(भोजपुरे स्रष्टासम्मान, प्रतिभा पुरस्कारवितरण एवं काङ्माङ नरेशको कविताकृति ‘अनुहारमा लुकाइएका चोटहरू’ लोकार्पण)
विप्लव ढकालले सम्मानित स्रष्टाहरूबारे र पुरस्कृत स्रष्टाबारे उजाले, ”पूर्णप्रकाश नेपाल ‘यात्री’ ले ३ दर्जन जत्ति अनुसन्धमात्मक कृति दिए । नेपाली भाषामा सबभन्दा ठूलो महाकाव्य ‘सिजापतिवाला’ उहाँले नै रचना गरे । परशु प्रधानले आख्यान साहित्यमा २ दर्जन जत्ति कृतिहरू रचना गरी मूर्धन्य स्रष्टा बन्न सके । ७ सालपछि साहित्यलाई उहाँले सशक्त ढङ्गले बढाए । नयाँ धारको लेखनलाई स्थापना गर्न सक्षम परशु प्रधानलाई सम्मानित गरी उक्त संस्था आफै सम्मानित भएको छ । श्रवण मुकारुङ (भोजपुरे स्रष्टाप्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा) जो वर्तमान नेपाली साहित्यमा अति चर्चित, लोकप्रिय हुनु हुन्छ । जसले ‘बिसे नगर्चीको बयान’ लेखी जनआन्दोलनलाई थप उर्जा थपे, । जसबाट कविताको शक्ति प्रदर्शन भएको छ । उहाँले जागिर खानु भएन अर्थात आफ्नो स्वाभिमानलाई झुकाएर आफ्नो प्रमाणपत्र कसैको जुत्तामा राखी बिन्ती गर्नु भएन, व्यापार गर्नु भएन । उहाँजस्तो साहित्यमा केन्द्रित भएको स्रष्टालाई राज्यले हेर्नु पर्छ कि पर्दैन ? उहाँजस्तो व्यक्तित्व राज्यलाई चाहिन्छ कि चाहिँदैन ? यी आजका जल्दोबल्दो सवालहरू हुन् ।”
सम्मानित स्रष्टा पूर्णप्रकाश नेपाल ‘यात्री’ ले आफ्नो भावना बगाए, “मेरो प्रकाशित कृतिहरू ७ दर्जन छन् । विप्लव ढकालले भनेको गलत भयो । मैले घुम्दै लेख्ने क्रममा काश्मिरसम्म पुगेँ । म आफूलाई मानवशास्त्रको छात्र ठान्छु । यसरी स्रष्टाहरूलाई सम्मान गर्ने काम साइकलको चक्कामा दम भर्नु झैँ हो । यस्तो कार्यले पक्कै प्रेरणा मिल्छ ।”
पुरस्कृत स्रष्टा श्रवण मुकारुङले उनलाई लागेको कुरा बके, “यो पुरस्कार कसैले श्रीमतीको नाममा राखेको वा राज्यले कार्यकर्ताको पृष्ठपोषण गर्न राखेको नभै विदेशिएर श्रम गर्दा उब्रेको समयलाई साहित्यिक सिर्जनामा खर्चिने स्रष्टाहरूले अन्य स्रष्टाहरूलाई बचाउन स्थापना गरेको हुनाले यसलाई मैले जनताको पुरस्कार ठानी ग्रहण गरेको हुँ । त्यसैमाथि त्यस्तो व्यक्तित्वको हातबाट यो पुरस्कार थाप्न पाउँदा छुट्टै संवेदना गाँसिएको छ कि हेमराज राई एमालेको केन्द्रीय सदस्य तथा नेता मात्र नभै मेरो काका र मलाई म्याथ र साइन्स पढाउने कुशल गुरु पनि हुनु भएकोले ।

दायाँबाट पूर्व मन्त्री हेमराज राई, श्रवण मुकारुङ, पूर्णप्रकाश नेपाल र कृष्ण जोशी
जनआन्दोलनपछि हाम्रो ढोका बन्द भएको छ । संविधानसभामा समलिङ्गी, लुगा सिउँदै गरेको श्रमजीवीको प्रतिनिधित्व भएको छ तर सिर्जनाको माध्यमबाट मात्र नभै सशरीर आन्दोलनमा लोकतन्त्रको लागि डट्ने स्रष्टाहरूको प्रतिनिधित्व नहुँदा ठूलो अन्याय भएको छ । हालसम्म एकेडेमि गठन हुन सकेको छैन । भागबिलो नमिल्नाले वा हिजोका प्रतिगमनकारीहरूसँगको सहवासमा अल्मलिनाले हो त्यसको गठन कार्यमा ढिलाइ भएको ? मेरा यी गुनासोहरू खोलाको गीतकै हालतमा पुग्ने त होइन भन्ने संशयसहित आफ्नो भनाइ सकेँ ।”
‘अनुहारमा लुकाइएका चोटहरू’ विमोचित कृतिमाथि समीक्षा सुनाउँदै शैलेन्द्र साकार बोले, “मैले कुनै पनि भूमिका (जो अनेक स्रष्टाबाट यस कृतिमा लेखिएका छन् ) लाई पढिनँ । कविता पढेर लागेको कुराहरू मात्र भन्न गइरहेको छु । विदेशमा बस्नेले त्यहाँको बारे नलेखी आफ्नो देशको बारे लेख्ने गरेको पाइएको छ । यस कृतिमा पनि काङ्माङले भोगेको विदेश ब्रुनाइ, बेलायतबारे ठ्याम्मै नलेखी आफ्नो गाउँको बारे, आफूले भोगेको बारे छ्याप्पै हृदय पक्रने शैलीमा लेखेको छ । गाउँ घरको सम्झनाले कवि nostalgic बनी सार्है छरितो शैली, राम्रो शब्द छनोटका साथ लेखिएको यो एउटा राम्रो कृति हो । ‘दिउँसै सूर्य झरेझैँ’ जस्तो नयाँ, रोचक विम्वहरू छन्, यस कृतिमा । त्यही परिवर्तन बोकेर आइपुग्छन् अनाथ गोर्कीहरू, खाते गोर्कीहरू आमाको कोखबाटै, शहर झन् बिरामी सिफिलिस, गोनोरिया, एडसले सिकिस्त बिरामी’ जस्ता उदाहरण छन्, खिरिलो ढङ्गले झम्टिएर भन्ने उहाँको शैली । जुन अति प्रशंसनीय छ ।”
प्रमुखअतिथि हेमराज राईबाट मन्तव्य गयो, “साहित्यिक कार्यक्रमको प्रमुखअतिथि भरसक साहित्यिक व्यक्तित्वले गर्दा राम्रो मान्ने (राजनीतिक व्यक्तित्वले भन्दा) मान्छे म थिएँ । बीसबीस वर्षअघि गीत लेखेको र केही कविता विप्लव ढकालजस्ता मित्रहरूका पहलमा छापिएको भरमा साहित्यकारको फुर्को जोडिँदिदाँ मलाई अप्ठेरो अनुभव भएको छ । नरेशले विद्यार्थीकालदेखिको आफ्नो साहित्यिक रुचिलाई निरन्तरता दिन सक्षम भएकोमा खुसी लाग्यो मलाई । ‘बिसेमिराको कविता (जसले सिङ्गो जनआन्दोलनलाई नेतृत्व गरिरहेको थियो) जस्तो शक्तिशाली कविताको स्रष्टा श्रवण मुकारुङ भोजपुरे प्रतिष्ठान, बेलायतबाट पुरस्कृत भएकोमा गौरवान्वित भएको छु ।” ‘बिसे नगर्ची’को साटो ‘बिसेमिरा’ (जुन एक दन्ते कथाको पात्र हो) भन्न उनले भूल गरे ।
सभाध्यक्ष कृष्ण जोशीबाट सभा तुर्दै कहे, “भोजपुरे स्रष्टाहरूको आवाज, गुनासो केवल खोलाको गीत, चराको गीत वा निराकार बादलको टुक्रा पनि होइन । भोजपुरे स्रष्टाहरूले नयाँ नेपाल लेख्ने सपना साकार गरेरै छाड्ने छन् ।”
बाटो लाग्न आँटेको बेला संगीतकार पारस मुकारुङले सुर्याए, “तपाईँको कविता सुनौ न । हतार छ । एउटा मात्र ।”
“सेक्सी कविता चैँ सुनाउँछु है त । कविताको खाता पल्टाउँदै ‘मुढमुढको कुरा’ चर्को स्वरमा पढ्न लागेँ—
आफ्नै नाक………..
……………………..।
धुपौरो…..कच्याक कच्याक..
कुकुर जोल्टिँदाको आवाज………।”
अलि परको हूलबाट संजोग लाफाले असहमति जनाए, “भएन । त्यस्तो पनि कविता हुन्छ कहीँ ।” सँगै भएकी कवयित्री विमला तुम्खेवा देखी केही सरमले मलाई खुम्चायो । तर म नधकाई उस्तै चर्को आवाजमा त्यो कविता टुङ्गाउनुलाई ओरालो झर्दै थिएँ ।
२०६५, माघ ७, जनवरी, २००९
