अन्जानमै बस्यो माया
आफैँलाई भुल्ने गरी,
बगर लाग्ने जिन्दगीमा
सुनगाभा भै फुल्ने गरी।
सयौं डाँडापारि उनी
वारि म हुँदा पनि,
थाहा हुन्थ्यो यो मनलाई
हाँस्दा अनि रुँदा पनि ।
हावा चल्दा पात खस्दा
मनमा आँधी चल्ने गर्थ्यो,
ठेस लाग्यो कि कतै भनी
सारै मन जल्ने गर्थ्यो ।
उनको विम्व सामु राखी
बर्बराउदै बोल्ने गर्थेँ,
आँखै सामु छाउथिन् उनी
टोलाएर हेर्ने गर्थेँ ।
सासै फेर्न गारो लाग्थ्यो
उनको यादको हुरी चल्दा,
उनकै खुशी चाहन्थे म
मठ-मन्दिरमा दियो बल्दा ।
बादल आई जुनलाई छेक्दा
मनमा संका लाग्थ्यो,
अन्तै त्यो मन मोड्ला भन्ने
मनमा चिन्ता जाग्थ्यो ।
त्यसै भन्थिन उनीपनि
मलाई मख्ख पार्न,
लट्ठ पारि झुटो प्रेममा
कलेजो यो सेर्ना ।
आखिरीमा फाँसी दियो
मेरो प्रेमलाई दोबाटोमा,
बदला दियो आँशु नै आँशु
निश्चल प्रेमको साटोमा ।
पाउनु गुम्नु दुवै माया
हाँस्नु तिमी फूल बनी,
सम्झिनेछु जीवनभरि
मेरो थियो भुल भनी ।
राजेश रुम्बा लामा “अतृप्त”
१३-०८-२०११
