पानीमा तैरइिरहेको उनको गोरो शरीरमा आकर्षक रातो बिकिनी । त्यसो त हामी पनि पोखरीमा नै छौँ, आधा शरीर डुबाएर । उनी पोखरीको पेटीमा बस्छिन् र घुँडाभन्दा मुनिको भाग पानीमा डुबाउँछिन् । मलाई पनि त्यसै गर्न मन लाग्छ । तर, गर्दिनँ । उनकै बगलमा पानीमा डुबेर उभिन्छु ।
“तिमी पिउँछौ ?” पिउन लागेको क्यान मतिर तेस्र्याउँछिन् उनी ।
“नाई, मैले कफी मगाएको छु ।”
“तातो पानी र तातै कफी ?”
क्यानलाई डिलमा राखेर उनी पोखरीमै आउँछिन् । तातोपानीको पोखरीमा । उनी हाँसेजस्तो पनि लाग्छ । तर, अनुहारमा देखिँदैन । आँखाका कुनाकुनातिरचाँहि हाँसोका मसिना भावहरू देखिन्छन्, हो कि, होइनजस्तो । अनुभवी कलाकारले बनाएको पोट्रेटमा देखिने सौन्दर्य उनको अनुहारमा देखिएको छ । अझ विशेष गरेर आँखामा ।
“थोरङ्लाको चिसो बाँकी नै छ अझै,” म उनको पानीमा डुब्न बाँकी शरीर हेर्दै बोल्छु ।
“म तातो बनाइदिऊँ ?” सिल्भिया हाँसिन् । म पनि हाँस्छु । अलि पर बसेका थाई वृद्ध जोडी पनि हाँस्छन् ।
ठाकुर (बेलवासे) कफी बोकेर आइपुग्छ र म डिलमा बसेर कफी पिउन थाल्छु । उनी बियर तान्दै डिलमा टुक्रुक्क बसेर पिडुँला मिच्न थाल्छिन् । उनको भंगिमाले मेरो मनै बाउँडेजस्तो हुन्छ ।
इजरायलमा मस्तीसँग विद्यार्थी जीवन बिताइरहेकी सिल्भिया एक हूल इजरायली साथीसँग नेपाल घुम्न आएकी । उनीसँग मेरो परिचय बाटोको रुप्से छहरामा भएको । त्यहाँ हामीहरू सामूहिक तस्िबर खिज्दै थियौँ । उनी हाम्रो तूलमा लेखिएका नेपाली अक्षरको आकारले आकर्षण गर्यो भन्दै हाम्रो तूल हेरिरहेकी थिइन् । म भने उनको सुन्दर अनुहार र कानमा लगाएका ठूल्ठूला रङि्मा अल्झिएको थिएँ । संसारकै लामोमध्येको एक रुप्से झरना र उनको कानको ठूलो रिङ् ।
हामी लेखक हौँ भन्ोपछि उनी हामीसँग एकछिन गफिएर अगाडि बढेकी थिइन् । त्यसपछि एकैचोटि म्याग्दीको यही तातोपानीको पोखरीमा हाम्रो भेट भयो । रातमा रातो बिकिनीका साथ ।
“मलाई दिउँसो नै भन्न मन थियो, तिमी साँच्चिकै राम्री छौ,” म बगिरहेको कालीगण्डकी हेर्दै भन्छु ।
“किन ? कसरी ?” उनी अलि नजिकिएजस्तो लाग्यो । तर, होइन रहेछ, उनी जहाँको त्यहीँ थिइन् ।
“तिम्रो आँखामा विशेष चमक छ,” जाडो र अँध्यारोबीच एकनास बगिरहेको छ, कालीगण्डकी । कालीगण्डकीकै बगलमा उभिएका छन् दुई बडेमानका पहाड । एक बडेमान पहाडको काखमा हामी छौँ, सिल्भिया र म । अर्को बडेमानको पहाडको फेदीमा बगिरहेको छ, कालीगण्डकी । जोमसोमदेखि हाम्रै साथमा हिँडिरहेको छ यो पनि । मनाङ नपुगेसम्म लमजुङको बेसीसहरबाट मस्र्याङ्दी हाम्रो साथमा भएजस्तो ।
“तिम्रो आँखामा विशेष चमक छ, मन तान्ने !” म फेरि पनि भन्छु ।
“शरीरमा छैन ?” उनी पानीभित्रैबाट खुल्छिन् ।
“थाहा छैन ।” म जोगिन्छु । यत्तिकैमा सिल्भियाको गाइडले माथि होटलमा नाचगान सुरु भएको खबर दिन्छ । उनी हत्तपत्त पोखरीबाट बाहिर निस्किन्छिन् र भिजिरहेको त्यो रातो बिकिनीमाथि एउटा लामो टिसर्ट भिरेर ‘बाई’ भन्दै होटलतिर उक्लिन्छिन् । कति निर्दयी रहिछिन् । कसरी जान सकेकी अचानक ? त्यसो त जो छोडेर जान सक्छ, उही अगाडि पुग्छ सधैँ । जिन्दगीको यस यात्रामा कतिले छाडेर हिँडे होलान् कतिलाई । खोइ, तिनको लेखाजोखा ? वास्तवमा जिन्दगी भनेकै छोड्नु र हिँड्नु त रहेछ नि ! हिँड्नु… हिँड्नु र हिँडिरहनु । पुग्नु त कहाँ नै छ र ! तैपनि, जिन्दगी हिँडिरहनुपर्ने । सिल्भियाको प्रश्नमाथि मैले तुरुन्त परीक्षण गरेँ, शरीरले पनि उनी कम आकर्षक थिइनन् ।
यसअघि, हामी बिहान जोमसोङको २ हजार ७ सय १३ मिटरको उचाइबाट हिँडेको । र, बास बस्न आइपुगेको म्याग्दीको तातोपानीमा । यहाँको उचाइ भन्नु नै १ हजार १ सय ८९ मिटर मात्रै हो । हामी हिँडेको बिहान के भन्नू ? खाना खाएर निस्किएको । जोमसोममा हाम्रो सम्मानमा प्रमुख जिल्ला अधिकारीले आयोजन गरेको कविगोष्ठी सकेर ।
हिमालपारकिो जिल्ला भनेर चिनिने मुस्ताङमा पानी धेरै पर्दैन । यहाँको पहाड उजाड छ । पठारजस्ता छन् । अचाक्ली चिसो छ । सिरेटो पनि चिसै । जोमसोममा १० बजेपछि उत्तरतिर बेजोडले हावा बग्न सुरु गर्दो रहेछ । यहाँका प्रत्येक रूख-बिरुवाका हाँगाहरू उत्तरतिर मात्र पलाएका छन् र उत्तरतिर मात्र नुहेका छन् । देख्दै अचम्म लाग्ने । दिन छिप्पिँदै गएपछि चल्ने हावामा हिँड्नै सकिँदैन । बाटोभरि भेटिन्छन् स्याउका बारी र भारीहरू । अनि, भेटिन्छन् झुलिरहेका स्याउ र टिप्दै गरेका किशोरी हातहरू ।
जोमसोममा हामीले किनमेल पनि गर्यौँ । किनमेलमा हाम्रो साथमा बाबा पनि थिए । गीतकार दुर्गाबहादुर शाह बाबा । त्यसो त यिनी हाम्रो थोरङ्लाको १० दिने यात्राभरि नै साथै छन् । पोखराका यी लेखक गीतहरू भने राम्रै लेख्छन् । राष्ट्र बैँकका जागिरे उनी इमानदार र सहज छन् । उनले नै हो, भीष्म (उप्रेती)दाइलाई जोमसोम-पोखराको एयर टिकट मिलाइदिएका ।
भीष्मदाइ पोखरा उडेपछि नै हो, जिपमा हामी मार्फातिर ओर्लिएको ।
जिपमै भेटिए जीवन गुरुङ । स्याउका भारीसँग उनी जिपमा चढेका थिए ।
“यत्रो स्याउ किन ?” मैले सोधेथेँ ।
“खैरेलाई ब्रेकफास्ट ख्वाउन ।”
“नेपालीले खाँदैनन् ?”
“खैरे त घटिसके । नेपाली त कति नै पो आउँछन् र ?” स्थानीय पर्यटन व्यवसायी जीवन नयाँ बाटो बनेका कारण पर्यटक घटेकामा दुःखी रहेछन् । भन्छन्, “अन्नपूर्ण फेरोमा सडक पुगेपछि पर्यटकको आकर्षण घटेको छ ।” म्याग्दीको बेनीदेखि जोमसोमसम्म सडकमार्ग पुगेकाले पर्यटकको छनोटमा यो क्षेत्र पर्न छाडेको उनको अनुमान थियो ।
‘”कुनै-कुनै क्षेत्रमा भौतिक विकासले मात्र फाइदा नपुग्दो रहेछ,” अधबैँसे व्यवसायी दुःखी मुद्रामा देखिए, “विकाससँगै पर्यटकका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट सूचीबाट पनि बाहिरएिको छ ।”
अहिले बेनीदेखि जोमसोम, रानीपौवासम्म मोटर सञ्चालन भएकाले यस साइडमा हिँड्नै पर्दैन । सन् १९७७ बाट विदेशीका लागि खुला गरएिको अन्नपूर्ण क्षेत्र परत्रिmमा गर्न पहिले २० दिन लाग्नेमा अहिले घटेर नौ दिनमा सीमित भएको छ ।
“जति नै हिँड्ने मानिस भए पनि सुविधा पाएपछि त्यसको उपयोग गर्न चाहन्छन्,” जीवनले हामीलाई नै भनेझैँ लाग्यो । हुन पनि हो, अहिले हामी जिपमा गुडिरहेको बाटो पहिले हिँडेर पार गर्नुपर्थ्यो । फेरि पदमार्ग छेउछाउ ब्लास्ट गर्ने, मोटरको हर्न र धूवाँका कारण पदयात्रीलाई नकारात्मक असर पर्छ नै । पदयात्रीको मर्कालाई बुझेर अन्नपूर्ण क्षेत्र संरक्षण केन्द्र (एक्याप) र ट्रेकिङ् एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त रूपमा वैकल्पिक पदयात्रा मार्गको पहिचान गर्ने काम सुरु गरेको रहेछ । एक्यापकै एक साथीले बताए अनुसार किर्कुपास हुँदै सिक्लेस पुग्ने बाटो वैकल्पिक मार्गका रूपमा एक्यापले अगाडि सारेको रहेछ । टानले भने माछापुच्छ्रे मोडल ट्रेक नाम दिएर नयाँ मार्ग पहिचान गरेको रहेछ । कालोपानी पुगेपछि आँखाभरि खुल्छ, सूर्यको प्रकाशमा चम्किएका नीलगिरि हिमालका सुन्दर दृश्यहरू । धौलागिरि हिमालको काखमा रहेको कालोपानीमा केहीबेर अल्मलिएर हामी फेरि अगाडि बढ्छौँ ।
हरियाली डाँडाकाँडा । झुन्डझुन्ड कुहिरोको मुस्लो । अनि, धौलागिरि र नीलगिरि हिमालबाट झरेका सेताम्मे खोली । साँघुरएिर बगेको कालीगण्डकी । जोमसोमतिर फिँजारएिर बगेको यो कालीगण्डकी यता साँघुरएिको छ । पानी र मानिसको मन उस्तै हुँदो रहेछ । खाली भयो कि फैलिहाल्ने ।
हामी घासामा ओर्लियौँ । यसभन्दा उता जिप नजाने भएपछि हिँड्ने तयारीमा लाग्यौँ हामी । रुप्से छहरा नपुगुञ्जेल हामी एकनास हिँडिरहन्छौँ । ओरालो कच्ची बाटो । मानिसको जिन्दगीमा सम्बन्धले दिएको दुःखजस्तो ठाउँ-ठाउँमा पहिरोले दुःख दिएको बाटोलाई । हेर्दै टिठ लाग्ने । कालीगण्डकीको तीरैतीर उकालो र घुम्ती पार गर्दै म्याग्दीको रुप्सेसम्म पुगियो । विश्वप्रसिद्ध झरना रुप्से । कहाँ हो कहाँबाट डरलाग्दो गरी तलतिर हाम्फालेको झरना । यसलाई म धीत मरुञ्जेल हेर्छु र फोटो पनि खिच्छु । हो, हामीले फोटो खिचिरहँदा यहीँ भेट भएकी हुन् इजरायली सिल्भिया ।
यही बगलमा पर्दो रहेछ, विश्वप्रसिद्ध खोँच ।”यो विश्वकै सबैभन्दा गहिरो खोँच हो,” रमेशदाइले बताउनुभयो । यस खोँचका बारेमा मैले यसअघि सुनेको थिइनँ । रुप्सेका बारेमा त कति सुनियो कति ! तर, यो खोँच देख्दै पनि डरलाग्दो रहेछ । रुप्सेपछि झरनाको सिलसिला नै सुरु हुन्छ । जताततै झरना । बाटामा भेटिएका यी अनगिन्ती झरना र जिन्दगीमा भेटिने अनेकन मानिसहरू दुवै उस्तैउस्तै लाग्छन्, मलाई । दुवैमा रमाउन सकिन्छ, हेर्न, अनुभव गर्न र सिक्न सकिन्छन् धेरै कुरा । तर, कहाँ राख्न सक्नु सधैँ आफूसँग ?
साँझ बाक्लिँदै गएपछिको यो अँध्यारोमा हामी एकोहोरो हान्निन्छौँ । भोकभन्दा पनि थकाइ लागेको छ, यतिखेर । गोडाहरू उचालिन नै मान्दैनन् । लगातार नौ दिनदेखि हिँडिरहेका छौँ । त्यसो त कहिलेदेखि हिँड्न थालियो ? त्यसको के लेखाजोखा ? जन्म आफैँमा हिँडाइको आरम्भ रहेछ । जन्मदेखि निरन्तर हिँडिरहेको जीवन थाहा छैन कहाँ कहिले गएर रोकिने हो ? मृत्युसँगै रोकिन्छ सायद यो यात्रा ! फेरि मृत्यु नै हिँडाइको समाप्ति हो भन्ने ग्यारेन्टी पनि के छ र ? मृत्युपछि पनि न हिँडिरहनुपर्ने पो हो कि, एक शरीरबाट अर्को शरीरतिर ? मलाई भाउन्न हुन्छ, यो यात्राको सिलसिला केलाउँदा ।
अलि पर केही उज्यालो देखियो । त्यही हुनुपर्छ तातोपानी ! नभन्दै त्यही नै रहेछ तातोपानी । तर, पुग्न अझै आधा घन्टाजति लाग्छ रे ! अँध्यारो भएकाले बत्तिनजिकै देखिएको रहेछ । तीनवटा जति घुम्ती पार गरेपछि हामी बस्ने ठाउँ म्याग्दीको तातोपानी पुग्छौँ रे ! अझै आधा घन्टालाई शरीर तयार पार्नु छ । थाकेको शरीरमा ‘अब त आइहाल्यो नि !’ भनेर म स्फूर्ति भर्ने कोसिस गर्छु । कोसिस खेर जाँदैन । तर, भनेजति स्फुर्ति पनि चढ्दैन शरीरमा । थकाइले लखतरान परेको शरीरमा स्फूर्ति आओस् पनि कहाँबाट ? धन्य यति भए पनि शरीरले साथ दिएको छ ।
थोराङ्लाको उकालो पार गरेको यो शरीर । साततले र नौतले भीरमा नआत्तिएको यो शरीर । हुम्देको पठारजस्तो उदेकलाग्दो ठाउँमा नगलेको यो शरीर । मलाई आफ्नै शरीरलाई स्यालुट गर्न मन लाग्छ, एकचोटि । धन्यवाद भन्न मन लाग्छ ।
यो शरीर नहुँदो हो त, मन मात्रैले के पार गर्न सक्थ्यो थोरङ्ला ?
आफ्नो समग्र शरीरलाई र आफूलाई खुट्टा बजारेर स्यालुट गर्छु । आफ्नो यो शक्तिशाली शरीरलाई । मनको इच्छा र आकांक्षाहरू पूरा गर्ने शरीरलाई ।
बिजुलीका साना गुलुपहरू बलेको सानो बस्ती । खुला पसलैपसल । होटल भनेर लेखिएका स-साना घरहरू । कपडा र खाद्यान्नका पसलहरू । कालीगण्डकीको तीरमा रहेको एउटा सानो बजार रहेछ, तातोपानी । यहाँ पनि ठाकुर र म एउटै कोठामा बस्छौँ । हतार-हतार कपडा फेर्छौं । हातगोडा धुन्छौँ । तातो चिया पिउँछौँ र केहीबेर आराम गर्छौं ।
हामी पनि एउटा सानो टाबेल बोकेर कालीगण्डकीको तीरतिर लाग्छौँ । कालीगण्डकीको तीरमा अवस्थित दुई खुला कुन्ड रहेछन्, तातोपानीका । एउटा सानो काउन्टर रहेछ । जहाँ नेपालीले पाँच रुपियाँ र विदेशीले १ सय ५ रुपियाँ तिर्नुपर्ने रहेछ, तातोपानीमा डुब्नलाई । एउटा सानो लुगा फेर्ने ठाउँ पनि रहेछ । जस्ताले बारेको ।
एउटा रमाइलो कुरा के रहेछ भने तातोपानीको कुन्डमा डुब्नुपूर्व तातोपानीको धारामा नुहाउनुपर्ने रहेछ । साबुन लगाएर मजाले तातोपानीको धारामा नुहाइसकेपछि मात्र तातोपानीको कुन्डमा डुब्न पाइँदो रहेछ । तातोपानीको पोखरीमा डुबेपछि नै हो, मैले रातो बिकिनीमा सिल्भियालाई देखेको ।
उनी के मुस्कुराइन्, झलमल्ल उज्यालियो कालीगण्डकीको अँध्यारो तीर ।
नेपाल साप्ताहिक ४५७
