Skip to content


कसैले देखोस् नदेखोस् कैयौँ साहित्य साधकहरू आ-आफ्नै हिसाबले सिर्जनारत हुन्छन् । सिर्जनाका फूलहरू फुलाइरहेका हुन्छन् । यस्तै क्रममा पहाडको एकान्त कन्दराका एक तपस्वी कवि हुन्- तीर्थराज अधिकारी, जसले कैयौँ सिर्जनाका फूलहरू फुलाए । यिनले फुलाएका फूलको सुवास यद्यपि राजधानी नछिरेको भए पनि त्यसले कन्दरालाई सुवासित गराइरहेको पाइन्छ ।

तीर्थराज लमजुङकै जेठो आधार स्कुल लमजुङ (२००५) का साहिँला गुरु हुन् । पहिलो संस्थापक प्रधानाध्यापक राष्ट्रकवि माधव घिमिरे, माहिला गुरु टीकाराम घिमिरे र कान्छा गुरु रामनाथ खनाल हुन् । यी सबै त्यतिबेलाका गुरुहरू कवि हुन् । त्यतिबेला लमजुङ गाउँ सहरको दरबार स्कुल अर्थात् आधार स्कुल कवि कुञ्जमा परिणत भएको देखिन्छ । यी कविहरू लमजुङ चुली हेर्दथे भने विद्यार्थी अभिभावक तथा सर्वसाधारण दङ्ग परेर यिनै साहित्यिक चुली हेर्दथे र रम्दथे । माधव घिमिरे दुई-चार वर्षमै राजधानी फर्के । टीकाराम र तीर्थराज लामो समयसम्म गाउँ सहर लमजुङमै रहे । ठट्टयौला स्वभावका टीकाराम र तीर्थराजबीच कवितामा ठट्टयौल्याइँ अर्थात् दोहोरी चलिरहन्थ्यो । केही समय यस पङ्क्तिकारसमेतले अध्यापनको सिलसिलामा गाउँ सहरमा सान्निध्य पाएकाले त्यसको रमाइलो अनुभूति कलम चलाउँदा पनि अहिले भइरहेको बोध हुन्छ ।

चितवनमा बस्ती विकास हुन थालेपछि पहाडबाट बसाइँ सर्नेहरूको लर्को चल्न थाल्यो । यो कुरा चालीस वर्षअघिको कुरा हो । कवि तीर्थराजले कविता लेखे ः

छोडी चिसो पानी,
जान्छु म त चितौन,
जिन्दगानी बिताउन

प्रत्युत्तरमा टीकारामले लेखे ः

छोडी ठूलो फाँट,
बस्छु म त यसैमा,
जन्मभूमि देशैमा

यस किसिमको गीत, कवितामा दोहोरी खेलिरहे यिनीहरूले र लमजुङलाई अपूर्व काव्यभूमि बनाए । अझै पनि यी पखेरामा ठोक्किँदै, छचल्किँदै मस्र्याङ्दीको जल प्रवाहित हुँदा यस्ता गीत, कविता झङ्कृत भई कानमा गुन्जिएको पाइन्छ ।

नारी शिक्षा जागरणमा तीर्थराज र टीकारामले विशेष जोड दिएको देखिन्छ । ५० वर्ष पहिले नै यिनीहरूले समाजमा नारी शिक्षाको आवश्यकता औँल्याएर कवितासमेत लेखेका थिए । नारीलाई सम्बोधन गरी अभिप्रेरितसमेत गरिएको कवि तीर्थराजको कविताको एक टुक्रा ः

हे दिदीबहिनी नभन अब गहना दिएनन्
आँखामा आँसु लिएर मन पढाइ दिएनन्

विद्यार्थीलाई माध्यमिक तहमा नेपाली र भूगोल पढाउने साहिँला गुरुले भूगोल पढाउँदा पढाउँदै भूगोल सूत्र बनाए । पद्यमा कोमल पदावलीको संयोजन गरी रचिएको ‘भूगोल सूत्र’ २०१६ सालमा प्रकाशनमा आएको हो । भूगोलजस्तो रसहीन विषयलाई भाका हालेर गाउन, पढ्न र सम्पादनका लागि विद्यार्थी तथा सर्वसाधारणलाई सरल र रोचक तुल्याइदिए । भूगोल सूत्रको एक सूत्र यस्तो रहेको पाइन्छ ः

इटाली देशको रोम सात पहाडको सहर
बम्बै भारतको ढोका रोमनै अमर सहर

यस किसिमका रसिला कविता दिने काव्य नायक तीर्थराज अधिकारीको जन्म विसं १९८२ साल मार्ग ३ गते लमजुङको दुराडाँडा चारघरेको थुम्कोमा भएको हो । त्यसैले उनी दुराडाँडामा थुम्काघर पण्डित बा भनेर चिनिन्छन् भने लमजुङमा साहिँला गुरु एवम् विशिष्ट कविका रूपमा पनि चिनिन्छन् । एकदेव अधिकारी र देवकादेवी अधिकारीका ११ सन्तानमध्ये यिनी जेठा सन्तान हुन् । सानैमा मावलीघर रतनपुर, तनहुँका हजुरबा पन्थी कृष्ण पण्डितबाट प्रारम्भिक शिक्षा लिएर घर फर्केका यिनले पं. टीकाराम पौडेल गुरुबाट बर्बोट, दुराडाँडामा पनि शिक्षा लिए । पछि रानीपोखरी संस्कृत पाठशाला हुँदै सम्पूर्ण मध्यमा गरे । आधार शिक्षाको आधार तालिम (सीटी) लिएर बीएसम्मको योग्यता बनाएका यिनले झन्डै आधा शताब्दी कुशल गुरु भएर अध्यापन कार्यमा व्यतित गरे । शान्त, कर्तव्यनिष्ठ, कर्मशील, गुणशील, सदाचारी गुरुको छाप धेरै लमजुङेहरूमा छापिएको पाइन्छ । सुन्दर हस्तलिपि, चित्रकारी क्षमतासमेत भएका कवि एवम् गायक साहिँला गुरुको बहुआयामिक व्यक्तित्व अनुकरणीय रहेको पाइन्छ । जीवनमा झन्डै ९० वसन्तको बहार देख्न लागेका कवि लगभग एक दर्जन जति कृतिहरू प्रकाशमा आइसकेका छन् । ती हुन्- भूगोल सूत्र (२०१६), आफ्नै बाँसुरीको धुन, कवितासङ्ग्रह (२०५२) निर्वाचन कवितासङ्ग्रह, सत्यकथा भावानुवाद, नीतिशतकम्, छायानुवाद (२०५७), तीन तारा एक आकारा (खण्डकाव्य) २०५७, पालोपैँचो, नाटक पूर्णाङ्की (२०६०), गीतमाला (२०६०), भागवत् सार, गद्यानुवाद (२०६२), उपासना कवितात्मक (२०६७) । यस अलावा यिनका फुटकर कविताहरू लमजुङका प्राकृतिक खोपा-खोपामा, चौतारी-चौतारीमा कपिएका छन् र विभिन्न पत्रिकामा प्रकाशितसमेत भएका देखिन्छन् ।

खासगरी अनुवादित कविता र गीत कविताका क्षेत्रमा यिनले विशिष्टता हासिल गरेको देखिन्छ । आफ्नै बाँसुरीको धुन, गीतमाला र उपासना कविका उत्कृष्ट काव्यकृति हुन् । मानवीय स्थलको जगेर्ना, विश्वमैत्री, देशभक्ति तथा प्रकृतिप्रतिको सौहादर््रता यिनका कवितामा भेटिन्छ । भावको यस किसिमको गहिराइमा छन्द, अलङ्कार, पदविन्यासजस्ता कविताका घटकहरू मिलाई भरिला, रसिला एवम् गुनिला कविता दिनु नै कविको काव्यिक विशेषता देखिन्छ । प्रकृतिको अनौठो कृतिमा रङ्मङएिर रमाउने कवि जीवनको उत्तरार्द्धमा भने शान्त समाहित भएर कवितामा प्रवाहित भएको पाइन्छ । नेपालको द्वन्द्वात्मक अवस्थाका दसैँको चित्र कवितामा यसरी कविले उतारेका छन् ः

कुनै मान्छे व्यर्थै अद्यम नर हत्यातिर झुके
मरे वा भागे वा वनतिर पसे वा किन लुके
दसैँ आयो आए शरद ऋतुका पुष्पलहरी
खुसीले आएनन् सब मनुजका पालक हरि । (उपासनाबाट)

नेपाली साहित्यको ढुकुटीमा यस किसिमका कविताका नुन ढिकी भर्दै गुन लगाउने कवि हाल भने लमजुङ छाडेर काठमाडौँको धापासी अलका बस्तीमा बुढयौली जीवन व्यतित गर्दै गरेको पाइन्छ । राष्ट्रकवि घिमिरेका दौँतरी भए पनि यिनी ६ वर्ष कान्छा हुन् । आखिर जहाँ फुले पनि फूल हो, सुवास हो तापनि लालीगुराँसझैँ बुकीफूलले के महत्त्व पाउँदोरहेछ र । लालीगुराँस फूलको वृक्ष त बुकीफूल भुइँझार तर पनि लालीगुराँस शिरमा सजिन्छ भने बुकीफूल पनि चोली र भोटोको तुनामा बाँधिन्छ । बुकीफूलको सुवासले अब राजधानीको तीन सहर पनि सुवासित हुन सक्यो भने एकान्तका तपस्वी साधक कवि तीर्थराज अधिकारीजस्ता छिपेका कवि लेखकहरू पनि प्रकाशित हुने कुनै दिन आउँला । सम्बन्धित व्यक्ति संस्था र राज्यको ध्यान जान सकोस् तीर्थराजजस्ता काव्य तीर्थराजहरू प्रकाशित हुन सकून्, सम्मानित हुन सकून् ।

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *