर्न औपचारिक निमन्त्रणा हामीले पायौं । त्यही निम्तो मान्न आठसदस्यीय स्रष्टा टोलीबाङ्लादेश पुगेको थियो ।टोलीको नेतृत्व नेपाल स्रष्टा समाजका अध्यक्षका हैसियतले मैले गरेको थिएँ ।

उद्घोषक कुटुले हामीसँगै बसेर कुरा गरिरहेकी ढाका विश्वविद्यालयकी प्राध्यापक माहफुजा खानमलाई सभाको सभापतित्व गर्न मञ्चमा आउन अनुरोध गरे । कुटुले बाङ्लादेशका प्रसिद्ध कवि तथा अत्यन्त सम्मानित व्यक्तित्व बेलाल मोहम्मदलाई विशिष्ट अतिथिको आसन ग्रहण गर्न अनुरोध गरे । त्यसपछि मलाई र हाम्रो संस्थाका महासचिव पवन आलोकलाई निम्त्याए । हाम्रो टोलीका अन्य छ जना सदस्यहरूलाई दर्शकदीर्घामा पहिलो पङ्क्तिमा आदरपूर्वक आसन गराए ।

कार्यक्रमका प्रमुख अतिथि बाङ्लादेशका न्याय कानुन तथा संसदीय व्यवस्था राज्यमन्त्री मोहम्मद कमरूल इस्लाम र एक जना विशिष्ट अतिथि मानिकगञ्जका संसद सदस्य एबीएम आनोयारूल हक आइ पुगेका थिएनन् । भोलिपल्ट २१ फेब्रुअरीमा राष्ट्रिय मातृभाषा दिवसलाई राष्ट्रिय पर्वका रूपमा धुमधामले मनाउने तयारी कार्यमा लाग्नु परेकाले केही ढिलाइ हुन जाने हुँदा कार्यक्रम सुरू गर्दै गर्न उनीहरूले आयोजकलाई अनुरोध गरेछन् ।

हाम्रो टोलीका सदस्यहरूको परिचय दिने मेरो पालो आयो । हामी आठै जनाको नाम मञ्चमा टाँगिएको फ्लेक्समा थियो । त्यसैको क्रमानुसार मैले उषा भट्टराई गोकुल अधिकारी र राधिका गुरागाईं कवि हुनुहुन्छ, राममणि पोखरेल कथाकार गोर्खे साहिँला गजलकार र राजेन्द्र गुरागाईं बाङ्ला भाषाका ज्ञाता र कवि हुनुहुन्छ भन्दै परिचय दिएँ ।

मैले परिचय दिहरहँदा प्रमुख अतिथि मन्त्री र विशिष्ट अतिथि संसद सदस्य पनि आइपुगे । मञ्चमा मसँगै बस्न आइपुगेका मन्त्रीसँग मैले संक्षिप्त भलाकुसारी गरेँ ।

नेपाल स्रष्टा समाजलाई दिइएको ठूलो महत्व देख्ता यस संस्थाका बारेमा जान्न श्रोताहरू अत्यन्त उत्सुक बनेको मैले प्रष्टै अनुभव गरेँ । निर्धारित कार्यक्रम अनुसार महासचिव पवन आलोकले संस्था र यसका कार्यक्रमहरू बारेमा छोटकरीमा जानकारी गराउनु भयो । उहाँले यस संस्थाको एउटा प्रमुख उद्देश्य अन्तराष्ट्रिय साहित्यिक सङ्घसंस्थाहरूसँग सम्पर्क विस्तार गर्ने कार्यमा ठूलो सफलता मिलेको कुरामा विशेष प्रकाश पार्नुभयो ।

मन्त्री मोहम्मद कमरूल इस्लामले मञ्चबाट भने, “आ-आफ्ना देशका साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा ओइक्को पब्लिकेशन्स र नेपाल स्रष्टा समाजले थालेको प्रयासको म हार्दिक रूपले सराहना गर्दछु । ” उनले यस कामको निरन्तरताका लागि शुभकामना समेत दिए । संसद सदस्य आनोयारूल हकले हामी दुई देश छिमेकी भएकाले अन्य क्षेत्रमा जस्तै साहित्यको क्षेत्रमा पनि सहकार्य गर्नुपर्ने कुरा उठाए ।

अन्तरक्रियाको क्रममा “नेपाली साहित्य बाङ्ला साहित्यबाट निकै प्रभावित भएको छ । आठ दशक अघि हामी नेपाली साहित्यको आधुनिक युगमा प्रवेश गर्दा बाङ्ला साहित्यबाट प्रत्यक्ष रूपमा प्रभावित भएका थियौँ । ” रबिन्द्रनाथ टैगोर, शरदचन्द्र चट्टोपाध्याय र बङ्िकमचन्द चट्टोपाध्यायका कृतिहरू नेपाली भाषामा अनुवाद भई धेरै पहिला प्रकाशित भएको कुरा मैले जानकारी गराएँ । ‘के एकेइ सभ्यता बोले’ नामको माइकेल मधुसूदन दत्त लिखित नाटकको नेपाली अनुवाद ‘ज्ञानभङ्गतरङ्गिनी’ नामबाट सन् १९०३ मा अर्थात एक सय आठ वर्ष अघि प्रकाशित भएको कुरा मैले भनेको सुन्दा श्रोताहरू छक्क परेका देखेको थिएँ । त्यो किताव बाबु रामकृष्ण वर्माले बनारसबाट प्रकाशित गरेका रहेछन् ।

मैले नेपालका साहित्यिक त्रिमूर्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल र बालकृष्ण समका कृतिहरू अमर रहेका कुरा जानकारी गराएँ । अरू लेखकका पनि उकृष्ट रचना छन् भन्ने कुरा राखेँ । । नेपाली साहित्यलाई अन्य देशका पाठकहरूसमक्ष पुर्‍याउने काममा आफ्नो संस्था लागि पर्ने जानकारी दिएँ ।

त्यसपछिको कार्यक्रम थियो दुइदेशीय कविता वाचनको । हाम्रा तर्फबाट र बाङ्लादेशका तर्फबाट एकएक जना गरी कविहरूलाई पालैपालो मञ्चमा बोलाइयो । केही नेपाली कविहरूले आफ्ना कविता वाचन गरिसकेपछि कवि पवन आलोकले अंग्रेजीमा अनुवाद गरेर सुनाइदिनु भयो । उहाँले आफ्नो कविता पनि नेपालीमा र अंग्रेजी अनुवाद गरी सुनाउनु भयो । कवि राधिका गुरागाईको एउटा कविता पहिला नै बाङ्लामा अनुवाद भई बाङलादेशबाटै प्रकाशित भइसकेको हुँदा उहाँको त्यो बाङ्ला भाषाको कविता त्यहीँका एकजना स्रष्टाले अत्यन्त्तै सजीव ढङ्गबाट वाचन गर्दा दर्शकहरू मन्त्रमुग्ध भएका थिए । गोकुल अधिकारीको एउटा कविता पनि अर्का एकजना स्थानीय कविले बाङ्लामा सुनाइदिए । राजेन्द्र गुरागाईले आफ्ना दुइटा बाङ्ला कविता पाठ गर्नु भएको थियो । म बाहेक सातै जनाले कविता वाचन गर्नुभयो ।

बाङ्लादेशी कविहरू के एम जहाँगीर आलम, एम आर मञ्जु, मसीर अहमद, मोस्ताक विल्ला, रोशन आरा, बदरूल इस्लाम, प्राध्यापक दिलारा हफीज सहित वरिष्ठ कवि बेलाल मोहमदले कविता वाचन गरे । बेलाल मोहम्मद र प्राध्यापक माहफुजा खानमले आफ्ना मन्तव्यका क्रममा नेपाली साहित्यप्रति अत्यन्त सम्मान प्रकट गरे । कार्यक्रमको अन्त्यमा बाङ्लादेशी कलाकारहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । यसरी अत्यन्त्तै रमणीय बातावरणमा झण्डै साढे तीन घन्टासम्म ढाकाको निमताली भन्ने स्थानमा चलेको त्यस साँझको कार्यक्रम नेपाल-बाङ्लादेश वीचको साहित्यिक सम्बन्ध विस्तारमा एउटा अत्यन्त महत्वपूर्ण घटना भएको कुरा हामी दुबै तर्फकाले महसुस गर्‍यौँ ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *