म अन्ततः कुकुर बन्ने प्रयासमा सफल बनेँ । मैले मनैदेखि आफूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहाँ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूसँग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाएँ । आखिर स्वामीहरूलाई मान्छेको स्वाभिमानी अनुहार होइन, कुकुरको स्वामीभक्त अनुहार बढी प्यारो लाग्छ र मान्छेको इमानदारी नभई कुकुरको बफादारी सर्वश्रेष्ठ लाग्छ भने मान्छेजस्तो भएर बाँच्नुको कुनै तुक देखिनँ मैले ।
मेरी स्वास्नी जहिले पनि मलाई शब्दको झटारो हान्दै भन्थी, “मान्छे भएर के नाप्न सकेका छौ तिमीले – जिन्दगीमा गरखिाने हो भने ती कुकुरजस्तो हुनू, जो ठूलाठूला हाकिम र नेताहरूको कारमा सयर गर्छन् । कुकुर हुन नसकेर एक त तिमी आफैं असफल प्राणी सावित हुन गइरहेका छौ, अर्को हामीलाई पनि दुःखको सागरमा डुबाइरहेका छौ । मैले भनेको मान्छौ भने तिमी समय अनुसार चल्न सिक । खुरुक्क कुकुर बनेर आफ्नो भविष्य पनि सपार र यस घरको अवस्थालाई पनि सुधार ।”
“कुकुरजस्तो बनूँ कि कुकुरै बनूँ -” मैले स्वास्नीलाई सोधेको थिएँ ।
“हैनहैन, कुकुरै बन ! कुकुरजस्तो बन्यो भने फेरि नपत्याउलान् नि !” स्वास्नीले झर्किंदै भनेकी थिई ।
मलाई उसको भनाइ ठीकै लागेको थियो ।
मेरा छोराछोरीहरू पनि म कुकुर बन्न लागेकामा उत्साहित देखिन्थे ।
जेठोले भन्यो, “म बुबाको घाँटी सिक्रीले बाँधेर घुमाउन लान्छु ।”
कान्छोले भन्यो, “म बुबाको पुच्छर निमोठ्छु ।”
छोरीले भनी, “म त बुबालाई काखमा राखेर आङ कन्याइदिन्छु ।”
घरको सम्पूर्ण वातावरण नै म कुकुर बन्न लागेकामा रोमाञ्चित बनिरहेको थियो । म पनि आफू कुकुर-अवतारमा परण्िात हुने क्रममा कम उत्साहित थिइनँ । कुकुर बनेपछि मान्छेरूपी आफ्नो स्वाभिमानी सोच समाप्त भए पनि आफ्नो र परविारका सम्पूर्ण सदस्यहरूको इच्छा-आकाङ्क्षा पूर्ति हुने कुरामा म ढुक्क थिएँ ।
दिनभर घरमा मेरी स्वास्नी र छोराछोरीले मलाई कुकुर बन्न सघाए ।
स्वास्नीले मलाई आदेश दिई, “कुकुर बन !”
म चार हात-खुट्टा टेकेर कुकुर बनेँ । कुकुर र ममा फरक यत्ति थियो कि मेरो पुच्छर थिएन । अन्य कुरामा भने मैले आफूमा पशुवत् चरत्रिलाई अपनाइसकेको थिएँ ।
स्वास्नीले फेरि आदेश दिई, “हामीले जे भने पनि कुइँकुइँ मात्र गर्नू, मान्छे भइनटोपल्नू फेरि !” मैले ‘हुन्छ’ मा शिर हल्लाएँ ।
स्वास्नीले भनी, “मेरो यो फरियाभित्र मुन्टो घुसाऊ ।”
उ˚् ! के भनिरहेकी छ मेरी स्वास्नी ! मलाई दिगमिग लागेर आयो । म अनकनाएको देखेर मेरी स्वास्नीले ठूलो स्वरले मलाई झपार्दै भनी, “महाशय ! तिमी कहिल्यै कुकुर बन्न सक्दैनौ । तिम्रो नियति भनेको मान्छे भएर हरपाइला, पाइलामा ठक्कर खानु र त्यसको पीडा बेहोर्नु हो ।”
म हत्तपत्त चार हात-खुट्टा टेकेर कुद्दै गएँ र स्वास्नीको फरियामुनि टाउको घुसारेँ ।
स्वास्नीले आफ्नो पाइतालाले मेरो पिठयूँमा कन्याई । सुरुमा असजिलो लागे पनि पछि मलाई मजा लाग्दै गयो र म अनायासै उसका खुट्टाहरू सुँघ्न र चाट्न थालेँ ।
ऊ एक्कासि हर्षतिरेकले चिच्याई, “तिमी अब साँच्चिकै कुकुर बन्न थाल्यौ मेरा प्राण !”
मेरी स्वास्नी जब मेरो कुनै कार्यबाट अत्यन्त खुसी हुने गर्थी, तब मलाई यसरी नै ‘प्राण’ शब्दले भन्ने गर्थी । म झन् तीव्रतासाथ उसका खुट्टा चाट्न थालेँ ।
“पप्पी !” मेरो जेठो छोरो करायो ।
मैले अनुमान गरेँ सम्भवतः ऊ मलाई नै बोलाइरहेको थियो ।
“पप्पी, यहाँ आ !” जेठो छोरो ओठ गोलो पारेर सिटी बजाउँदै मलाई बोलाइरहेको थियो ।
म जेठो छोरातिर लम्केँ । उसले पनि आफ्ना खुट्टा अगाडि बढायो । म उसका खुट्टामा लुटपुटिँदै उत्तानो परेँ । उसले मेरो पेट कन्यायो । म खितितिती हाँस्न थालेँ । मलाई जेठो छोराका खुट्टाबाट मीठो गन्ध आइरहेझैँ लाग्यो । यो गन्ध मेरी स्वास्नीका खुट्टाबाट आएको गन्धभन्दा फरक थियो । मलाई उसका खुट्टा पनि चाटूँचाटूँझैँ लाग्यो । मैले उसको पाइतालामा जिब्रो फेरेँ । म उसका खुट्टा चाट्न थालेँ ।
“मम्मी, ड्याडी त साँच्चिकै कुकुर बन्नुभयो है !” जेठो छोरो मैले चाटिरहेको आफ्नो खुट्टातर्फ हेर्दै हाँसिरहेको थियो ।
उता कान्छो छोरो करायो, “पप्पी, ऊ त्यो बल समातेर ले !” यति भन्दै उसले सुइय्य सिटी बजायो । म हतारँिदै बल भएतिर दौडेँ र दाँतले च्याप्प बल समातेर कान्छो छोरो भएतिर दौडेँ । ऊ हातले थपडी मार्दै उफ्रिन थाल्यो ।
“हो हो ड्याडीले त ठ्याक्कै कुकुरले जस्तै बल समात्नुभयो । ड्याडी कुकुर ! ड्याडी कुकुर !”
म कुकुरका सम्पूर्ण व्यवहारहरू पर््रदर्शन गर्न थालेँ, उफ्रनु, कुद्नु, लडीबुडी खेल्नु, जीउ हल्लाउनु, जीउ खुम्च्याउनु, जीउ तन्काउनु, मुखबाहिर जिब्रो निकालेर बाफ फालेझैँ गर्नु, एउटा खुट्टो उचालेर मूत्रत्याग गर्नु, आँखामा दासताको भाव उमारेर आफ्ना स्वामीलाई हेर्र्नु र आफ्नो ज्रि्राले तिनका अङ्गप्रत्यङ्ग चाटेर आफू स्वामीभक्त कुकुर रहेको सिद्ध गर्नु ।
मेरो कुकुर-व्यवहारबाट सन्तुष्ट भएर मेरी स्वास्नीले भनी, “नाउ यू बिकेम अ डग !”
मेरा छोराछोरीले भने, “मम्मी, ड्याडी बिकेम अ रियल डग ।”
म पनि आफू कुकुर बन्न सकेकामा खुसी भएँ । आफू स्वाभिमानी मान्छे बनेर गर्न नसकेका कामहरू स्वामीभक्त कुकुर बनेर गर्न सक्ने कुरामा म ढुक्क थिएँ ।
मलाई कुकुरका रूपमा देख्न चाहने मेरा स्वामीहरू बग्रेल्ती थिए । मलाई जहाँसम्म लाग्छ, ‘यो कुकुर बनोस्’ भनेर मप्रति शुभेच्छा राख्नेहरू पनि धेरै नै थिए । म कुकुर नबनेकामा समय र परििस्थति अनुसार चल्न नजान्ने भनी पिठ्यूँपछाडि मेरो खिसी गर्नेहरू पनि कम थिएनन् । यी सबैलाई आर्श्चर्यचकित पार्दै म अकस्मात् ‘कुकुर’ बनेर प्रकट भएँ । म कुकुर बनेको थाहा पाएपछि धेरैले टिप्पणी गरेका थिए, “बल्ल सुध्रिएछ यो !”
मैले मान्ने गरेका स्वामीहरू पनि सुरुका दिनहरूमा कुकुर बनेर नै प्रकट भएका थिए । कुकुर बन्नुभन्दा पहिले तिनीहरू पनि मझैँ सामान्य स्तरको लाटोबुङ्गो नागरकि कहलाउँथे । तर, कुकुर बनिसकेपछि तिनको स्तरमा रातारात परविर्तन भएर तिनीहरू ‘स्वामी’मा रूपान्तरण भएका थिए । तर पनि तिनका लागि कुकुर, समयका ती स्वणिर्म दिनहरू अविस्मरणीय र गौरवपूर्ण थिए ।
मेरो कुकुरयात्रा सुरु भयो । घरमा उल्लास र उत्साह छायो । स्वास्नी र छोराछोरीलाई दङ्गदास पार्दै म जिब्रो निकालेर आफ्ना स्वामीका पदचिन्हले छोडेको गन्ध पहिल्याउँदै स्वामीको भक्तिमा हिँडेँ ।
मेरा स्वामी आलिसान महलभित्र थिए । बाहिर फूलका गमलामा घाम झुल्के पनि स्वामी झुल्किसकेका थिएनन् । सबै स्वामी झुल्कने ढोकातिर मुन्टोफर्काएर बसिरहेका थिए । स्वामीको महलमा यो मेरो पहिलो यात्रा थियो । यसभन्दा अघि म कहिल्यै यहाँ आएको थिइनँ । एकपटक आएको जस्तो लाग्छ तर ग्लानिबोध भएर गेटबाटैफर्र्केको थिएँ । यो घटना म कुकुर बन्नुभन्दा पहिलेको घटना थियो । तर, अहिले म स्वामीको बङ्गलाभित्र छिर्दा मात्र अपार आनन्द महसुस गरिरहेको थिएँ । त्यहाँभित्रको दृश्य मैले सोचेभन्दा पनि ज्यादा विस्मयकारी थियो । थरीथरीका ‘कुकुर’ हरूको बाक्लो उपस्थितिले म झन्डै अतालिइनँ । ‘कुकुरहरू’ विभिन्न भावभङ्गिमाका साथ आफूलाई प्रस्तुत गरिरहेका थिए । मलाई पनि आफ्नो माझमा पाउँदा तिनीहरूका अनुहारमा विभिन्न भाव दृष्टिगोचर भएका थिए । त्यो भीडभाडमा कुकुर बनेर जिब्रो काढिरहेकाहरूमा मेरा आफन्त, साथीसङ्गी, छिमेकी, मेरा प्रतिस्पर्धी सम्पूर्ण थिए । तिनीहरूको ज्रि्राकढाइ र कुकुर, व्यवहार मेरोभन्दा फरक थियो अथवा यसो भनौँ, उन्नत र विकसित थियो । यसबाट मैले अनुमान गरेँ कि तिनीहरू जीउका पुराना रौँ झारेर नयाँ रौँ उमारसिकेका वरष्िठ कुकुरहरू थिए । अन्ततः आफ्नो समूहमा मिसिन आइपुगेकामा मलाई हेर्दै तिनीहरूमध्ये कोहर्ीर् इर्ष्यालु र कोही दङ्ग परिरहेका थिए । सायद तिनीहरूले सोचे हुन् कि बल्ल मेरो बुद्धिको बिर्को खुल्यो । आफूलाई स्वाभिमानी मान्छे ठानेर कुकुर, प्रवृत्तिलाई घोर घृणा गर्ने म आफैं कनिष्ठ कुकुर बनेर स्वामीको महलमा प्रकट भएको थिएँ । ‘मजस्तो बन्नु छ भने तिमीहरू पहिले मेरो कुकुर बन्न सक्नर्ुपर्छ’ भन्ने स्वामीको महान् उक्तिलाई आफ्नो आदर्श मान्दै मैले कुकुर-सिद्धान्त अँगालेको थिएँ । आफूलाई ‘कनिष्ठ कुकुर’का रूपमा उभ्याउँदा पनि मलाई कुनै पश्चात्ताप थिएन ।
स्वामीले भेटघाटको शृङ्खला सुरु गरे । स्वामीको महलको ठूलो ढोका खुल्यो । हातमा डायरी लिएको एउटा व्यक्ति बाहिर झुल्कियो । मैले उसको अनुहार हेरेँ । ऊ ठ्याक्कै ‘बुलडग’झैँ थियो । उसको अनुहार देखेर मलाई ऊप्रति इर्ष्या लाग्यो । मैले आफ्नो अनुहार छामेँ, मेरो अनुहार सोफामाथि बुर्लुकबुर्लुक उफ्रने पमेरियनझैँ थियो । यस बुलडगले मेरो अनुहार हेरेर स्वामीसँग भेट गर्न दिँदैन कि भन्ने शङ्का उब्ज्यो मेरो मनमा ।
बुलडगको अनुमतिले कुकुर-प्रवृत्तिका मानव, कुकुरहरू एकएक गरी स्वामीलाई भेट्न भित्र प्रवेश गर्न थाले ।
म बाहिर थिएँ । बाहिरबाट नै म घरभित्र स्वामीसँगका भेटघाटका दृश्यहरू सजिलै हेर्न सक्थेँ । भेटघाटका लागि गएकाहरूमध्ये कोही स्वामीका नाङ्गा पाइताला चाटिरहेका थिए, कोही पिठ्यूँ कन्याइरहेका थिए, कोही कपाल सुँघिरहेका थिए त कोही स्वामीका अगाडि घोप्टो परेर जिब्रो काढ्दै स्याँस्याँ गरिरहेका थिए । स्वामी आफ्ना प्रत्येक कुकुरको टाउको मुसार्दै, जीउ सहलाउँदै मुसुमुसु मुस्काइरहेका थिए ।
महलको माथिल्लो तलाको बार्दलीबाट खल्याङमल्याङ आवाज आयो, मैले माथितिर हेरेँ । स्वामिनी प्रकट भएकी थिइन् बार्दलीमा । उनका वरपिरि पनि ‘कुकुरहरू’ घुमिरहेका थिए । उनका गोरा खुट्टाहरू, चटाइको दृश्यले मेरो मनमा खलबली मच्चाइरहेको थियो । बार्दलीमाथि चढ्न पाएको भए म पनि उनका सुलुत्त परेका गोराचिट्टा खुट्टाहरू चाटेर स्वर्गीय आनन्द लिन्थेँ र आफ्नो जीवनलाई मोहक बनाउँथेँ ।
मैले आफूलाई रोक्न सकिनँ । म उफ्रिंदै भर्याङ चढ्ने दिशातिर हान्निएँ । म भर्याङ चढेर स्वामिनीको छेउमा जान चाहन्थेँ । तर, मेरो इच्छामा त्यतिबेला तुषारापात भयो जब ‘बुलडग’ कुकुरले जोडले कराउँदै भन्यो, “ऐ फुच्चे कुकुर, पख्,पख् ! कहाँ जान लागेको हँ तँ -”
मैले डराउँदै भनेँ, “मलाई स्वामिनीको गोरो खुट्टा चाट्न मन लाग्यो । म बार्दलीमा जान चाहन्छु ।”
