यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो-महामण्डल साहित्ययात्रा । नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो । गाउँमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले स्वीकारेको थिएँ । प्रथम गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बिहान थालिएको थियो हाम्रो साहित्ययात्रा ।
गणतन्त्र दिवसका दिन बिहान साढे छ बजेतिर यसो चुच्चो पखालेर म एकजोर फेरफारसहितको सानो झोला बोकी कीर्तिपुरबाट सहरतिर प्रस्थान गरेथेँ । सात बजेतिर अनामनगर पुग्दा नजिकनजिकका कोहीकोही त्यहाँ आइसकेका रहेछन् । त्यहाँ खासै ढिलो नगरी ठूला अक्षरमा महामण्डल साहित्ययात्रा २०६६ र अलि साना अक्षरमा आयोजक नुवाकोट साहित्य प्रतिष्ठान लेखिएको ब्यानरसहितको हाम्रो गाडी अघि बढ्यो । बीचबीचमा केही मान्छे टिप्दै साढे साततिर बालाजु माछापोखरी पुगियो । त्यहाँबाट चढ्ने भनिएका केहीले आउन निकै ढिलो गरे । समयलाई पटक्कै ध्यान नदिने अनि पुग्ने भनेका समयमा मात्र हिँड्ने तरखर गर्ने बानी हामी नेपालीको नैसर्गिक मानवाधिकारजस्तै भएको छ । आफ्ना कारणले अरूलाई दुःख दिनुहुन्न भन्ने सोचाइ हामी परपीडक नेपाली, त्यसमा पनि साहित्यकार, अझ त्यसमा पनि कविहरूमा आउन बाँकी नै छ र तत्काल आउने सम्भावना पनि देखिन्न भन्दै मित्र नरेन्द्रराज पौडेल र म कुरा गरिरह्यौँ वैरागी जेठालाई पर्खँदै । नेपालीले त ढिला गरेगरे, त्यो त सामान्य नै भइसक्यो तर यस पटक एकजना विदेशी मित्र डा. टोयाले त ढिलाइको सीमा नै नाघेर नेपालीलाई नै बिर्साइदिए । उनी त आधा बाटो पर मात्र ट्याक्सी लिएर आइपुगे । नेपाल बसेको धेरै भएकाले उनलाई पनि नेपाली हावाले पूरै छोइसकेको कुरा मैले उनलाई भनेँ । उनको गोरो छाला रातियो । जे भने नि के गर्नु समय भड्किसकेको थियो र्फकनेवाला थिएन, उही यसो मुखको तीतो पोख्नु मात्र त थियो नि !
जेहोस्, यस्तै पर्खाइ-हिँडाइका बीच हाम्रो महामण्डल साहित्ययात्रा अघि बढ्यो । यो महामण्डल भनेको के रहेछ ? महामण्डले नै पो हो कि भन्ने कौतूहलता तपाईंका मनमा पनि पैदा भयो होला । मेरा मनमा चाहिँ भएकै थियो । मण्डल, मण्डले त प्रशस्तै सुनिएको हो तर महामण्डल चाहिँ सुनिएको थिएन । हाम्रा साहित्यिकयात्रीहरूमध्ये धेरजसो परिचितै भए पनि केही अपरिचित अनुहार पनि भएकाले यो यात्रा एकार लागेको यात्रा रहेछ कि भन्ने नलागेको पनि होइन तर गाँठी कुरो अर्कै रहेछ । महामण्डल भन्ने नुवाकोटको सदरमुकाम नजिकको एउटा प्रसिद्ध ठाउँ रहेछ र त्यसकै सेरोफेरोको त्यात्रा भएकाले यसको नाम पनि त्यही राखिएको रहेछ । पहिले एल. डी. ओ. भएर लामै समय नुवाकोट बसेका नरेन्द्रजीको यो भनाइबाट एकारवाला यात्राबारेको भ्रम हटेर ढुक्क भइयो ।
निर्धारित समयभन्दा केही ढिलै गरेर प्रारम्भ भएको हाम्रो यात्रा बालाजु माछापोखरीबाट ओखरपौवा हुँदै रानीपौवामा पुगेर रोकियो । रमाइलो सुललित मौसममा ख्यालठट्टा गर्दै खाजा खाइयो । हाम्रो टोली उति सानो थिएन । दुई कोरीभन्दा केही बढीकै सङ्ख्या भएकाले खाजा खान पनि अलि बढी नै समय लाग्यो । खाजा खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्यो । सबै यात्री आ-आफ्नै धुनमा मस्त थिए । नरेन्द्रजीले प्रत्येक गाउँ र डाँडाकाँडासमेत देखाउँदै-चिनाउँदै गए । अनुभवी साथी साथमा भएकाले मलाई फाइदै भयो ।
टाढाटाढासम्मको प्राकृतिक दृश्यावलोकन गर्दै अति साँघुरो बाटोमा गुड्ने फराकिलो बसबाट हाम्रो यात्रा गन्तव्यतर्फ अघि बढिरहेको थियो । धेरै वर्ष पहिले पावरहाउस निर्माणका क्रममा मित्रराष्ट्र भारतले बनाइदिएको साँघुरो बाटो बिगारेर फराकिलो बनाई मित्रताको अपमान नगर्ने बरु सानैमा चित्त बुझाएर बस्ने हामी नेपालीको बानी नै मान्नुपर्छ । त्यसमा पनि पछिल्लो समयमा त निर्माणमा भन्दा विनिर्माणमै रमाउने हाम्रो जात । सत्ता, भत्ता र लत्ता नै हाम्रो परम ध्येय । राजनीतिकर्मीको त के कुरा गर्नु, ती त यौनकर्मीभन्दा पनि जन्डु… । बाटाको दुर्दशा, पाइलापाइलामा दुर्घटनाको त्राहीमाम । दुईओटा गाडी पार गर्नै मुस्किल । त्यसमाथि हाम्रा चालकहरूको मिचाहावृत्ति । कतिखेर पुगिएला गन्तव्यमा… । यस्तैयस्ता निष्ट-अनिष्ट कल्पना गर्दागर्दै साढे बाह्र बजेतिर त्रिशूली बट्टार पुगियो । टन्टलापुर घामको वास्ता नगरी हाम्रो स्वागतार्थ लामबद्ध जनसमूह र ब्यानरसहितको विद्यार्थी समूह थियो । बसबाट ओर्लनेबित्तिकै हामीलाई पुष्पगुच्छासहित रातो टीका लगाइदिएर भव्य स्वागत गरे ती सबैले । भोकाएर निन्याउरा भएका हाम्रा मुहारमा प्रसन्नता छाउन थाल्यो ।
टन्टलापुर घाममा पुर्पुरो सेक्दै बडा फूर्तीसाथ गणतन्त्रे जुलुसमा सामेल भई नगर परिक्रमा गरियो । जुलुसको समापनसँगै खानपिनको प्रारम्भ भयो । सबैका मुहारमा खुसीका लहर देखियो । भोकलाई शान्त पारिसकेपछि साउने धान लहलहाइरहेको खेतका आलीआली कार्यक्रमस्थल तादी खोलाको बगरतर्फ प्रस्थान गरियो । आयोजकबाट जुत्ताचप्पल फुकाल्ने उर्दी भयो । तुलसीहरि कोइराला र म जुत्ता नफुकाली एकछिनसम्म त बुरुकबुरुक उफ्रँदैउफ्रँदै अघि बढ्यौँ । अलिपर पुगेपछि थाहा भयो, हाम्रो भ्यागुते उफ्राइको कुनै अर्थ रहेनछ भन्ने । त्यहाँ जुत्ता त के प्यान्ट नै फुकाल्नुपर्ने स्थिति रहेछ… । प्यान्टलाई हाफप्यान्ट बनाएर हातमा जुत्ता र पिठिउँमा झोला बोकी हाम्रो लामबद्ध यात्रा बगरतर्फ अघि बढ्यो । मादल बजाउँदै अघि बढेको हाम्रो बगरे यात्रालाई वारिपारिका गाउँलेहरूले के भन्ठाने हुन् थाहा छैन । हाम्रालागि चाहिँ कुलाको गहिराइ थाहा नपाएर बेलाबेला सुलुतिँदै-निथ्रुकिँदै अघि बढेको बगरे यात्रा निकै रोमाञ्चक थियो ।
दुईतिर खोलोको बीचमा खाली बगर । बगरका बीचमा टाँगिएको पाल । पालमुनि कुर्सी । सरर चिसो हावाको बहाव… । हामी बल्ल चार बजेतिर त्यहाँ पुग्यौँ । पानीको गहिराइ थाहा नपाएर हाम्रा थुप्रै साथीहरूले सानातिना माछा मारे नै । त्यसमा सबैभन्दा ठूलो माछा मार्नेमा परे पुष्कर दाइ । उनलाई त हतेर्नु नै पर्यो । धन्न आफू चाहिँ तीखा ढुङ्गा र चिप्लो लेउमा पनि माछा नमारी कार्यक्रमस्थल पुगियो । कार्यक्रम आयोजक संस्था नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठलगायत अरू थुपै्र हाम्रो स्वागतार्थ प्रतीक्षारत थिए । कार्यक्रमलाई औपचारिकतामा रूपान्तरण गरियो । प्रतिष्ठानका सचिव निश्चल अधिकारीले कार्यक्रम सञ्चालन गर्दै आसनग्रहण गराए । विष्णु सापकोटाको स्वागत मन्तव्यपछि स्थानीय संस्कृतिविद् स्व. माधवलाल प्रधानको स्मृतिमा मौन धारण गराई कार्यक्रम प्रारम्भ गरियो ।
उताबाट आएका र यताबाट गएका कविहरूले गच्छेअनुसारका कविता, गजल, मुक्तक, ठोक्तक वाचन गरी बगरलाई साहित्यमय तुल्याइदिए । राधेश्याम लेकाली, रामप्रसाद पन्त, उज्ज्वल जीसी, खिमानन्द पोखरेल, उत्तम थापा, बमबहादुर थापा, नरेन्द्रराज पौडेल, धर्मराज बराल, रामकृष्ण भट्ट, वैरागी जेठा, रमेशजङ्ग सिजापति, थरेन्द्र बराल, कृष्ण प्रसाईं, महेश पौडेल, कृष्ण अविरल, मुक्तिनाथ घिमिरे, भीमसेन पाण्डे, विष्णु सापकोटा, दिव्य गिरि, भीष्म उप्रेती, रामराज पन्त, प्रक्षेपण प्रस्ााईं, तुलसीहरि कोइराला, सन्तोषी अधिकारी, धर्तीचन्द्र यात्री, दीपक सापकोटा, छविरमण सिलवाल, सुरेश हाचेकाली, सुमन सौरभ, टोया, पुष्कर लोहनी आदिले आ-आफ्ना रचना वाचन गरे । रमाइलो वातावरणमा कविता वाचन-श्रवण भयो । त्यहाँ आकाशमा कावा खाँदै गरेका चराचुरुङ्गीको चिरबिर तथा जमिनमा गर्दन फुलाएर बसेका भ्यागुताको ट्वारट्वारसमेत कवितामय भएझैँ लाग्थ्यो अनि लाग्थ्यो खोलाका माछासमेत मन्त्रमुग्ध भएर हलचल नगरी कविता श्रवण गरिरहेझैँ ।
कवितावाचन सकिएपछि कार्यपत्र प्रस्तुत गर्ने काम सुरु भयो । प्रमोद प्रधानले नेपाली यात्रासाहित्यबारे रचना पत्रिकामा प्रकाशित आफ्नै लेखलाई कार्यपत्रका रूपमा प्रस्तुत गरे । कवितामय वातावरण एक्कासि कार्यपत्रमा रूपान्तरित हुँदा वातावरण निकै नीरस हुने नै भयो । कोइलीको सुरिलो कुहूकुहू सुनेर आनन्द लिइरहेका बेला कागको कर्कश धोत्रे आवाज सुन्नुपर्दाको जस्तो हविगत श्रोताको भयो । कावा खाइरहेका चराचुरुङ्गी र पुच्छर हल्लाउन बिर्सेका माछाको त के कुरा, हाम्रा कविजीहरूसमेत कुर्सी खाली गर्दै थिए । प्रमोदजीले पनि पाँच मिनेटमा सिध्याउँछु भन्दै पत्रिकाको लेख धेरजसो पढेर लामै समय खाइदिए । उता श्रोता दीर्घामा बसेका कविहरू निकै परपर प्रकृतिमा रमाउन थालिसकेका थिए । बाख्राको पुच्छर खाएका जस्ता अस्थिर हाम्रा कविहरूमा आफ्नो रचना वाचन गरिसकेपछि अर्काको रचना सुन्ने धैर्य त के, बानी नै छैन । उनीहरू आफ्नो रचना वाचन गरिसकेपछि सारै व्यस्त हुन्छन् र अर्कै वाचनस्थलको खोजीमा हिँडिहाल्छन् । योक्रम राजधानीतिर त सामान्य नै हो तर मोफसलको बगरमा समेत देख्दा अचम्मै लाग्यो । राजधानीबाट गएकाले आफ्नो बानी छोड्ने कुरै भएन । उताका पहिले नै रचना वाचन गरी टाप कसिसकेका थिए । कविजीहरू गोधूलिको दृश्यावलोकन गर्न र भ्यागुते माछा जिस्क्याउनतिर लागे । यसो गर्न बालकविले समेत बाँकी राखेनन् । कृष्ण प्रसाईंको छोरो र तृष्णा कुँवरकी छोरीसमेत माछा मार्न हानिएछन् । यता प्रमोदजी भने दनादन कार्यपत्र सुनाइरहेका थिए । आफू चाहिँ विशिष्ट अतिथिको आसनमा विराजमान भएकाले माछा मार्न हिँड्ने कुरै भएन, कुशल श्रोता भएर आँखा मिच्दै सुन्न बाध्य भइयो । युवराजले प्रमोदजीका कार्यपत्रको टिप्पणी गरिरहँदा राजकुमारचाहिँ चौरमा पल्टिरहेका देखिन्थे ।
यसपछि कार्यपत्र प्रस्तुत गर्ने पालो मेरो आयो । गोधूलिको मनोहर दृश्यका सामु मैले गाउँमुखी साहित्यबारे कार्यपत्र प्रस्तुत गर्नु थियो । म कार्यपत्र प्रस्तुत गर्न उठेर सम्बोधन गर्न थालेपछि यताउति दृश्यावलोकन गरिरहेका हाम्रा कविहरू खासखुस गर्दै फर्किए र कुर्सीको शोभा बढाए । तिनीहरू किन फर्किए थाहा भएन तर जेहोस् फर्किए । म पनि के कम, बोल्ने पेसाकै मान्छे । मेरो कार्यपत्र त सूत्रपत्र छ है धन्दा नमान्नोस् भन्दै कविहरूलाई ढाँटेर म त्यसै कार्यक्रममा वाचित रचनामाथि टिप्पणी गर्नतिर लागेँ, कसैलाई उचाल्दै कसैलाई पछार्दै…। वास्तवमा कार्यक्रम पछार्नभन्दा उचाल्नैलायक थियो र धेरैजसो त्यसै गरियो पनि । कविहरूलाई उचालिसकेपछि बल्ल कार्यपत्र सुरु गरियो । मैले सूत्रपत्र भन्दै सुरु गरेको मौखिक कार्यपत्र गाउँमुखी साहित्यबारे आँखा देखिउन्जेल भाषण ठोकेँ । प्रमोदजी र अरू एकाध पालबाहिर चौरिनुबाहेक अरू सबै कुर्सीमै थिए । मेरो कार्यपत्रमाथि सुरेश हाचेकालीले प्रशंसात्मक टिप्पणी गरे ।
उता खाजा पस्किसकिएको थियो भने यता दिनेशराज पन्त र श्रीराम श्रेष्ठको भाषण सुन्न बाँकी नै थियो । खाजाका साथसाथ भाषण सुन्ने काम पनि सकियो । अनि सुरु भयो खानपिनको कार्यक्रम । खानपिनमा सबै लोकल… । काँक्रा, मुला, कुखुरा मात्र होइन कोदे जुस पनि लोकल । लोकल बगरमा सबथोक लोकल । केही क्षणमा अर्धचन्द्र टाढिएर मौसम अँध्यारिँदै र लोकलले तातिँदै गएपछि सबलाई एकसेएक गीत फुर्न थाल्यो । ओजन अनुसारको भोजन गरिसकेपछि त कविजीहरूको त के कुरा, गाउने र नाच्नेको ओइरो… । वातावरण पूरै गायन र नर्तनमय भयो । त्यहाँ भुसतिघ्रे डा. टोया र सुकुटे डा. खलु नाच्दा वातावरणको रौनकै फेरियो । त्यसपछि एकल र सामूहिक गायन र नर्तनका फोहरा छुटे । नरेन्द्रजीको रेसम फिरिरी हुँदै अनेक टुक्राटाक्री गीतको सर्वस्वहरण अनि माछामाछीको निदहरण भयो । कोदे जुसले लोकल भातलाई भुस बनाइदियो तैपनि मध्यराततिर जसोतसो मुखमा हात जोड्दै सुतियो । सामूहिक सुताइ अनौठै थियो । जितालीको घुराइले बाघ आएको आशङ्कामा केहीबेर त सब त्राहिमाम । उनको घुराइका सामु विचरा बाघको के लाग्थ्यो र ? बाह्र हात परैबाट टाप कस्ने स्थिति भएकाले बाघ भए पनि उसले त्यता र्फकेर हेर्ने साहसै गरेन ।
रिमरिम उज्यालिएपछि चराको चिरिबिरीसँगै उठ्ने क्रम सुरु भयो । सबैजसो साहित्यकारहरू तादीको बगरमा टुक्रुक्क बसी जोखना हेर्दै कविता फुराउन थाले । यसो पञ्चस्नान गर्ने काम खोलातिरै भयो । साढे छ बजेतिर आ-आफ्ना पोकापुन्तुरा च्यापी प्यान्टलाई फेरि कट्टु बनाएर जुत्ता हातमा बोकी बगरका चराचुरुङ्गी र माछाहरूलाई बाइबाइ गर्दै हाम्रो टोली अगाडियो । पानीभित्रका तीखा चिप्ला ढुङ्गा कुल्चँदाको अनुभूति अद्भूतै थियो । अलिअलि रगत पानीमा मिसाउँदै खोल्साखोल्सी पार गरेर उक्कालिएपछि जुत्तामा खुट्टा हुलियो । हामी मोटरबाटोमा पुग्न नपाउँदै ठूलै पानी पर्यो । राति पानी परेको भए बगरमा हाम्रो के हालत हुन्थ्यो भन्दै राति पानी नपरिदिएकोमा ती पानी नपारिदिनेप्रति सबैजना कृतकृत्य देखिन्थे ।
त्रिशूली बजारमा चियापान गरी हाम्रो टोली नुवाकोट दरबारतर्फ प्रस्थान गर्यो । जङ्गलका बीच निकै उकालो र साँघुरो बाटो उक्लिँदै बस नुवाकोट दरबार छेउमा पुगेर रोकियो । हामी सबै जीर्ण दरबार हेर्न त्यतैतर्फ लाग्यौँ । दरबारको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीको सुरक्षास्थल नै अलि ठूलो हावा आउँदा लड्लाजस्तो देखिन्थ्यो । त्यति अग्लो ठाउँमा अवस्थित दरबार हेर्दा तत्कालीन शासकहरूको सुरक्षाप्रतिको सचेतता भने स्पष्टै झल्कन्थ्यो । दरबार अगाडिको ठूलो घन्टा, अलिपरको भैरवी मन्दिर, छेउछाउका पुराना घर सबैजसो हेर्नलायककै थिए ।
ती सबैलाई क्यामेराभित्र हुलिसकेपछि केही बसमा र केही हिँडेरै उकालो लागियो । म चाहिँ हिँड्नेमा थिएँ । मसँग जर्मन डाक्टर टोया र पत्रकार भाइ मधु पाठक थिए । दुवै निकै ज्यानदार भए पनि हिँड्नचाहिँ कम थिएनन्, मसँगसँगै हिँडिरहे । बसमा जानेभन्दा पहिले हामी नै अन्तिम गन्तव्य महामण्डलको डाँडामा पुग्यौँ । त्यहाँबाट हेर्दा उपत्यकाजस्तो लाग्ने त्रिशूली बजार निकै मनोरम देखियो । तन थकित र ज्यान भोकित भइसकेकाले दृश्यावलोकनबाट मनले धेरै आनन्द लिनसक्ने स्थिति थिएन । महामण्डलकै डाँडामा एकजना स्थानीय व्यक्तिले हामीलाई आफ्नै बारीमा लटरम्म फलेका रूखमै लगेर लिची खुवाए । गर्मालु भोकको झ्वाँकमा लिची प्रशस्तै ओइराइयो । ज्यानलाई के गर्ला भन्ने नसोची ओइराएको लिचीबाट प्राप्त आनन्दानुभूति अकल्पनीय थियो ।
लिची खाई फूर्तीसाथ केही क्षणको ओरालो पैदल यात्रापछि हामी बस चढेर बजारतिर झर्यौँ । त्रिशूली पावर हाउस छेउमा रहेको लेकाली होटेलमा राधेश्याम लेकालीलाई जिस्क्याउँदै खाना खाइयो । त्यहाँबाट हिँड्ने बेलामा हाम्रा सहयात्रीमध्ये केहीले लौकालौकी र केहीले करेलाकरेली खरिदेको देख्दा काठमाड्यौली स्थिति र मानसिकता दुवै झल्कन्थ्यो । फेरि भेटौँला भनी मायालु हात हल्लाउँदै स्थानीय व्यक्तिहरूले हामीलाई बिदा गरे । हामीले पनि उनीहरूको मीठो आतिथ्य सम्झँदै निकैबेरसम्म बिदाइका हात हल्लाइरह्यौँ ।
साँघुरो बाटोबाट हाम्रो यात्रा अगाडि बढिरह्यो । बीच बाटोमा ठूलै पानी पर्यो । मोटरसाइकलमा आवतजावत गर्ने उज्ज्वल जीसी र खिमानन्द पोखरेल भिजेर मुसो भए । रानीपौवा नजिक हाम्रा केही साथीहरूले ट्राउट माछा किन्ने सुर कसे । खुब महँगो माछामा प्रचारित ट्राउटबारे जानकारी लिन हामी धेरैजसो ओर्लियौँ । केहीले माछा किने, केहीले फोटो खिचे अनि केहीले चाहिँ तमासा हेरे । एक्कासि पानी दर्किएकाले सब चिल्लबिल्ल भई दौडँदै बसमा छिरियो । एकजना माछा क्रेताले यहाँ त दिनमै लाखौँको माछा बिक्छ होला हगि भन्ने जिज्ञासा राखे । मैले त्यति पटक्कै बिक्दैन किनभने यहाँ सधैँ कवि आउँदैनन् भन्ने जबाफ दिँदा हाँसोको फोहोराले बस त के जङ्गलै थर्कियो ।
रमाइला-रमाइला गफगाफ गर्दागर्दै हामी साढे चार बजेतिर बालाजु माछापोखरी आइपुग्यौँ । जेहोस्, यस पटकको महामण्डल साहित्ययात्रा निकै समयसम्म मस्तिष्कमा ताजै रहनमा पक्का छ । पर्यटकीय दृष्टिले पनि निकै सुन्दर र आकर्षक, अनि खर्च र समयकै हिसाबले पनि खासै धेरै नलाग्ने त्यो ठाउँ एक पटक घुम्नैपर्नेखालको रहेछ ।
मधुपर्क २०६८ असोज
