Skip to content

मौसमी माइकालाल

RamBikramThapa-03


उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस वर्षदेखि शासन गरिरहेछ । ऊ कहिल्यै ओरालो झर्दैन । उकालो चढेर माथि पनि पुग्दैन । तर आफ्नो यथास्थान कहिल्यै छाड्दैन ।

पञ्चायतकालीन गाउँफर्के अभियानबाट उसको राजनीति प्रारम्भ भयो । अर्थात् गाउँफर्कले उसलाई गाउँको नेता बनायो । पञ्चायत र राजाको सच्चा पहरेदार भएर पटक-पटक प्रधानपञ्च भयो । कति विकासे चामल खायो । बहुदल र निर्दलको चुनावमा निर्दलीय व्यवस्थालाई जिताउन माथिबाट आएको रकम पनि खायो । अराष्ट्रिय तत्व भन्दै कांग्रेस र कम्युनिष्टका मान्छेहरूलाई झुठा मुद्दा लायो । सुलसुले पारामा सीडिओ कार्यालय धायो । माइकालालले त्यो बेला राजाबाट पदक र तक्मा पनि लायो । यसरी उसले २०४६ सालसम्म राजा र पञ्चायतको गीत गायो ।

२०४६ को बहुदलपछि माइकालाल गुफा पस्यो । अर्थात ६ महिनासम्म मौनव्रत बस्यो । त्यसपछि एकाएक ऊ घगडान कांग्रेस भएर निस्कियो । चारतारे झण्डाको साथमा मच्ची-मच्ची ‘जय नेपाल’ को नारा लगायो । मञ्चहरूमा औँलो ठड्याएर भन्थ्यो –“कम्युनिष्ट अर्थात् एमालेले जितेमा साठी वर्ष पुगेका बुढाबुढीलाई गोली हानेर मार्छ, चेलीबेटी भन्दैन, भारतले नुन पठाउन बन्द गर्छ ।” नेपाली कांग्रेसका तर्फबाट उमेद्वार भएर चुनाव जित्यो र भूपू प्रधानपञ्च अब गाविस अध्यक्ष भयो ।

पाँच वर्षपछिको चुनावमा गाउँमा अर्के हावा चल्यो । पार्टी परिवर्तन गरेर माइकालाल रातारात कांग्रेसबाट एमाले भयो । एमालेका तर्फबाट गा.वि.स. अध्यक्षमा निर्वाचित भयो । कांग्रेसको सत्तोसराप गर्यो । सुराकी गरेर माओवादी कार्यकर्ताको हत्या गरायो । विपक्षीहरूलाई माओवादीको आरोपमा झूठा मुद्दामा फसायो । कतिलाई जेलको चिसो कोठामा पसायो ।

माओवादीको युद्धविराम भयो र देश शान्ति प्रक्रियामा आयो । गाउँको जनलहर अब माओवादीतर्फ ढल्कियो । उसलाई कुनै पश्चाताप र आत्मग्लानि भएन । निर्धक्क माओवादीको पक्षमा वकालत गर्न थाल्यो । अस्तिको कांग्रेस र हिजोको एमाले माइकालाल आज खाँटी माओवादी भयो र टिकट पायो । स्थानीय निर्वाचनमा विजयी भएर गाजस प्रमुख भयो । कोसीमा धेरै पानी बग्यो । हुरीले धेरै रुखहरू ढाल्यो । नयाँ बोतलमा पुरानै रक्सीहरू भरिए । पुराना किताबहरूका गाताहरू मात्र फेरिए । गीतहरू उही, भाकाहरू मात्र फेरिए । मान्छेहरू उही, लुगाहरू मात्र फेरिए । पदाधिकारीहरू उही पदहरू मात्र फेरिए ।

केको समावेशी ? कस्तो क्षेत्रीय, लिङ्गीय, वर्गीय र जातीय ? पञ्चायत कि बहुदल ? लोकतन्त्र कि गणतन्त्र ? विकटगाउँमा त सधैँ उही माइकालाल ।

अर्थात् एउटै नेता–मौसमी माइकालाल !

फाक्टाङ–२, खोटाङ

3 thoughts on “मौसमी माइकालाल”

  1. मौसमी माइकालाल – रामविक्रम थापा
    त्यस्ता माइकालालहरू देशभरि धेरै देखिन्छन्/देखिएका छन् । तर थोरै मात्रै लेखिएका छन् । शब्दमा उतारिदिनुभयो, धन्यवाद छ! रामविक्रम थापा सरको सधैंको जस्तो सलल बग्ने प्रस्तुति पढ्न पाइयो ।

  2. ठिस बुढा

    माइकालालको मादल…
    नमस्ते !
    पढें – मन पराएं !
    धन्यबाद !

    यहां,
    देख्दै आएको, तर बोल्न नसकीएको नेपालीको मनको ब्यथा हजुरको कथाले बोल्यो ।
    मुरी मुरी धन्यबाद !

    कथा पस्कने तरिका मोहनी लाउने खालको छ र सब्द-सब्दले मुटुनै ताकेको छ ।
    हजुरको कलम नरोकियोस ।

    हजुरलाई शुभसमयको कामना ।
    नमस्कार !

  3. We can read The same story on
    We can read The same story on junkiri ko sangit written by khagendra sanghaurala. And the next thing i think it not a lagu katha it could be short story.

Leave a Reply

Your email address will not be published. Required fields are marked *