यो जमघट देखेर चकित छु अहिले
आफ्नै दुश्मनहरूको मीत छु अहिले।
जब ढोका हालेँ, घरमै त्रसित थिएँ
ढोका फालेदेखि सुरक्षित छु अहिले।
चल्दो रहेछ होडबाजी प्यारमा पनि
कसैको दिलमा मनोनीत छु अहिले।
जति हाँस्नु थियो बच्चामै हाँसिसकेँ
हाँसोदेखि अब बञ्चित छु अहिले।
आऊ, स्पर्शले मारेर जाऊ मलाई
दूबोमाथि अडेको शीत छु अहिले।
भट्टीबाट निस्केपछि मुर्दा हुनेछु
के भन्नु छ भन, जीवित छु अहिले।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
