Skip to content


आसन्न मृत्यु खोकी राख्यौ
बोझ जिन्दगीको बोकी राख्यौ
गाँस्यौ नाता अँध्यारोसित
उज्यालो सधैँ खोजी राख्यौ

त्यत्तिका उमेर बाँकी छँदै
कात्रोमा किन गोजी राख्यौ
पलायन हुँदा विदेशतिर
बगाएनौ आँसु रोकी राख्यौ

तिम्रो पोसाक खोइ सुहाएन
लगाएर क्याप टोपी राख्यौ
इज्जत लुटिँदा द्रौपदीको रोजै
आँखा आफ्नो छोपी राख्यौ

मेरो प्रार्थना सुन्नै चाहेनौ
नबोल्ने देउता ढोगी राख्यौ
मैले तिमीलाई सम्झिरहँे
तिमीले अरूलाई सोची राख्यौ

यति विघ्न पछ्याउँदा पनि
उपेक्षाले कति घोची राख्यौ
आफ्नो मुख फोरिनौ कहिल्यै
मेरो माया जोखी राख्यौ

खुलेआम उडाएर उपहास मेरो
मुटुमा कीला ठोकी राख्यौ
दियौ केवल अपमान र पीडा
खुसी भएभरको खोसी राख्यौ

सम्झना दिलाउँदा विगत इतिहासको
भुइँमा आँसु पोखी राख्यौ
माग्दा हिसाब मेरो वँैसको
नङ आफ्नो टोकी राख्यौ ।

नेपाल साप्ताहिक अंक १३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *