Skip to content


थाहा छैन मैले समाजको नजरमा सही गरें वा गलत । तर आफ्नै नजरमा भने शतप्रतिशत सही छु । यसलाई पचाउने हिम्मत सायदै कसै कसैमा होला नत्र अलच्छिना, बेश्या, दुष्ट लगायत यावत सम्बोधनले मलाई रोप्ने शब्दहरूको भण्डार नै छन् यहाँ । तै पनि मनले भन्छ जे गरें ठिकै गरें ।

भनिन्छ नि दिल र दिमागको द्द्वन्दमा सैदब दिलको आवाज सुन्नुपर्छ । त्यसैले मैले पनि मेरो मनको आवाजलाई बुलन्द पारें अन्तत्वगत्वा मेरो मनको विजय भएको छ । अनि रुढिवादी संस्कार बिरुद्धको क्रान्तिले विजय प्राप्त गरेको छ । मेरो मनको विजय भएकोछ मेरो विजय भएको छ अनि जीवन संघर्षको दौरानमा मैले फड्को मारेको छु – यो चाहे अरुले मानोस वा नमानोस । हिड्ने गोरेटोहरूको तीखा काडाँहरू छिमल्दै यहाँसम्म सुरक्षित आईपुगेको छु । यसैमा म खुसी छु । अनन्त खुसीलाई समेटन सकेको छु ।

हुन त पहिले यसमा मलाई कसैको सहयोग पाइन । तर अन्तत मलाई मेरो परिवारले सहयोग गरेकै हुन् । परिवारकै सहमतिमा मैले यति ठुलो कदम उठाएकी हुँ नत्र यो समाजको लागि चानचुने कुरा भने पक्कै थिएन । यो संस्कार बिरुद्ध बिद्रोहको कदम बढाएकी हुँ । साँच्चै भन्नुपर्दा म आफैँलाई त्यो भ्रमबाट निस्कन यतिका समय लाग्यो ।

समाजमा प्रतिष्ठित वकिलको एक्ली छोरी, धन्याढ सम्भ्रान्त परिवार म आफैँलाई धेरै समय लाग्यो । त्यसमाथि मास्टर्स सम्मको अध्ययन अनि अधिकृतसँगको विवाह । यी यस्ता जडतत्व थिए जसले मलाई हल्लिन पनि दिदैन थियो आफ्नो नितान्त व्यक्तिगत जीवनलाई । न चाहेको कुरा गर्न पाईन्थ्यो न स्वतन्त्र भैइ डुल्न । पिंजडामा थुनिएको चरी झै थियो मेरो जीवन जति नै मिष्ठान भोजन दिएपनि आखिर कैद त भएकै थिए नि ।

स्वतन्त्र चरी भएर उड्ने मेरा सारा रहरहरू त्यति बेला मर्‍यो जति बेला मलाई विवाह गर्ने मेरो लोग्नेले मप्रति अविश्वासी व्यवहारहरू देखाउन थाल्यो । सरकारी जागिरे त्यसमाथि अधिकृत लोग्नेले मलाई विवाह भएको जम्मा ५ दिन मात्रै घरमा राखेर काठामाण्डौं हुईक्याएर ल्याएका थिए । उकुस मुकुस वातावरणमा म लोग्नेको उन्मुक्त हाँसो र साथ चाहन्थे । तर सोचेभन्दा बिल्कुलै बिपरित व्यवहारहरू देखें अनि भोगे जुन एउटा शिक्षित एवं सम्भ्रान्त परिवारमा बिरलै मात्रै सुन्न पाईन्छ ।

खुसी हाँसो र साथको सट्टामा “तिमीलाई मैले मेरो परिवारको इच्छा पूरा गर्न मात्रै विवाह गरेको हुँ,” भन्ने मेरो लोग्ने सरोजको मर्महात बनाउने शब्दहरूले म घायल भएँ ।

म स्वयं कुन धरातलम उभिएकी छु भन्ने नै बिर्सन पुगेकी थिएँ । आफैँलाई कसैको अर्धाङ्गिनीको रुपमा अर्पित गरिसकेकी अवस्थामा यस्तो बिझाउने वचनवाणले म पटक पटक मरेतुल्य हुन्थें ।

“त्यसो भए म हजुरको रोजाईमा परिनछु ?” मेरो प्रश्नको जवाफमा मृदुभाषी उत्तर सुन्न लालयित मेरा कानहरू बन्द हुन्थे जब मैले सोचेभन्दा विल्कुलै फरक किसिमको जवाफ पाउँथें ।

“हेर मैले आमाको वचन राख्न मात्रै तिमीसँग विहे गरेको हुँ र मैले तिमीलाई कहिल्यै पनि आफ्नो पत्नीको दर्जामा राख्न नसक्ने कुरा पनि भन्न चाहन्छु । “तातो झिरले उनीएझै हुन्थ्यो यो मुटु उनको प्रतिउत्तरले ।

“मलाई तिमी मनपरेकी पनि त हैनौ । खासमा तिमीमा म कुनै त्यस्तो आकर्षण पाउँदिन जसले गर्दा म तिमीलाई आफ्नी श्रीमती भन्न सकुँ । त्यसमाथि मैले मन पराएकी अर्कै छ र उसको स्थान अरु कसैले लिन सक्दैन । ”

म सायद त्यस बखत विलिन हुन पुग्थें । गहिरो खाडलमा झरे झै हुन्थ्यो । आफू उभिएको धरातल एकपटक हेर्न मन लाग्थ्यो । अनि जब म उभिएको धरातल एउटा सम्भ्रान्त, शिक्षित एवं धन्याढ परिवारको हो भनेर देख्थें तब मेरा आखाँहरू खुलै रहन्थें ।

“त्यसो हुदोँ हो त पहिले नै भन्नु पर्थ्यो हजुरले । किन भन्नुभएन ? कमसेकम मेरो जीवन त नष्ट हुन्न थियो । ”

मेरा यस्ता कौतुहलताका प्रश्नहरूको उसँग रेडिमेड उत्तर हुन्थ्यो । भन्ने गर्‍थ्यो, “हामीहरूको जात नमिल्ने हुनाले मैले घरमा भन्न सकिन । फेरि घरमा पनि आफ्नै जातको बुहारी चाहिएको थियो । समाजको अगाडि धाक जमाउन र देखावटीको लागि भएपनि मैले तिमीसँग विहे गर्नै पर्‍थ्यो । “उफ्! म उनको यस्तो निच विचारसहितको अभिव्यक्तिबाट जल्थें ।

मलाई विश्वास गर्नै गाह्रो हुन्थ्यो कि मलाई कसैको ईज्जत ढाक्नको लागि मान प्रतिष्ठा कायम राख्नको लागि बलिको बोको बनाईएको थियो । म केवल उनीहरूको सजावटको साधन बन्न पुगेकी थिएँ । कुलिन घरानाको छोरीलाई भित्र्याउँदा उनीहरूको शिर समाजमा उचोँ हुने कुरामा विश्वस्त थिए । कसैको घरको ईज्जत बचाउन मेरो भावनासँग खेलिदैँ थियो । म सिर्फ मेरो लोग्ने भनाउँदोको षड्यन्त्रको शिकार भएकी थिएँ । मलाई घरपरिवारको अगाडि देखाउने दाँत बनाई अर्कैस्ंग रामरमाईलो गर्ने उनको त्यो निच सोचाईले मेरो जीवन बर्बाद पारेको थियो । घरमा मलाई मात्र पुतलीझै स्योकेशमा राखिएको थियो ।

हिंसा, भेदभाव, यस्ता कुराहरू गरिब, अशिक्षित परिवारमा मात्रै हुन्छ भन्ने मान्यतालाई धुजा धुजा पार्न म विवश हुन पुगें ।

किनकि मसँग त्यस्ता व्यवहारहरू मेरो परिवारले गर्दथ्यो जुन मैले, मेरो परिवार एवं समाजका कुनै पनि सम्पन्न र शिक्षित वर्गले सायदै सोच्थे ।

“तिमीले चुरा पोते पनि लगाउनु पर्दैन । यहाँ कसैले नि थाहा नपाओस कि तिमी मेरो श्रीमती हो भन्ने कुरा थाहा नपाओस । ” मेरो पति भनाउँदोको मुखबाट यस्ता मर्माहात र घायल बनाउने चोटिला शब्दहरूले मलाई तहसनहस पार्थ्यो ।

“यो मेरो कर्तव्य र अधिकार दुबै हो । ”

यति मात्र् भन्न सक्थे म । किनकि म उनलाई सम्मान गर्थे साथसाथै नेपाली रुढिबादी संस्कारबाट म खुद जकडिएकी थिएँ । अझ भनौ म त्यो सबै मान्न बाध्य थिएँ । पढेलेखेकी नारी भएपनि जति नै सक्षम भएपनि पुरुषको अगाडि निरिह नै बनेर रहनुपर्ने कस्तो बिडम्बना ? म त्यो बन्द कोठा भित्र रहदाँ बस्दा आजित भैसकेकी थिएँ । म बाहिर कतै काम गर्न चाहन्थे तर खै किन मलाई अनुमति दिइएन बाहिर जानलाई ।

मेरा हर ईच्छाहरूलाई मुना झै निमोठियो । मेरो आस्थाको मन्दिरमाथि लात हानियो । बाहिर निस्कन समेत बन्देज । कस्तो निरकुंशता?

वल्लो कोठा पल्लो कोठामा हाँसोले निर्बाध रुपमा स्थान लिदाँ मेरोमा चै सधै रोदनको बास हुन्थ्यो । गला सदैव अवरुद हुने । भित्र भित्रै मरेतुल्य भएर पनि बाहिर हाँस्नै पर्ने कस्तो बिडम्बना ?

हरेक दिनको शुरुवात सँगै मेरा आशाहरू जीवित हुन्थे अनि हरेक रातसँगै मर्दथें ।

म कसैको अर्धाङ्गिनी तर पाउको धुलो जतिको पनि मेरो मुल्य थिएन । जतिखेर चाह्यो त्यतिखेर खुट्टाले रौदन सक्थे । कुनै बेलामा त मरिदिउँ जस्तो लाग्ने । फेरि कुनै बेला कसो त्यो कठोर मनमा मप्रति माया नपलाउला भन्दै दिन गन्दै प्रतिक्षारत हुन थालें । तर अहं त्यो दिन कहिले पनि आएन । आयो त केवल त्यो दृश्य हेर्नुपर्ने दिन जुन दिन मेरो आखाँ अगाडि उनले पुर्व प्रेमिकालाई भोग गरेको थियो ।

एउटी नारीको लागि त्यो भन्दा अपमानजनक स्थिति कहिले हुन सक्ला ? मलाई असह्य भयो ।

म भित्र पिडाको आगो दन्कियो जसले मलाई भित्र भित्रै जलाउँदै थियो । बाहिर धुवाँ कतै नजर न आए पनि म भित्र भित्रै खास्दैँ थिएँ । सहनसीमाको चरमबिन्दुमा पुगेपछि मैले प्रतिवाद स्वरुप केही प्रश्न गरें जसको जवाफमा

“तिमी भन्दा अगाडि मेरो जीवनमा उनी आएकी थिइन यसमा कुनै हस्तक्षेप गर्ने प्रयास नगर । चुपचाप बस । “पाएँ ।

अहो! त्यसो भए मको हुँ मेरो स्थान कहाँ छ ? मेरो अस्तित्व छैन ? म यस्तै प्रश्नहरूको जालोमा जकडिन थालेको थिएँ ।

यसबाट निस्कन न मसँग कुनै उत्तर थियो न उपाय । म सामन्ती र निर्दयीपनको घेराभित्र परेकी थिएँ । माइत जादाँ आमासँग भन्न मन लाग्थ्यो । दु:खका पोका बिसाऊँ झै लाग्थ्यो । तर क्षणभरमै म त्रसिद हुन्थें । म यो घटनाको जानकारीबाट उहाँहरूमा पर्न जाने चोट, सामाजिक ईज्ज्जत प्रतिष्ठामा पर्न जाने आँचबाट भयभित हुन्थें ।

मेरा ओठ बन्द हुन्थ्यो ।

घरमा जान्थे चादबाड आउँदा । सासूलाई एकाध कुरा सुनाउन मन् लाग्थ्यो । तर कोहि मेरो कुरामा विश्वास गर्दैन थिए । आफ्नो छोराले त्यस्तो क्रुर व्यबहार देखाउने कुरामा उनीहरूलाई सहजै बिश्वस्त पार्न सकिन ।

त्यसमाथि नातावादले राम्रैसँग जरो गाडेको थियो । उल्टै मलाई आरोप लगाउँथे । पढेलेखेकी घमण्डी केटीको दर्जा पाउँथे । लोग्ने रिझाएर खान नसक्ने पुल्पुलिएकी छोरीको दर्जा दिदैँ श्रीपेच लगाईदिन्थे । मेरो दुखेसो, व्यथा बुझ्ने मलाई सान्त्वना दिने कोहि भएन । म भित्र भित्रै पाक्न थालें । क्षतबिक्षत हुन पुगें । यो आघातले मेरो मानसिक सन्तुलनमा खलबली ल्याईदियो ।

फलत: म एकहोरिन थालें । आफैँ सँग बात मार्न थालें । यसैलाई पागलपनाको संज्ञा दिइयो । । उपचार गर्नु कता हो कता माईतमा खबर पुर्‍याईयो, मलाई लिन बुबा दौडिदै आईपुग्नु भयो ।

ममा रुने कराउने क्षमता पनि लगभग सकिसकेको थियो । म दु;ख पिडा दर्द अरुलाई देखाउन चाहन्नथें जसले उनीहरूलाई पनि दु:ख होस । मैले बुबालाई आफू बुट्वल गएर बस्ने कुरा गरें । बुट्वलमा मेरो मामाघर थियो । मलाई अनुमति दिइयो । मैले आफ्ना सामानहरू सुट्केशमा प्याक गर्दै गर्दा कतै मेरो श्रीमानले “भैगो तिमी नजाऊ” भनिहाल्छ भनेर ठूलो आशा थियो ।

यी शब्दहरू सुन्न म लालायित थिए तर त्यसो भएन । केही परिवर्तन देखिएन । उही कठोर हृदयको ठ्ङ्ग उभिएको राक्षस देखें ।

एक नजर फुत्त फ्याँके फेरि । खुसीले उम्दो देखें त्यो अनुहार । कुटिल मुस्कानसहित मेरो कपडाहरू प्याक गर्न सघाउँदै पो थियो । सबै आशाहरू खरानी भयो । बाँकी रहेको अलिकति आगोको झिल्को पनि झ्वाप्पै निभ्यो । यतिका समयसम्ममा त ढुङ्गा पनि पग्लन्थ्यो होला सायद । तर त्यो ढुङ्गाभन्दा पनि साह्रो अर्कै कुनै धातुबाट बनेको मन थियो क्या रे ! अहँ, कुनै परिवर्तन थिएन । वश म कतिखेर त्याहाँबाट निस्कन्छु भनेर प्रतिक्षारत ती आखाँको भावहरू पढें ।

हाम्रो विवाह भएको ३ वर्ष पुगिसकेको थियो तर न मैले कुनै दिन म कसैको श्रीमती हुँ भन्ने आभास गर्न सकें न मेरो श्रीमान छ भन्ने सत्य नै कबुल गर्न सकें । मेरो आखाँबाट अश्रुको भेल बग्दै थियो तर त्यो निर्दयी मन ठङ्ग्रङ् कुनै भिमकय पहाड झै उभिरहेको थियो । न कुनै सहानुभूति न कुनै माया । म चुपचाप निस्किएँ ।

बुबासँगै बुट्वल पुगें । मेरो मामाको छोरी थिईन् प्रमिला । उनी कलेज जादैंथिईन् । उमेरले म भन्दा २ वर्ष कान्छी थिइन् । कलेजमा उनको धेरै साथीहरू थिए । मलाई एक्लैपनले नगाँजोस भनेर कहिले साथीकोमा लैजान्थी कहिले घरैमा बोलाउँथिइन । उनको साथीहरू पनि उतिक्कै मिजासिला अनि मिलनसार थिए ।

तीमध्ये रोशन अलिक भावुक पाराको थियो । मन्द मुस्कानले हरदम सजित रोशन मेरो जीवन भोगाइबाट जानकार थियो । हामी नजिक हुने क्रममा मैले आफ्नो परिवार माईतीसँग खोल्न नसकेका वेदनाहरू सुनाउन पुगेकी थिएँ ।

उनको मधुर वाणी र मप्रतिको अगाध स्नेहले ममा रोशन प्रति आकर्षण बढ्दै गएको महशुस गर्न थालें । नचाहदाँ नचाहदैँ म ऊप्रति आशक्त हुन पुगेकी थिएँ ।

ऊसँग बिताएकोअ हरक्षण प्यारो लाग्न थाल्यो । म सबै अतित बिर्सन चाहन्थे र भयो पनि त्यस्तै । रोशन पनि मेरो अतित जान्दा जान्दै पनि मेरो नजिक हुन मनपराउथ्यो ।

यसै क्रममा मैले सिविस भन्ने गैरसरकारी संस्थामा जागिर खाएँ । अब म आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएकी थिएँ । म मा एककिसिमको अदभुत् शक्ति प्रसारित थियो । मेरो हरेक कदममा रोशनको साथ रहन्थ्यो ।

म कहिलेकाहीँ रोशनको घरमा पनि जान्थें । घरमा आमा र एउटी बहिनी थिइन् । म विवाहित केटी हुँ यो थाहा पाए मलाई अस्वीकार गरिने अजङ्गको डरले मभित्र बडो बिचित्रले बास गरेको थियो ।

तर मैले सोचे भन्दा विपरित भैइदियो । मध्यमबर्गीय परिवार भए तापनि सोचाई त्यो सम्भ्रान्त परिवारकोभन्दा फराकिलो थियो रोशनको परिवारको । यहाँनेर मैले महसुस गरें धन, सम्पत्ति, ऐश, आरामले मनको सन्तुष्टि किन्न नसक्दो रहेछ ।

रोशनको आमाले दिनुभएको मायाले मलाई गलत्तै गालेको थियो । आमाको न्यानो काख पनि बिर्सन बाध्य तुल्याउने त्यो स्नेहले म लपक्क्कै भिजेको थिएँ । मलाई त्याहाँ जान आउन कहिले रोकतोक भएन । मेरो मानसिक असन्तुल पनि ठिक भैइसकेको थियो त्यो असिम माया प्रेमले । रोशन र म एक अर्कालाई स्वीकार्न आतुर थियौं ।

तर हाम्रो अगाडि ठूलै पहाड थियो । म विवाहित र कसैको अर्धाङ्गिनी थिएँ समाजको र कानुनको नजरमा त्यसैले हामीले केही समय पर्खने निर्णय गर्‍यौ । ममा आत्मविश्वास पलाएको थियो । हिम्मत बढेको थियो । म अब त्यो नारकीय जीवन बिताउन चाहन्नथें । म सिधै झापा गएँ । बुबा आमासँग सबै खुलस्त रुपमा कुरा राखें । एकछित त आमा आत्तिनुभो । बिहे गरिसकेकी छोरीले फेरि अर्कै सम्बन्ध स्थापित गर्नु गाउँसमाजको नजरमा लाजमर्दो हुने र ईज्जत धुलोमा मिसिने डरले बह्यभित हुनुभयो । बुबाको निधारमा पनि चिन्ताक रेखाहरू प्रष्टै देखें ।

मैले सारा वृतान्त सुनाएँ । मानसिक रुपले बिक्षिप्त हुनुको कारण भनें । र अब उपरान्त फेरि त्यो घरमा जानु भनेको मेरो मृत्युलाई बोलाउनु जतिकै हुने कुरा भनें ।

बुबा आमा दुबै शिक्षित हुनुहुन्थ्यो । केही बेर हच्किनुभएतापनि मेरो पीडाबोध गर्नुभयो । मेरो अनुहारमा खुसीका रङ्गहरू छर्न जुनसुकै मूल्य तिर्न पनि तयार हुनुभयो । हामीले अदालतमा गएर डिभोर्सको कागजात तयार पार्‍यौं । सूचना अघि पुगिसकेछ, घरमा तहल्का मच्चियो । घमण्डी, अलच्छिना लगायतका संज्ञा दिदै मेरो सात पुस्ताको नाम काटियो ।

डिभोर्स गरिनु उनीहरूको ईज्जतमा धक्का लाग्ने कुरा गरे । म जसरी भए पनि उनीहरूसँग जोडिएकी हुनुपर्ने रे चाहे त्यहाँ मलाई बन्धक नै किन बस्न नपरोस ।

तर हामीले केही परवाह गरेनौं । अडिग रह्र्‍यौ । निरन्तर अदालत अड्डा धायौं अनन्त हाम्रै विजय भयो । म स्वतन्त्र भएँ । मलाई जीवनभर बन्द कोठाभित्र राखेर समाजमा देखावटी ईज्जत प्रतिष्ठा कायम राख्ने मेरो लोग्ने भनाउँदोको सारा षड्यन्त्रले फेल खाएको थियो ।

म पिँजडाबाट मुक्त चरी भएकी थिएँ । मैले यो स्वतन्त्रताको लागि सामन्ती संस्कार बिरुद्धको युद्ध जितेकी थिएँ ।

रोशनसँग दोस्रो विवाह गरें । परिवारकै उपस्थितिमा मेरो दोस्रो पटक कन्यादान भएको थियो ।

भन्नेले जे पनि भन्छन् म त्यसको कुनै परवाह नै गर्दिन ।

अहिले म रोशनसँग आफ्नै छुट्टै स्वतन्त्र जीवन निर्बाधरुपले जीउँदैछु । समाजको आखाँमा अपराध मानिन्छ भने म जुनसुकै सजाय भोग्न तयार छु । मलाई समाजले के भन्लान भन्ने डर छैन मात्र मैले चाहेको जीवन पाएको छु ।

रोशन जस्तो जीवनसाथी पाएकी छु जो मलाई माया गर्छ्, सम्मान गर्छ अनि मेरा विचारहरूसँग सहमत हुन्छ ।

बिना तामाङ
काठमाण्डौं

2 thoughts on “स्वतन्त्रता”

  1. katha hridayasparsi chha
    nepali nari haruko bibashta ani samajka sambhranta, sidhantabadi purush haruko ghinlagdo bastabiktalai kushal dhangale kathama utarnu bhayeko rahe6a dhanyabad….sathai antyama unko nirnayale aafulai niriha thanne nepali nari harulai utprerana milos…

Leave a Reply

Your email address will not be published. Required fields are marked *