Skip to content

कटु यथार्थ

  • by

सपनामा कहाँ हो कहाँ उड्दै थिएँ
कताकता खुसी लाग्दै थियो
विपनामा जस्तै लाग्दै थियो
कल्पनाको विरानो आकाश
आँखाले नभ्याउने धर्तीको विशालता
टाढा सेता नदीकिनाराहरू
हरिया वनजंगलहरू
गुच्मुच्च बस्तीहरू
चाँदीको महल झै टल्किएको हिमाल
नागबेली नदीहरू
सेता फिंज काटिरहेका झरनाहरू
कतै बाली पाकिरहेका फाँटहरू
कतै वस्तु चरिरहेका चौरहरू
आफ्नै धुनमा मस्त चराचुरुङ्गीका बथान
जीवन कता हो कता सुन्दर लाग्दै थियो

क्षणमै शरीरको संतुलन गुमाएर
खस्न पुग्छु म
झल्याँस्स हुन्छु म
मुटु चिसो हुन्छ,भक्कानिन्छ
छाती छेडिएला झै हुन्छ
श्वासप्रश्वास असन्तुलित हुन्छ
अनि आफुलाई कुनै मक्किएको
जिर्ण झुपडीमुनि लम्पसार पाउँछु
आफैलाई विश्वास नलागेर चिमोट्छु
तर कटु यथार्थ किन सपना हुन्थ्यो र
फेरि कटुयथार्थले मलाई घोच्न थाल्छ
जीवनपिडाँलु कोक्याउन थाल्छ
यो त नियतिको उपहार रहेछ
त्यसैले आजकल मलाई
सपनाको सुन्दर भ्रम भन्दा
कुरुप यथार्थ नै प्यारो लाग्छ
तितो सत्य नै आत्मिय लाग्छ
वास्तविकताको धरातलमै टेक्न
अनि रमाउन मनपर्छ ।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *