भ्यालेन्टाइनको रातो थुङ्गाका ओँठले
मेरो निधारको स्वाभिमान चुमेर
तिमीले मायाको बीउ छरिदिएपछि
मेरा मनका पातहरूमा टेकेर
जीवनमा मायाको भुवैभुवा फुलेको छ
मेरो ओँठका किरणहरू चुमेर तिमीले
मुस्कानमा प्राण हालिदिएपछि
दुई अधरका तरङ्गहरूमा
मनमोहन रङ्गीन इन्द्रधनुष फलेको छ
चुमेर तिमीले मेरा आँखाका भञ्याङहरू
सुन्दर दृष्टिका बेर्नाहरू सारिदिएपछि
मेरा हरेक नजरका हाँगाहाँगामा
पिपिरी पात बजाउँदै प्रेमपालुवा हल्लिरहेको छ
मेरा कानहरू सरगम सप्तकले चुमेर तिमीले
मायालु बोलीको भायोलिन-तार रेटिदिएपछि
मेरो रगतमा लिखित नोटेसनका धुनहरू
सिम्फोनीको भाषामा प्रेमसागर उरालिरहेछन्
मेरा हत्केलाका भाग्यरेखाहरू चुमेर
तिमीले पिरतीको ऊर्जा हालिदिएपछि
मेरो शरीरको हरेक आलो अङ्गप्रत्यङ्गमा
माया नै मायाको बिजुली दगुरिरहेको छ ।
मेरा यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेका छन्
हर मोर्चामा मेरो अजेय तागत भन्नु
मभित्र तिमीले भरेको प्रेमशक्ति रहेछ
यही शक्ति मेरो दाहिने भएपछि
हरेक मोर्चामा हाम्रो प्रेमको
विजयी ध्वजापताका फर्फराइरहेछन् ।
मधुपर्क २०६८ साउन
