उडुसको खानीमै परिएछ― सोफा, छ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा!
अपार्टमेन्ट नम्बर ६१२ मा बसेकै दिनदेखि शरीरभरि डाबर देखियो। राति ग्यास स्टेसनमा काम गर्ने कुइरे बूढा उज्यालो खसिनसक्तै आइसक्थे। कामविहीन म वरपरका चिनारुकहाँ जान्थेँ, इमेल चेक गर्थें, घरकुरुवा हुने नै भइयो। मूल कोठाको दक्षिणी भित्तामा कालो रङको लामो सोफा थियो। एक मध्यान्ह त्यसमै निदाएछु, बिउँझ्दा त कुहिनाभरि डाबरै-डाबर! कन्याउँदा कन्याउँदै डाबरहरू झ्न् सप्रिए। नुहाई-धुवाईले पनि केही लागेन। जीउमा अन्त पनि सरे जस्तो भयो।
यो अपार्टमेन्टलाई हेडक्वार्टर भन्थे मेरील्याण्डका गफाष्टक नेपालीहरू। नेपालबाट नेता, विद्यार्थी, समाजसेवी, कलाकार जो आए पनि शुरुको थातथलो यही हुँदोरहेछ। म पुग्दा एक जना सरल मनुवा थिए, चिकित्सक। त्यसपछि फुच्चे नेता, भगुवा खेलाडी र पुङमाङे कलाकारहरूको धुइरो लागिरह्यो। नेता टाइपका स्थानीय नेपालीहरूले हेडक्वार्टरका लागि भनेर बूढालाई महिनामा एकदुई बोरा चामल, ८-१० केजी प्याज र आलु, पाँच-सात केजी फोक्से कुखुरा अनि दुई लिटर जतिको एउटा बोतल पनि पठाइदिँदा रहेछन्।
यहाँबाट हिँड्ने बेलामा उडुस त यहाँनि सल्केछ भन्थे मानिसहरू। यसबाट म अमेरिकाका अरू राज्यमा पनि उडुसको आतङ्क रहेछ भनेर लख काट्थेँ। म गएलगत्तै अन्त सरेका चिकित्सक साथी सर्नुपर्ने कारण उडुस पनि हो भन्ने चर्चा चल्यो।
राति काम गर्ने बूढा दिनभर घुरी-घुरी निदाउँथे। सुत्नुअघि एक गिलास ह्विस्की, एक डबका भुटेको मासु, एक कचौरा गेडागुडी र एक कप कडा कफी बुत्याउने हुनाले उडुसको चाल नपाएका हुन् कि जस्तो लाग्थ्यो। तर, एक दिउँसो टाउसन प्लाजामा भेटिएको काम सिकेर रमाउँदै फर्कंदा बूढा घुँडा मुसार्दै बसेका रहेछन्, भनिहालेः
“हैन, रक लेभनतिरका कीरा याँनि सरे कि क्या हो?”
“कस्ता कीरा?”
“टोक्ने कीरा नि!”
“उडुस भन्नुभाको?”
बूढाले उडुसलाई कीरा भन्न छाडेनन्। जीउका डाबरहरू देखाउन थाले। निन्द्रा नपुगेको र्झ्को उनको बोलीमा र्लिन थाल्यो।
त्यहाँ बैठक कोठा बाहेक भान्सा, शौचालय र दुइटा बेडरुम थिए। ढोकाको पश्चिमी चेपमा जुत्ता र अरू खिच्रिङमिच्रिङ थन्काउन मिल्ने खण्डे आलमारी जस्तो सानो कोठा थियो। म दक्षिणपट्टिको कोठामा पसारिन्थेँ। दिनभर सोफा, विस्तरा सबैका चेपचाप कोट्याएर भेटेजति उडुस र त्यसका फुल माडमुड पार्दै बस्थेँ। बूढा त्यो कोठामा सितिमिति आउँदैनथे। मोजाको रास, कपाल काट्ने मेसिन, रित्ता ह्याङ्गर, धुलाम्मे कोटका खोल, फोहोरले भरिएको प्लाष्टिकको भाँडो र बिजुलीको तार असरल्ल थिए। मैला खोल भएका गद्दे छ्यान, फलामे पाताका झयाल, घुर्मैलो रङको पर्दा अनि पुरानो कम्प्युटर। यी सब रैछन्― उडुसका दरबार! बूढाको कोठा साह्रै सुग्घर हुन्थ्यो, तनक्क कसिएको तन्ना। गज्जब लाग्यो, उनको कोठामा पनि उडुसको राज्य फैलिएछ!
डिसेम्बरको जाडोले हिउँ ल्याउन बाँकी थियो। वरपरका रूख नाङ्गै थिए। एक साँझ् जोरभाइ भएर टिभी हेरिरहेका थियौँ। भयानक चिसो आउन लागेको सूचना आइरहेको थियो। “जतिसुकै भयानक होस्, म जाडो सहन्छु, तर कीराको टोकाइ सहन सक्दिनँ। यस्ता कीरा ल्याउनेलाई मैले कति पटक यहाँबाट धपाएको छु। बरु अपार्टमेन्टको भाडा तिर्छु, कीरा ल्याउनेसँग बस्न सक्दिनँ”, बूढा बम्किए। म थरर्र कामेँ। एकातिर काम नहुनु, अर्कातिर पराश्रित। यस्तो बेला आफैं उडुसको गुनासो गर्न सक्दिनथेँ।
एक साँझ् बडवाइजर खाएर भावुक भएको थिएँ― काम भएन कि दक्ष भइएन! हृदय रमाएन कि डलरको मोहमा परिएन! सहज भइएन कि लगाव दिन सकिएन! मनमा यस्तै कुरा छचल्किरहेका बेला बूढा आए। केहीअघि मात्र काममा गएका उनी एक्कासि फिर्दा चकित भएँ। उनले टिभीसँगै बोतल पनि खोले।
“चाँडै फिर्नु भोनि?”
“भोलि सिनेटर ल्याउने कि भनेको, यस्तो कीरा भएको घरमा कसरी ल्याउनु? साथीहरू भन्छन्, यहाँ आएर बस्यो कि घर नपुग्दै जीउ चिलाउन थाल्छ रे! तपाईंलाई चिलेको छैन?”
उडुस आतङ्कबारे मैले कति मात्रै भन्ने? निन्द्रा चौपट भएको थियो। जीउभरि राता-राता डाबर बोकेको थिएँ, काउछो दले जस्तो। छ्यान फेरी-फेरी सुत्थेँ। च्यादरमा बेरिएर बैठक कोठाको मध्यभुईंमा ढल्दा तैबिसेक हुन्थ्यो। त्यही रात बैठक कोठामा सुतिरहेको थिएँ, बूढा आएछन्।
“आफ्नो छ्यानमा नसुती किन भुईंमा? कीरा सल्के कि क्या हो?”
“त्यस्तै-त्यस्तै छ!”
अब के होला? बूढा कति झवाँक्किएलान्? म पाक्दै शौचालय पसेँ।
“सिनेटर नआउने भए। एडमण्ड हिलारीलाई श्रद्धाञ्जली दिन म मेरै कोठामा भएनि कार्यक्रम गर्छु। अब हामी दाजुभाइ भएर भ्याकुम लगाऔं, खति छरौँ”, शौचालयको ढोका खोलेपछि मैले यी कुरा सुन्न पाएँ।
अनि पाँसुला बटारियुन्जेल भ्याकुम चलाइयो। बढारकुँढार अनि पुछपाछ गर्दागर्दा लोथ भइयो। सोफा उल्ट्याएर खति छरियो। अनेक बास्नादार औषधिले सारा अपार्टमेन्ट सुवासित पारियो। अनि लागियो, अल्मेडातिर। बुढाका चिनारु परिवारको जन्मदिन कार्यक्रममा खानेपिउने अनुष्ठान सम्पन्न गरेर अब त खतीको राग उडिसक्यो होला भन्दै राति १२ बजेतिर आयौं अपार्टमेन्टमा।
त्यहाँनि उडुसकै चर्चा चलेको थियो। सोलोडोलो मोटाएकी एउटी महिलाले यी खुन चुस्ने जीव भुटानी शरणार्थीले ल्याएका हुन् रे भन्दा गिलास समात्नेमध्ये आधाजसोले समर्थन जनाए। सारा मेरील्याण्ड उडुस आतङ्कमा परेको रहेछ!
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