“रौँ नउम्रेको कुकुर ! तँभन्दा वरष्िठ कुकुरहरूले त स्वामिनीको छेउछाउ पुग्ने मौका पाएका छैनन्, तँ भने खुट्टै चाट्ने ! यस्तै हो भने स्वामीलाई पनि भेट्न पाउन्नस् तँ !” बुलडग जोडले करायो । उसको गर्जनले म लल्याकलुलुक भएँ । मैले स्वामिनीको गोरो खुट्टा चाट्ने आफ्नो इच्छालाई जबर्जस्ती दबाएँ ।
“स्वामीलाई भेट्ने पालो आयो, भित्र जा ! ख्याल गरेस्, स्वामीको खुट्टा चाट्दा उनको खुट्टामा तेरो दाँत नगाडियोस् । हेर्दैमा अनाडी कुकुर देखिन्छस् तँ !” बुलडगले मलाई हेर्दै भित्र पस्ने अनुमति दियो ।
म चार हातखुट्टा टेक्दै, नाकले सूँसूँ गर्दै र मुन्टो हल्लाउँदै स्वास्मीको अगाडि प्रकट भएँ ।
मलाई देखेर स्वामी गदगद् भए ।
“तिमीलाई मैले यस रूपमा देख्न चाहेको धेरै भयो । हिन्दीमा एउटा उखान छ । बिहान घर आउन भुलेको मान्छे यदि साँझ घरफर्किआयो भने त्यसलाई भुलेको मान्नु हुन्न ।”
स्वामीको मप्रतिको सदाशयता देखेर मेरो शरीर पुलकित बन्यो । म स्वामीको अगाडि हात फैलाएर घोप्टो परेँ ।
स्वामीले मेरो टाउको मुसारे । मैले मुन्टो उठाएँ र स्वामीका नाङ्गा खुट्टा सुँघ्दै चाट्न थालेँ । उनको पाइताला चाट्दै म आफ्ना इच्छा-आकाङ्क्षाहरू पूरा भइरहेको कल्पना गरिरहेको थिएँ ।
“ऐय्या !” अकस्मात् स्वामी उफ्रे । मेरो मुख चटाइबाट आफ्नो खुट्टा फुत्काउँदै उनी खोच्याउन थाले ।
बुलडग हरर गर्दै भित्र आयो । स्वामीलाई हातले खुट्टा समातेर निहुरइिरहेको देखेपछि उसले क्रोधित आँखाले मलाई हेर्यो ।
“यो अझै कुकुर बनिसकेको रहेनछ, बुलडग ! हामी झुक्कियौं । यसले आफ्ना तीखा दाँतहरू मेरो पाइतालामा गाड्यो । आह ! रगत पनि बहन थाल्यो । स्वामीको पाइताला चाट्ने कला अझै यसले जानेको छैन । यसलाई तुरुन्त बाहिर निकाल् ! म यसको अनुहार पनि हेर्न चाहन्नँ ।”
बुलडगले मेरो पिठयूँमा एक लात हिर्कायो । मैले ‘कुइँक्क’ गरेँ । म लर्खराउँदै स्वामीको कोठाबाट बाहिर निस्केँ । म स्वामीको महलबाटै धपाइएँ ।
स्वामीको भव्य महलबाट बाहिरँिदा मैले पछाडिबाट मलाई इङ्गित गर्दै आएको आवाज सुनेँ ।
“बडो स्वामीभक्त कुकुर बनिटोपलेको थियो, यसलाई के थाहा कि स्वाभिमानी मान्छे बन्नुभन्दा स्वामीभक्त कुकुर बन्न झन् कति गाह्रो छ ”
त्यसपछि एकोहोरो कुकुरहरू भुकेका थरीथरी आवाजहरूले मेरा कानलाई पछ्याइरहे, ह्वाङह्वाङ, भ्वाउभ्वाउ, हाउहाउ, ख्याउँख्याउँ, भूभूभू !!!
नेपाल साप्ताहिक २७८

साईकोडेलिक भो!
नेपाल साप्ताहिकमा साईकोडेलिक?!
कस्तो कथा यो
अर्थ्याउनै गारो ठूलाबडाका कुरा