A poetry by Rajesh Rumba Lama “atript”
एक चिम्टी सिन्दुरले
तिमीलाई कैदी बनाई
तिम्रो जीवनमा मैले
राज गर्न नपाउँदा के भो र?
आखिर मनमन्दिरमा सजाएकोछु
आफू हिड्ने गोरेटोहरुमा
तिम्रो मुहार फुलाएकोछु
हो म देख्छु पाईलैपिच्छे
तिम्रो त्यो सुन्दर आकृतीका थुङ्गाहरु
कतै जादाँ सर्माउँदै बिदाईका हात हल्लाउँदै हुन्छ
थकित भएर फर्किएर आउँदा
बासस्थान न्यानो स्पर्शको निम्ती
मायाका थाली लिई स्वागत गर्दछ
मिठो सुवासको साथमा तिमी
यौवनका उन्मुक्त हाँसो छर्दै
घना कालो केशराशी फिंजाई
म आउने बाटोमा नयन ओच्छ्याएको हुन्छ
म यसैमा आनन्दित छु
र हुन पनि पर्छ
अहंमता र घमण्डको पर्खालले
चारैतिरबाट तिम्रो सुवास छेक्न
तिम्रो मुस्कान रोक्न
म कदापी सक्दिन
न त मुर्खताको खोल ओढी
तिमीलाई चटक्कै चुडाँल्नै सक्छु
हो वास्तविकता मेरो मझेरीमा
तिमीलाई फुलाउन नपाउँदा
आज पनि बाँझै छ
पाखा बारीका सुर्काहरु
मायाका बिजको अभावमा
गन्धे झारहरु हाँस्दैछ
यो कटु यथार्थ हो
सत्यताको चरमता हो
तै पनि यी कुरा मान्न
मेरो मन तयार छैन
किनकी मेरो नयनभरि तिमी छौ
यिनै नयनबाट म विश्व देख्छु
परमात्मा देख्छु
जताततै हरियाली देख्छु
अनि सुन्दर मनोरम
प्राकृतिक छटाँहरु देख्छु
जहाँ न कुनै आभाव छ
न कुनै बिकृती
हो संसार खुसहाल देख्छु
तर…तर फेरि धर्मराउँछु
उफ्फ..यो वास्तबिकता पनि त हैन
वास्तविकता नमान्नु पनि
मुर्खताको मुकुण्डो ओड्दै
आफूलाई पागलको संज्ञा
दिलाउनु मात्रै हो
त्यसैले म बिजको अभावमा
छ्ट्पटिएर रुदैँ गर्दा
तिम्रो नयन अन्तै मोड्नु
मेरो मृत्युपछिमेरा अनाथ आँशुहरुले
तिम्रो आँखाहरुमा बास माग्दा
साउने भेल कुर्नु भन्नु
किनकी मेरो अन्त्य नै
त्यहि अश्रुका भेलले हुनेछ बस ….
……….त्यहि अश्रुका भेलले हुनेछ
>राजेश रुम्बा लामा “अतृप्त”
२४-०८-२०११
