घोघामा दानाहरू पस्दै गर्दा
जुंगाका रेखीहरू बस्दै गर्दा
खोस्टाको कोमलतामा खेल्दै
परागकणसँग मितेरी लगाएर
झुक्काउदै लुसुक्क छिर्दछ फुल भएर
दाना बढदा पनि
रहिरहन्छ सुसुप्त भएर
मकैभित्रको घुन
हाम्रा किसान दाई
लागिरहेछन, घोघाहरू स्याहार्न
लालावालाहरूको सपना सिउनु छ उनलाई
भित्ताहरूका प्वाल टाल्नु छ उनलाई
चुहिएको छानो छाउनु छ, उनलाई
दिन रात नभनेर
लागिरहेछन घोघा जोगाउन
कहिले टिन ठटाउँछन
कहिले वुख्याचा ठडाउँछन
कहिले काही त वारुदै पनि पडकाउँछन
तब त डराउछन
ढेढु बाँदरहरू
पट्टु कृष्णकाउ गर्ने सुगाहरू
तर जे ठोके पनि
जे ठड्याय पनि
अभय बनेर, बसीरहन्छ
मकैभित्रको घुन
द्रव्य पसिनाको सिंचनसंगै
जव भित्राउँछन परिश्रमको फल
मन्द मुस्कानमा खुसी साटेर
भुल्दछन थकाईहरू
सपनाहरूलाई आँखा अगाडी खेलाउदै गर्दा
सम्झदैन,
पुराना कथाहरू
पुराना व्यथाहरू
जहाँ
दुस्मन बनेर सदियौँदेखि हुर्किरहेछन
निरन्तर, निरन्तर
मकैभित्रको घुन
घाम र पानी वाट जोगाउदै
जव झुण्डाउछन् वार्दलीमा झुत्तो बनाएर
राख्दछन पोकाहरू भविष्य जनाएर
तब जाग्दछन् घुनहरू
जो यही समयको पर्खाईमा थिए
खाईदिन्छन भित्री दाना
बनाईदिन्छन् नपुंसक
ताकि किसानको सपना मार्न सकियोस
जांगर झार्न सकियोस
हिम्मतलाई टुटाउन सकियोस
आत्मविश्वासलाई फुटाउन सकियोस
घर बालेर तातो खोज्दैछ घुनले
विचरा थाहा पाउछ या बुझ पचाउछ
जब किसानको सपना मर्दछ
कहाँ बाच्दछ र उ आफै पनि
तर पनि
बारम्वार ऋतु झै दोहोरिदै
दुख दिईरहेको छ, सताईरहेको छ
अचम्मकै जन्तु
मकैभित्रको घुन
