Skip to content


ढालेर बूढो रूख आफैंलाई
होमिदिएँ मैले दावानलमा
र, लगाएर निधारमा
आफ्नै आँसुको विभूति
गरेँ― श्रद्धापूर्वक प्रणाम
धरती उधारेर
उँभो निस्किरहेको
रातो सूर्यलाई…!

हर्दम गर्विलो उभिएको
म सगरमाथा
तपोभूमिमा ध्यानस्थ म पृथिवी!

कहाँकहाँबाट बगिआएको
यो अरुण, मेरो आफ्नै शरीरको रगत,
कताकता भौंतारिइहिँड्ने
यो वायुबतास, मेरो आफ्नै प्राण!

त्यो अनन्त आकाश, मेरो सपना
यो अटल पहाड, मेरो आस्था…!

अफशोच!
म भएँ शरणार्थी, आफ्नै देशभित्र
म भएँ जागित्रा, आफ्नै घरभित्र।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

महाकाव्य लेख…!
गीता त्रिपाठी
महाकाव्य लेख कवि, मेरो दुःख टिपी
दुनियाँले बुझेन खै यो आँसुको लिपी!

झेल्दैछु म महाभारत, शकुनिका पासा,
बुझे पनि नबुझे झै कपटका भाषा!
यै छातीमा दुख्छन् अझै द्रौपदी र सीता,
सारथि भै आऊ लेख यो युगको गीता!

खेलूँ कति आगोसँग परीक्षा म दिऊँ,
अञ्जुलीमा जिन्दगीको भिक्षा कति लिऊँ!
धर्ती अब फाट्दैन मुटुमात्र फाट्छ
तिमी विना मेरो व्यथा अरू कसले बाँड्छ!

प्रिय मान्छे
ठाकुर बेलवासे
आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श
मेरो घरको आँगनमा
एउटा आदिम दुःख अग्लिरहेछ
अझ्ै पनि देखिएको छैन
मेरो घरको धुरीमाथिको आकाश

म गर्व गर्छु, म घमण्डले उन्मत्त छु
मैले बाँचेको जीवन, तिमीले मात्र होइन
सम्भवतः कसैले पनि बाँच्न सक्दैनन्

तिम्रो धुरी टेकेर, घाम पश्चिम ‘र्लिएन भने
तिमी आफैँ भित्र टुक्रा-टुक्रा हुन्छौ
आफैँले आफ्नै हत्या गर्छौ
तिम्रो घरको बाटो भएर
बादल उकालो चढ्न मात्र खोज्यो भने
तिमी भगवानलाई सक्दो सराप्छौ
कि भगवानका अगाडि सेरिन्छौ

उज्यालोले नअघाउने, प्रिय मान्छे
दिन-रात घाम-जूनको पिरलोमा हुन्छौ
हाँसोलाई आँसुमा भिजाएर
उदास जीवनको गीत गाउँछौ

तिमी बाँच्नैका लागि
मनभरि अभिमन्युको चक्र बोकिरहन्छौ
सुखै सुखमा पनि, दुखै दुख देख्छौ

मेरो प्रिय मान्छे
बाँच्नु त एउटा साधारण दृष्टान्त हो
म आँसुलाई हाँसोमा मिसाएर
अँध्यारोमा, उमङ्गको गीत गाउँछु

मलाई अरूको घरको धुरीमा
घाम लुटपुटिएको औधी मन पर्छ
म पसिनामा जीवन खोज्छु
मलाई बादल मेरै घरको आँगनमा
मनलाग्दी नाचेको औधी मनपर्छ
म सङ्घर्षमा जीवन खोज्छु

तिम्रो खुसीका लागि पनि
मेरो प्रिय मान्छे
उज्यालोको सम्पूर्णता, तिमीतिरै जा’स्
तिमी मनदेखि नै उज्यालिनुपर्छ

म त घनघोर जङ्गलको मृगजस्तो
अँध्यारोभित्र उज्यालोका सपना देखिरहन्छु
कुरुपतामाथि सुन्दरताको सङ्गीत बजाइरहन्छु

म पसिनाको सङ्लो मुहान हुँ
सङ्घर्षको सबल उदाहरण हुँ
जीवनको मीठो धून हुँ
त्यसैले म आफँ घाम, जून हुँ

आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *