Skip to content


स्थान टुँडिखेल छिर्ने पश्चिम गेट । ओभर हेड बि्रजको अलिकति उत्तर । एउटा फोहोर फाल्ने कन्टेनर सधैँ हुन्छ नि ! हो, त्यसैको नजिक । पारिपट्टि वीर अस्पताल पनि छ । अब त ठाउँ पत्तो पाउनुभो हैन ?

घटना

एक दिन एक जना मान्छे हिँड्दाहिँड्दै अकस्मात लडयो । के भएर हो ? यो रहस्यमै छ । उसले मुखबाट फिँज काढ्न थाल्यो । दिउँसोको समय, वरिपरि मान्छेको आवत-जावत बाक्लै थियो ।

‘के भो ? के भो ?’- एक जना मान्छे लडेको मान्छेनिर आयो ।

‘मेरो अघिअघि हिँड्दै थियो, के भएर लडयो कुन्नि !’- त्यहाँ अर्को थपियो ।

‘को हो यो मान्छे ? कसरी यस्तो भयो ?’- तेस्रो पनि घटनास्थलमै जोडियो ।

एवंरीतले चटेकेको वरिपरि जम्मा भएजस्तै त्यहाँ भीड जम्मा हुँदै गयो ।

‘त्यहाँ के भएछ हँ ?’ पारिपट्टकिो लेनबाट हिँडिरहेकाहरू पनि थपिए । सबैसँग कौतूहलता थियो, उत्तर कसैसँग थिएन ।

एक जना भद्र लाग्ने मान्छे पनि त्यहीँ पुग्यो । उसको नाम बुद्धिप्रसाद रहेछ । सुरुमा घटनाको सामान्य जानकारी लियो । को ? के ? कसरी ? जस्ता आफ्ना उत्सुकता मेटिएपछि उसले भन्यो,-‘अनि अस्पताल लानु पर्दैन त ?’

भीड एकछिन मौन बन्यो ।

‘को हो ? के हो ? बित्थामा आपत् आइलाग्न सक्छ ।’ एउटाले भन्यो ।

‘पुलिस बोलाआँै, पुलिस’- अर्कोले थप्यो ।

‘उसको मान्छे कोही छैन ?’ तेस्रो बोल्यो । यसरी त्यहाँ निकै समय बितिसकेको थियो ।

उत्कर्ष

यत्तिकैमा एक जना मान्छे भीड पन्छाउँदै सरासर भीडभित्र पस्यो । हातको नाम्लो थपक्क भुइँमा राख्यो । र, कसैसँग केही नबोली बिरामीलाई जुरुक्क काँधमा बोकेर नजिकैको वीर अस्पतालतिर कुदयो । भीड त्यहीँ थियो ।

निष्कर्ष

भीडले लख काटयो- त्यो भरिया उसको आफन्त हुनुपर्छ । तर, त्यो भरिया उसको कोही थिएन । ऊ त मात्र विवेक ।

-बाँसगढी, बर्दिया

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *