Skip to content

यौवनको रसले भरिनै लाग्दा
वाध्यताको पूल तर्दै
अरबतिर पाइला सोझ्याउँदै गर्दा
चरी लौरी टेकी राइफैले काका
भन्दै हुनुहुन्थ्यो:- “ओइ भतिज
तँ अरब लागिस?
लु जेल र अरब गाका
छोरा मान्छेहरु
बोका हुन्छन बा !
तँ बिग्रिस…”
म मुसुक्क मुस्कुराउदै
लागे आफ्नो गन्तब्य
पिल पिले ताराको उदयदेखि
पुर्बी लाली किरणको अस्तसम्म
भूमिगत ज्वालामुखीको
राप राप्न
गन्तव्यमा पाइला टेक्दा
अदृश्य शिवरात्रीका धुनी
जगाउदै थियो अदृश्य
पुजारीहरू,
म रातो-तातो गाला पार्दै
बीर, बहादुरको सन्तान
साबित गर्न लडी रहे पीडासँग,
शायद रातो माटोको र कमेरोको गन्धले हो
या त बासनाले हो, लाग्छ मेरो यौवन देखेर
हरेक साँझ उडुसका बथानहरू मेरा ओछ्यान
तताउन आइपुग्छन, र काउकुती लाउदै
चुप्प चुप्प म्वाई खान्छन मेरा अंग-अंगमा
बिहानीको लालीसँगै देख्ने गर्छु बैंसालु बिरालाका
लाम-लस्कार
उफ्! कति छिटै कल्पनाको खोस्टा ओडी
म पनि बिरालाको लाममा ढाडे हुन पुगेछु
टाटे-पाटे, ध्वंसे, लंगडो र पुच्छर बिहिन ठुटे
बिरालाका माझ, लाग्छ मभन्दा बलिया अरु कुनै छैनन्
त्यसैले त धाक धम्की लाउदै हुन्छु म
ङ्याररररर-ङ्यारररर गर्दै राम्री बिरालीको साथमा बसी,
ओ हो!!निधाररुपी आकासबाट नुनिलो र पिरो असिना पसिना
एक झर्को असिना पसिना आँखामा बर्षिँदा
कल्पनाका खोस्टा समुन्द्री छालमा बग्न पुग्छ र
यी मनका बेग मोड्न पुग्छ
त्यहि राइफले काकाको बाणीतिर,
अनि भन्ने गर्छ मनमनै : “काका,
अरबमा बोका होइन बिरालोको ढाडे भएँ,
म बिरालोको ढाडे भएँ ।”

राजेश रुम्बा लामा “अतृप्त”
१२-०८-२०११

1 thought on “म ढाडे बिरालो भएँ”

  1. म ढाडे बिरालो भएँ
    प्रस्तुति राम्रो छ । भावना सशक्त छ । शब्दहरूको प्रयोग पनि मिलाउनुभएको छ । यस्तै स्तरीय रचनाहरू लेख्तै जानुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *