Skip to content

आकाश खस्‍यो भने के हुन्‍छ?

एउटा सिङगो आकाश छ ।
त्‍यस भित्र हामीले टेकेको संसार छ ।।
म भूगोलको मानचित्र घुमाउदै थिएँ,
कक्षाकोठा मौन थियो ।
एउटा केटो आफ्‍नो आशनबाट जुरुक्‍क उठ्‍यो ।
मतिर उस्‍को चोर औला ठड्‍याउँदै सोध्‍यो-
“गुरु, आकाश खस्‍यो भने के हुन्‍छ ?”

म निशब्‍द भएँ,
त्‍यो प्रश्‍न मेरालागी अप्रत्‍यासित प्रहार थियो –
एकलब्‍यको अचुक वाँड जस्‍तै ।
मैले तत्‍काल बिज्ञानको वकालत गर्दै भनें-
“बाबु, आकाश भनेको शुन्‍य हो, खस्‍दैन । ”

त्‍यो केटो यथार्थ भएर अडिग्‌ रह्‍यो-
“आकाश खस्‍छ, बारंबार खसिरहेकै छ । ”
आतंकबादीको नाउमा लक्‍का जबान छोरो
गुमाएकी आमाले भोगेकीछन्‌ आकाश खस्‍दाको पिडा,
चिध्रा-चिध्रा लुछिएर बलात्‍कृत किशोरीका
मुटुलाई सोध,आकाश खस्‍दाको वेदना र चोट ।
सींदुर मेटीएका र आश्रय हरण भएकाहरुलाई थाहा छ
आकाश खस्‍दाको क्रन्‍दन र शोक।।

सधैं बादलको बुटाले आकर्षीत गर्ने मेरो शन्‍त आकाश,
आज एउटा अजङगको दानब भएर उभियो ।
एउटा सानो केटाको वजन्‍दार प्रश्‍नबाट
म भीत्र नौ नाडी गलाउने ज्‍वारभाट उठ्‍यो ।
मेरोसानो टाउको स्‍वयमं बिश्‍वको मानचित्र भएर
फन्‌फनी मडारीन लाग्‍यो म भित्र !!

ज्‍वालामुखी फुटेको बिशाल आगोको लप्‍कासंगै
हीटलरको ग्‍यांसच्‍याम्‍बरमा उकुशमुकुश
आत्‍माहरु भरिए मेरो दिमाग भित्र ।।
अनि सोमालीयाका जीबित नरकङकालका
आत्‍माहरुको बाढी पस्‍यो मेरो मथिङगल भित्र ।।

ति सबै सबै मृत, अर्ध-मृत र जीबित आत्‍माहरुको
एउटै स्‍वरमा गर्जन थियो-
“हामीले भोगेका छौं , आकाश खस्‍दाको पिडा ।”

ज्‍वालामुखीको बिष्‍फोट संगै मेरो “ब्रेन वाश” भैसकेको थियो
बुझेर वा नबुझेरै पनि कक्षाकोठा मौन थियो ।
तीनै मृतात्‍माका स्‍वरमा स्‍वरमिलाउंदै
मेरो आत्‍माले पनि भन्‍न लाग्‍यो-
हाम्रो पुस्‍ताले त खै के पो गर्ला र बाबु/नानीहो,
तिमीहरुले रोक्‍नुपर्छ अब आकाश खस्‍नलाई।
तिमीहरुको प्रतिबद्धताको खाँचो छ ,
नयाँ संसारको नव-निर्माण थाल्‍नको लागि।
नयाँ संसारको नव-निर्माण थाल्‍नको लागि।।

1 thought on “आकाश खस्‍यो भने के हुन्‍छ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *