इष्ट-मित्र, छरछिमेक, बन्धु बान्धव भनेको चाहिन्छ कुन बेला के पर्छ पर्छ भनेर सम्बन्ध बढाउनेहरूको भीडमा अम्बर रिजाल पनि पर्नुहुन्थ्यो होला । हुनेखाने परिवारको मान्छे, पढेलेखेको आठ दसवटा कृति छपाइसकेको मान्छेमा त्यस्तो सोचाइ नहुने कुरै भएन । यदि त्यसो हो भने त्यो व्यर्थ भयो भन्दा हुन्छ यतिखेर ।
अम्बर रिजाल बितेको आज १९ औं दिन । १९ औं दिनसम्म एउटा स्रष्टाको निधनबारे अत्तोपत्तो छैन । “नाम पनि चल्ने, सम्पर्क पनि बढ्ने र आत्मसन्तोष पनि हुने’ भनेर साहित्य क्षेत्रको प्रशंसँ गर्ने अम्बर रिजालको आत्माले यतिखेर सराप्दै होला आफैले प्रशंसँ गरेको क्षेत्रको । अङ्कमाल गरेर हिंड्ने साथीभाइ, नाता जोडेर सम्पर्क बढाउनेहरू, साहित्यिक सर्कलका साथी, परिवारजन, इष्टमित्र, छरछिमेक कसैले पनि उहाँको निधनको खबर गर्नुपर्छ, समाचार बनाउनुपर्छ भन्नेसम्म सोचेनन् सोचे पनि राजनीति र नेतामै बढी केन्दि्रत हुने ठाउँमा साहित्यकारको निधन भएको के समाचार बनाउलान् भनेर मेख मारेको पनि हुनसक्छ । लाजमर्दो कुरो साहित्यमा पढ्न लायक र चर्चा योग्य कृतिहरू प्रकाशमा ल्याएर पनि चर्चा हुन नसक्ने स्रष्टामा दरिने अम्बर रिजालको निधन पनि बेखबर बन्यो ।
आˆनै गुटका र खेमाकालाई मात्र साहित्यकार ठान्ने र अघि सार्नेहरूको भीडमा अम्बर रिजाल छोपिनु भयो । कतिका लागि उहाँ नामै नसुनेको साहित्यकार बनिदिनुभयो, कतिका लागि पार्टीको पछि नलाग्ने काम नलाग्ने साहित्यकार बनिदिनुभयो त कतिका लागि न लेना न देना बनिदिनुभयो । अन्ततः अम्बर रिजाल साँच्चै राम्रो लेख्ने साहित्यकार हुँदाहुँदै पनि नेपाली साहित्यले अन्याय गरेको साहित्यकारमा पर्नुभयो । न प्राज्ञमा दावी, न पुरस्कारमा आँखा, न राजनीतिक नियुक्तिमा मोह, न साहित्य माध्यम बनाएर स्वार्थ सिद्धि गर्ने लालसँ । यस्ता मान्छेले के नाम स्थापित गर्न खोज्नु व्यर्थ ।
व्यङ्ग्य र यात्रा निबन्धमा आफूलाई बढी सफल ठान्ने अम्बर रिजाल बढी मात्रामा व्यङ्ग्यमा सफल ठान्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ- “अब म अरू विधामा हात हाल्दिन, मैले व्यङ्ग्यमै बढी सन्तुष्टि पाएको छु । जुन विधामा कलम चलाए पनि व्यङ्ग्य मिसिन पुगिहाल्छ, मलाई अरूले पनि व्यङ्ग्यमै आˆनो कलम केन्दि्रत गर्नु भन्नुभएको छ । अब छिटै ‘आत्माभिव्यक्ति’ नामक कृति प्रकाशमा ल्याउँछु, त्यसपछि चाहिँ व्यङ्ग्य मात्रै लेख्छु ।” (युवामञ्च, २०६२, चैत) यसपछि उहाँका चारवटा व्यङ्ग्य सङ्ग्रह प्रकाशमा आए । बरू ‘आत्माभिव्यक्ति’ चाहिँ अर्कै प्रकाशित हुनसकेको छैन । यसैबाट प्रष्ट हुन्छ उहाँ व्यङ्ग्यमै बढी रमाउनुहुन्थ्यो ।
सन् १९४३ अगष्ट २९ मा पाँचथरको मेहेलबोटेमा जन्मी स्नातकोत्तर इन्जिनियर उहाँको पहिलो कृतिको रूपमा वि.सं. २०४१ सालमा ‘बुझ्नुभो’ (हास्यव्यङ्ग्य सङ्ग्रह) प्रकाशित भयो । लेखन जीवनमा करिब दुई दशक जागिरे जीवन (नेपाल विद्युत प्राधिकारण) मै व्यस्त रिजालले २०६१ देखि भने कृति प्रकाशनमा सक्रियता देखाउनुभयो । बाँसघारी (२०६१, निबन्ध सङ्ग्रह) रोडम्याप (२०६१, व्यङ्ग्य कविता सङ्ग्रह) यात्रै यात्रा (२०६१ यात्रावर्णन) महासङ्कल्प (२०६२, व्यङ्ग्यसङ्ग्रह), कालीपोके राजनीति (२०६२) नेताका आँखामा (२०६२, कविता सङ्ग्रह), एकदर्जन निबन्ध सङ्ग्रह (२०६३) केही कथा केही व्यङ्ग्य व्यथा (२०६७ कथा, निबन्ध) गरी नौ वटा कृति प्रकाशित भए उहाँका । बालकृष्ण पोखरेल डा. रामकुमार पाँडे, परशु प्रधान, डा. कुमार कोइराला, दधिराज सुवेदी, शैलेन्द्र साकार, आदिजस्ता स्रष्टाबाट प्रशंसित अम्बर रिजाललाई धेरैले राम्ररी चिन्दै चिनेनन् । उत्कृष्ट व्यङ्ग्य लेखेर दरिलो उपस्थिति जनाउने उहाँ सम्पर्क दरिलो नभएर हो वा, पूर्वाग्रहले पीडितहरूको मारमा परेर सधैं छायामै पर्नुभयो । नेपाली साहित्यको दयनीय स्थिति ।
अमेरिका बसाइको क्रममा रोग (पक्षाघात) ले गाँजेपछि नेपाल फर्किनुभएका अम्बर रिजालले शारीरिक अस्वस्थतामा पनि कलम चलाउन छाड्नु भएन, निरन्तर लेखिरहनुभयो । पूर्वाञ्चल साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष, वाणी प्रकाशनमा सदस्य अम्बर रिजालले साहित्यलाई माया गरेर निरन्तर यसैमा लागिरहनुभयो । रोगले गाँज्दै गएपछि राम्ररी हात खुट्टा चल्न छाडे पनि काठमाडौँको भीमसेन गोलामा साहित्यिक भेटघाट, साहित्यिक कार्यक्रम गर्न नछाड्ने अम्बर रिजालले अन्ततः २०६८ सालको साउन ३ गते यो धरती छाड्नुभयो । प्रकाशित अप्रकाशित गरी एक दर्जन कृति रच्ने यस्ता स्रष्टाप्रति हामीले कति कलम चलायौं त ? अब यस्ता प्रश्न अम्बर रिजालले त गर्नुहुन्न तर हाम्रो आत्माले भने साँच्चै भन्नेछ राम्रो लेख्दालेख्दै पनि अम्बर रिजालको मूल्याङ्कन किन गर्न सकेनौं हामीले । केही नभएपनि अखबारका कुनै कुनामा दुईचार लाइन मात्रै भएपनि ‘साहित्यकार अम्बर रिजालको निधन’ भन्नेसम्म त छाप्न सकिन्थ्यो, त्यति पनि सकिएन । त्यसैले त भनेको तपाईं गएको पनि पत्तो नै पाइएन ।
शनिबार, गोरखापत्र
