Skip to content

थाहा छैन केको खुसीमा हो

  • by


थाहा छैन केको खुसीमा हो
जिन्दगीको मेला सदाबहार लागिरहेछ
मेलाको खुसी सकिएर फर्किदाँको समय
पाउनु र गुमाउनुको हिसाबकिताबहरू
कुनै बहिखातामा लेखाजोखा गरिदैंन

यो भबिष्यको दु:खले
वर्तमानको सुख धमिल्याउन कोही चाहँदैन
मेला चालु छ
मेलाका शोरगुल्लाहरूले
गुञ्जिरहेछ धर्ती आकाश
मेलाको कोलहालले
थिचेका छन् कयैन अव्यक्त स्वरहरू
मेला भर्न आउने र जानेहरूको ताँती
आँखाले नभ्याउने क्षितिजसम्म तन्किएको छ
मेलाको रोमाञ्चक, आश्चर्यता
सुखदु:खको कुनै सीमा छैन
कुनै नापजोख छैन
चैतको सुख्खा बतासले हल्लाएका पातहरू झै
चलिरहेछ मेलाको चुरीफुरी

थाहा छैन कुन समयको लौरो टेकेर
मेला भर्न आईपुगेछु म
मेलाको ठेलमठेल
छक्का पञ्जाबाट अन्जान
लाटोबुङ्गो तमासे भैइ हेरिरहेछु
थरीथरीका अनुहार
थरीथरीका भनाई र गराईहरू
हेर्दाहेर्दै तमासा अब त
थाकिसकेजस्तो लाग्छ मेरा आँखाहरू

मेरो क्षितिजमा घाम अस्ताउनै लागेछ
शायद अब घर फर्किने बेला भएछ
फर्कनु त अवश्य नै छ तर
मेलाको रङ्ग मनमा बसिसकेछ
शब्दको डोरी बाटेर
कबिताको पिङ् मच्चाएको क्षण
बिर्सने कसरी होला?
हजारौं भाखा र भावहरू
घृणा, माया, डर, उत्तेजनाका अभिव्यक्तिहरू
मेलाको परिभाषा बनेका छन्
अझै म देख्छु लाखौं, करोडौंको ताँती
मेला भर्न उत्सुक र उत्साहित हुदैँ
हाम्फाल्दै, कुदेका आकृतिहरू

यिनीहरूले मेलामा गैइ कस्ता कस्ता
दृश्यहरू देखाउलान्
कस्ता यथार्तहरू सृजना गर्लान्
आफ्नो त फर्कने बेला भएको पक्कै हो
मात्र मेलाको मोह बाँकी छ
अब घाम डुब्नसाथ
मेरो प्रस्थान अवश्यम्भावी छ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *