बर्षा ऋतुको बिदाइ र
सरद ऋतुको आगमनसँगै
थकाईको अनुभूतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झैँ
वैंशालु रहर साट्न
मादलुको घिन्ताङ्गे तालमा रमाउन
मीठामीठा लोक गीत गाउदै
खुला पहाड र कर्मशील बस्तीहरूमा
छमछमी आएकी छौ तीज ।
आँखामा असीम करुणा र प्रेम पालेर
हामी उमङ्गका पारखीहरूको माझ
बिखन्डित नभई
मन्द मुस्कान छर्दै
सुन्दर हत्केलाहरू फैलाएर
हावाको मिठो स्पर्शसँगै
रौनक र चमक लिएर
आएकी छौ तीज ।
मुस्कान पोतिएको ओठ
लालीले रङ्गिएका गाला
गाजलुले पोतिएका
गहिरा नयन
रातो चुरा र रातै गहुनमा
आभुषणहरूबाट बिभुषितभै
निरासाका पुराना स्मृतिहरूलाई
पन्छाउदै उल्लासमय भएर
अगरबत्तीको सुगन्ध भएर
आएकी छौ तीज।
ओइलिदै पलाउदै र पहेलिदै
बिभिन्न प्रलाप सहदै
तमाम दिदी बहिनीको माझ
शरीरको सारा वैंश फुलाउँदै
आएकी छौ तीज।
अदम्य उत्साह बोकेर
यो बिछट्टै रङ्गीन र उर्बर समयमा
थुम्का र बस्तिका फेदीहरूमा
भावनामा छताछुल्ल पोखिदै
चकित र उल्लासित भएर
आँखा नझिम्क्याई नौलो क्षण लिएर
असिनपसिन गर्दै मिर्मिरे बिहानी
आएकी छौ तीज ।
जिन्दगी र समयको दोसाधमा
थकाईको साईनो गास्तै
जीबनका पलहरूमा
खुशीका बेगमय पारामा
निरुत्तर कुइनेटोको ढुङ्गेनी ओरालीमा
मनभरि यौवन फक्राउदै
आएकी छौ तीज ।
तिम्रो यो आगमनलाई
यो नाच्ने गाउँने महोत्सबको शुभकामना ।
उषा गिरी
ब्रसेल्स, बेल्जियम ।
