१. विषय परिचय
‘अनुपस्थिति’ कविता श्रीशीशा राईको ‘चेतनाहरू चबाए’ भन्ने कविता सङ्ग्रहभित्रको एउटा कविता हो । २०६६ साल पुसमा प्रकाशित राईको यस कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् । यसको प्रकाशकीयमा “एक सशक्त उदीयमान युवाकविका नवीन विम्बहरूले सजिएको यो सङ्ग्रह” भनेर वाणी प्रकाशनले उल्लेख गरेको छ । यसका भूमिका लेखक डा. गोविन्दराज भट्टराईले यसमा नयाँ समय प्रतिध्वनित र नयाँ शैली प्रतिविम्बित रहेको जनाएका छन् । यस लेखनमा राईको ‘अनुपस्थिति’ कवितालाई संरचनावादी समालोचकीय कोणबाट विश्लेषण गरिएको छ । यस क्रममा कवितालाई यसको बनोट वा संरचना, द्विचर विरोधका युग्मक र अर्थ, उध्र्वाधर पक्ष वा चयनात्मक धुरी, भाषिक प्रकार्य र सन्दर्भपरक प्रकार्यका आधारमा विश्लेषण गरिएको छ ।
२. सैद्धान्तिक पर्याधारः वस्तुमाथि रूपको आधिपत्यलाई हेर्ने संरचनावादी समालोचनाले मूलतः भाषिक संरचक र ती संरचक घटकहरूको सम्बन्धको अध्ययन गर्दछ । यसले घटकहरूको सुसम्बद्ध व्यवस्थाको विश्लेषण गर्दै अर्थ निस्पादनमा भाषिक घटकहरूले निर्वाह गरेको सन्दर्भपरक भूमिकाको अध्ययन गर्दछ । संरचनाको एउटा प्रचलित अर्थ रूप हो, यसले वस्तुमाथि रूपको आधिपत्यलाई देखाउँछ (गौतम ः २०५० ः २९७) । संरचनावादी समालोचनामा कुनै पनि कृतिको विषय वा वस्तुलाई खास व्यवस्थामा राखेर हेरिन्छ । त्यस व्यवस्थामा सो विषय वा वस्तु कसरी अर्थिएको छ र संरचक घटकहरू कुन नियमबाट कसरी संयोजित भएका छन् भन्ने कुराको विश्लेषणात्मक अध्ययन यस समालोचनामा गरिन्छ ।
संरचनावादले लेखकलाई नछोइकन पाठको व्याख्या गर्नमा पाठकलाई छूट दिन्छ । संरचनावादी समालोचनाको केन्द्रविन्दु चाहिँ कृति वा पाठ नै हो । यस वादको मान्यता अनुसार कुनै पनि कृतिमा पाठकले त्यति मात्र अर्थ र सन्दर्भसँग खेल्न पाउँछ, जति पाठमा रहेका भाषिक घटकहरूले सङ्केत गरेका छन् । यसैले संरचनावादले प्रभाववादी होइन, वस्तुपरक विश्लेषणमा जोड दिन्छ । यस समालोचनाको जग अमेरिकी संरचनावादी भाषा वैज्ञानिक फर्डिनान्ड डि सस्युरको भाषा व्यवस्था र नोम चम्स्कीको भाषिक सामर्थ्यमा आधारित छ ।
संरचनावादी दृष्टिमा कृति भनेको भाषिक व्यवस्था र सामर्थ्यको प्रस्तुति हो । कृतिबाटै भाषाका आधारभूत नियम ग्रहण गरेर त्यसको सन्दर्भ र अर्थको खोजी गर्न सकिन्छ भन्ने मान्यता संरचनावादले राख्तछ । अर्थको स्रोत लेखक होइन, कृतिमा प्रयोग गरिएको भाषा हो । भाषामा रहेका समानता, समानान्तरता, विरोध, प्रकार्य, तर्कवाक्य, वाक्यपद्धति, प्रश्न, निषेध, आदेश, चाहना आदिका माध्यमबाट कृतिको अन्तर्यमा प्रवेश गर्नु संरचनावादी समालोचनाको मूल दृष्टिफलक हो । यसको मूलभूत आधार मनोविज्ञानको अचेतन धारसित सम्बद्ध मानिन्छ । अचेतनको अमूर्तताबाटै कृतिमा प्रयोग गरिएको उपकरणको वा भाषाको द्विचर विरोध, क्रिया-प्रतिक्रिया, समानान्तर अर्थ व्यक्तिबोलीका माध्यमबाट मूर्तरूपमा प्रकट हुन्छ । सस्युरको भाषा र बोली, चम्स्कीको भाषिक सामर्थ्य र सम्पादन, भाषाका अन्तःस्तल र बहिःस्तलका साथै आन्तरिक र बाह्य संरचनाले मनोवैज्ञानिक जगत्बाट सन्दर्भ लिन्छन् र कुनैले चेतन वा मूर्तको त कुनैले अचेतन वा अमूर्तको प्रतिनिधित्व गर्दछन् । सिगमन्ड फ्रायडको सपनाको सिद्धान्तले यस वादमा स्थान पाएको छ । मान्छेको मन द्विचर विरोधमा क्रियाशील हुने मान्यता सांस्कृतिक मानवशास्त्रका प्रमुख क्लाउड लेभिस्ट्रसको रहेको छ । लेभिस्ट्रस फ्रान्सेली संरचनावादका मुख्य चिन्तक मानिन्छन् । संरचनावादी कोणबाट हेर्दा वाह्यजगत् पनि भित्रिजगत् जस्तै देखिन्छ । यसलाई प्रकट गर्ने भाषिक संरचना र अन्तर्जगत् तथा वाह्यजगत्को आधारभूत नियम एकै प्रकारको मानिन्छ । यही मान्यताको अधीनस्थ भएर संरचनावादी समालोचना गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा संरचनावादको मूलभूत मान्यता र उपकरणका आधारमा ‘अनुपस्थिति’ कविताको विश्लेषण गरिएको छ ।
३. संरचनावादी कोणमा ‘अनुपस्थिति’ कविता ः यस खण्डमा श्रीशीशा राईको ‘अनुपस्थिति’ कवितालाई संरचनावादी समालोचनाका विभिन्न आधारहरूमध्ये मूलतः यसको बनोट वा संरचना, द्विचर विरोधका युग्मक र अर्थ, उध्र्वाधर पक्ष वा चयनात्मक धुरी, भाषिक प्रकार्य र सन्दर्भपरक प्रकार्यका आधारमा टेकेर विश्लेषण गरिएको छ ।
३.१. बनोट स्तरीय संरचना ः ‘अनुपस्थिति’ कविताको बनोट स्तरीय संरचना जम्मा पाँचवटा अनुच्छेदका घटकहरूको संयोजनबाट निर्मित छ । ती पाँचवटा अनुच्छेदमा तीनदेखि १५ वटासम्म पङ्क्ति स्तरीय लघु घटकहरूको बुनोट रहेको पाइएको छ ।
पङ्क्तिगत आयामका दृष्टिले हेर्दा ‘अनुपस्थिति’ कविताले मध्यम आकार पाएको देखिन्छ । यसको लयात्मक संरचना प्रगीतात्मक वर्तुलित ढाँचामा निर्मित देखिन्छ । यसमा कविको आत्मकेन्द्री भावात्मक प्रवाहको विस्तार भएको आभास पाइन्छ ।
कविताको प्रारम्भ अर्थात् पहिलो अनुच्छेदमा रहेका तीन हरफको उद्गारसँग आंशिकरूपमा मिल्दाजुल्दा पङ्क्तिहरूको संयोजन समग्रमा चार ठाउँमा भएको देखिन्छ । तेस्रो अनुच्छेदको सुरूमा, चौथो अनुच्छेदको सुरूमा र पाँचौ वा अन्तिम अनुच्छेदको सुरूमा रहेका ती पङ्क्तिपुञ्जहरूमा प्रगीतात्मक अन्तर्लयको निर्माण भएको छ । सुरूका तीन हरफलाई थप तीन ठाउँमा उस्तैउस्तै लाग्नेगरी पुनरावृत्ति दिएर कविले आफ्नै तरिकाले स्थायी हरफहरूको सिर्जना गर्न खोजेको पनि देखिन्छ । यसैले विश्लेष्य कविताको अन्तर्लयात्मक संरचनामा वर्तुलनको आंशिक प्रभाव परेको कुराको पुष्टि हुन्छ ।
३.२. द्विचर विरोधका युग्मक र अर्थ ः ‘अनुपस्थिति’ कवितामा शीर्षकले नै द्विचर विरोधका मूल युग्मकहरूको सङ्केत गरेको पाइन्छ । यसमा सम्बोधक र सम्बोधित पात्रहरू बीचको उपस्थिति र अनुपस्थितिलाई भौतिक र अभौतिक अवस्थामा मात्र होइन, बाह्य र आन्तरिक सत्यका रूपमा पनि अभिव्यक्त गरेको पाइन्छ । भाषाका तहमा कर्तास्तरीय र भाव र सन्दर्भका तहमा परिणामगत द्विचर विरोधको अवस्था पनि कवितामा रहेको पाइन्छ । ‘अनुपस्थिति’ कवितामा मूलतः अवस्थागत द्विचर विरोध रहेको छ । कवितामा सम्बोधक ‘म’ पात्र लुकेको अवस्थामा छ र ‘तिमी’ पात्रले उसलाई यत्रतत्र खोजिरहेको सङ्केत गरिएको छ । यसमा ‘लुक्नु र खोज्नु’ क्रियाका बीचमा अवस्थागत द्विचर विरोध रहेको देखिन्छ ।
कवितामा भौतिकरूपमा आफ्नो अस्तित्व बँचाउन खोज्ने र अर्काको अस्तित्व मेटाउन खोज्ने मानिस-मानिस बीचको द्विचर विरोधले अवस्थागत द्विचर विरोधको सिर्जना गरेको देखिन्छ । ‘म’ पात्र लुकिरहेको र ‘तिमी’ पात्रले उसलाई यत्रतत्र खोजिरहेको तथ्यको केन्द्रीयतामा कविताको सिर्जना भएको छ । कहिले यहाँ र कहिले उहाँ गरेर छलपूर्वक भए पनि सम्बोधक ‘म’ ले आफ्नो भौतिक अस्तित्व जोगाइरहेको छ । यसो गरेर ‘म’ ले आफ्नो अस्तित्वलाई सम्बोधित ‘तिमी’ ले मेटाउन नसक्ने आभास दिइरहेको छ । कवितामा अनुपस्थितिको प्रतीक ‘म’ पात्रको प्रत्यक्ष कथनलाई उपस्थितिको प्रतीक पनि मान्न सकिन्छ । यसबाट अवस्थागत द्विचर विरोधभित्र पनि अर्को तहको द्विचर विरोध रहेको तथ्य उद्घाटित भएको छ ।
कवितामा सत्य र भ्रमका बीचमा पनि द्विचर विरोध देखाउन खोजिएको छ । आफू लुकेको ठाउँ खोजिरहेको ‘तिमी’ पात्रलाई अल्मल्याएको आभास दिँदै सम्बोधकले म त यहाँ छु’ भन्दै विभिन्न ठाउँ र नाउँको सङ्केत गरेर कलात्मक भ्रमको सिर्जना गरिरहेको छ । लुकेको सत्य (सद्दाम हुसेन) लाई सङ्केत गर्ने पात्रका ठाउँमा द्विचर विरोध स्वरूप भ्रमको सिर्जना गरिएको छ र विभिन्न नामका पात्रहरूलाई उभ्याइएको छ । दोस्रो अनुच्छेदमा ‘तारा’ नामले पनि
‘म’ पात्रलाई सम्बोधन गरिएको छ भने चौथो अनुच्छेदमा ‘शुक्रा राई’ को हो ? भन्ने विद्यार्थीको प्रश्न र उसका बारेमा दिइएको जवाफपछि उत्पन्न परिवेशगत वर्णनले ‘म’ पात्रको जगत-सत्य सन्दर्भलाई नै कलात्मक तरिकाले भ्रामकजस्तो बनाएर सङ्केतित गर्न खोजेको पाइन्छ ।
कवितामा सत्य र भ्रममा मात्र होइन, सत्यभित्रै पनि आन्तरिक र बाह्य सत्यमा द्विचर विरोधको स्थिति रहेको पाइन्छ । अवस्थागत द्विचर विरोधको मूलबाटै बाह्यसत्य र आन्तरिक सत्यबीच रहेको द्विचर विरोधको स्थिति प्रकट भएको छ । ‘म’ पात्रले आफू लुकेर बाँचेको टिक्रितको दूलोभित्रको दुनियाँबाट खुला जमिन र आकाशमा विचरण गरिरहेको विरोधी पक्षलाई नजानिँदो पाराले चुनौती दिन खोजिरहेको देखिन्छ । कर्तास्तरीय द्विचर विरोधमा उभिएको ‘म’ सम्बोधकले सम्बोधित ‘तिमी’ पात्रलाई लक्ष्य गरेर प्रत्यक्ष कथनका माध्यमबाट बाह्य र आन्तरिक सत्यका बीचमा द्विचर विरोधको स्थिति ल्याएको छ । यसो गर्नमा मूलतः द्वन्द्वरत शक्तिशाली र पूर्वशक्तिशाली बीचको अवस्थागत द्विचर विरोधले विशेष काम गरेको देखिन्छ । लुकेर भए पनि आफ्नो अस्तित्व जोगाइरहेको ‘म’ पात्रले व्यक्त गरेको ‘सम्झनु, पर्खनु, जप्नु, साँच्नु, ठान्नु, खोज्नु, सोध्नु, सम्हाल्नु, रङ्ग्याउनु, समाउनु, जिस्क्याउनु, सल्काउनु, अर्थ्याउनु, सर्काउनु र पैल्याउनु’ क्रियापदहरूको कर्मगत केन्द्रीयतामा पटकपटक ‘मात्रै तिमीलाई’ वाक्यांश आएको छ । यसमा बाह्य सत्यको कोणबाट हारिसकेको पात्रले छलपूर्वक बाँचेर पनि आफू विजेताकै रूपमा रहेको भाव व्यक्त गरेर आन्तरिक सत्यका कोणबाट बाह्य सत्यमाथि विपर्यास भाव व्यक्त गरेको छ । दुई सत्य बीचको विरोधी भावले कवितालाई द्विचर विरोधको कोणबाट उत्कर्षतिर उन्मुख गराएको छ ।
आन्तरिक र बाह्य सत्यभित्र कविताका पात्रहरू पनि द्विचर विरोधमा उभिएका देखिन्छन् । कविताले आन्तरिक सत्यका कोणबाट हेर्दा ‘म’ पात्रलाई केन्द्रीय उपस्थिति दिएको छ भने ‘तिमी’ पात्रलाई परिधिमा मात्र ल्याएको छ । यसको बाह्य सत्यलाई विचार गर्ने हो भने यो कुरा ठीक विपर्यासको अवस्थामा पुगेको देखिन्छ । बाह्य सत्यमा ‘म’ पात्र लुकेको रूपमा परिधिमा पुगेको छ भने ‘तिमी’ पात्र लुकेको पात्रलाई खोज्नेक्रममा केन्द्रीयतामा रहेको छ । आन्तरिक सत्यमा ‘म’ पात्रको प्रभुत्व धनात्मक देखिए पनि बाह्य सत्यमा ‘तिमी’ पात्रको प्रभुत्व धनात्मक रहेको देखिन्छ । अवस्थागत द्विचर विरोधले भ्रम र सत्य मात्र होइन, आन्तरिक र बाह्य सत्यसहित प्रभुत्व र पराधीनतालाई पनि द्विचर विरोधमा देखाएको पाइन्छ । कवितामा ‘म’ पात्र उपस्थित भएर बोलेको देखिए पनि विभिन्न नामको आवरणमा लुकेको अवस्थामा रहनु ‘तिमी’ पात्र अनुपस्थित भए पनि उसको खोजीलाई नै केन्द्रीय कथ्य बनाइनुले भ्रम, सत्य, प्रभुत्व र पराधीनता सबै पक्षका पनि विभिन्न तहमा द्विचर विरोध रहेको कुराको पुष्टि गर्दछ ।
३.३. उध्र्वाधर र रैखिक आयामको संरचनात्मक संयोजनः ‘अनुपस्थिति’ कविताको उध्र्वाधर र रैखिक आयामको संरचनालाई हेर्दा यसमा भौतिक अवस्था र मानसिक अनुभूतिगत द्विचर विरोधसँगसँगै विन्यासक्रमिक संयोजनलाई पनि ध्यान दिएको देखिन्छ । पहिलो अनुच्छेदको उध्र्वाधर पक्षमा सम्झनु, पर्खनु र जप्नु क्रियाहरू आएका छन् भने तेस्रो हरफमा जप्नुसँगै साँच्नु क्रियालाई राखेर रैखिक पक्षमा पनि लय र भावको आयामलाई संयोजन गर्न खोजिएको छ । कविताका दोस्रो अनुच्छेदमा रहेका उक्त चार पङ्क्ति पुञ्जलाई हेर्ने हो भने ‘रातभरि’ को उध्र्वाधर विरोधमा एक हरफ बिराएर ‘दिनभरि’ आएको छ भने तेस्रो हरफमा रहेको ‘मृत्यु निद्रा सुत्दछु’ को उध्र्वाधर विरोधमा एक हरफ नै बिराएर ‘कैद र त्रास ब्युँझन्छु’ भन्ने वाक्य आएको छ । ‘मृत्यु निद्रा सुत्दछु’ भन्नु र ‘कैद र त्रास ब्युँझन्छु’ भन्नुको रैखिक आयाममा वर्णगत संयोजनको चेतना पनि सशक्त भएर समेटिएको देखिन्छ । त्, द्, र्, स्, छ् वर्णको द्विधारीय अर्थात् तेर्सो र ठाडो दुवै खालको उपस्थितिले कवितालाई लय र भावको कोणबाट सम्मिश्रति संरचना प्रदान गरेको छ । समग्रमा यी चार हरफलाई हेर्दा पनि यिनीहरूमा उध्र्वाधर र रैखिक समायोजनको बलियो उपस्थिति भेट्टाउन सकिन्छ । यस खालको प्रयोग कविताका अन्य अनुच्छेद र पङ्क्तिहरूमा पनि भेट्टाउन सकिन्छ ।
सम्बोधकले आफू रहेको ठाउँबाट देखिने कुराको जनाउ दिनेक्रममा प्रकट गरेका पङ्क्तिहरूको उध्र्वाधर पक्षमा द्विचर विरोध जस्ता देखिने क्रियापदको संयोजित विन्यास रहेको छ । आकाशभरि र सडकभरि, हेलिकोप्टरले र एम्बुलेन्सले, लासहरू र आयुहरू अनि उडाउँदछ र तन्काउँदछ जस्ता क्रियापदहरूको संयोजित विन्यासले यसको पुष्टि गर्दछ । यसैगरी रैखिक पक्षमा हेर्दा अघिल्लो हरफमा क्, स्, र्, ल्, ह् आदि विभिन्न उच्चारणगत विशेषता भएका वर्णको पुनरावृत्ति देखिन्छ भने पछिल्लो हरफमा पनि स्, क्, ल्, र् आदि वर्णको पुनरावृत्ति देखिन्छ । दुवै हरफमा केलाउने हो भने ड्, द्, ह् आदि वर्णको पुनरावृत्ति पनि पाइन्छ । यसले कविताको अन्तर्लय विधान उध्र्वाधर र रैखिक दुवै कोणबाट समृद्ध भएको पुष्टि गर्दछ ।
३.४. भाषिक प्रकार्य ः ‘अनुपस्थिति’ कवितामा भाषिक प्रकार्य वा अर्थ सम्प्रेषणको प्रक्रियालाई हेर्दा यसमा सम्बोधक र सम्बोधित दुवैको उल्लेखनीय भूमिका रहेको देखिन्छ । यसमा भावात्मक र क्रियात्मक दुवैखालका भाषिक प्रकार्यहरूको प्रयोग भएको भेट्न सकिन्छ । यसमा लुप्त सम्बोधक र निरन्तर क्रियाको पनि व्यवस्था रहेको पाइन्छ । ‘अनुपस्थिति’ कविता समग्रमा ‘तिमी’ र ‘म’ बीचको द्विचर विरोधको धरातलमा सिर्जित छ । यसमा सम्बोधक ‘म’ र सम्बोधित ‘तिमी’ बीच भावात्मक र क्रियात्मक दुवै खालको विरोधको संयोजन रहेको पाइन्छ । सम्बोधितलाई लक्ष्य गरेरै सम्बोधकले कविताको माध्यमबाट आफ्नो प्रत्यक्ष वा क्रिया सम्पन्न गरेको छ ।
तिम्रो चिन्ताजनक कौमार्यको
अन्तिम आवाज सुन्दछु एम्बुसको विष्फोटन जस्तो
तिम्रो उपस्थिति र एक मूठी बादल उस्तै-उस्तै लाग्दछ
प्रस्तुत पङ्क्तिपुञ्जमा रहेको वाक्क्रियामा सम्बोधकले सूचना मात्र सम्प्रेषण गरेको छैन, यसमा उसको मनको भाव पनि मिसिएको छ । यसमा उसले सम्बोधितलाई हियाइरहेको मनोभाव स्पष्ट अनुभव गर्न सकिन्छ । हारका कारण आफू दुलोभित्र लुक्नुपर्ने अवस्थामा रहेर पनि सम्बोधकले आफूलाई त्यो अवस्थामा पुर्याउने सम्बोधित विजेता शक्तिलाई चिन्ताजनक, तुच्छ र क्षणिक देखेको भाव उक्त पङ्क्तिपुञ्जमा अन्तर्निहित पाइन्छ । कविताको रागात्मक तथा प्रगीतात्मक भाषालाई अभिव्यक्तिको माध्यम बनाएको कवि निबद्ध सम्बोधक वा ‘म’ पात्र इराकका पूर्वराष्ट्रपति तथा लुकेको अवस्थाका सद्दाम हुसेन भएको कुरा कविताको अन्तिम दुई वाक्यबाट स्पष्ट खुल्दछ । त्यसमा सद्दाम हुसेनको गृह थलो ‘टिक्रित’ लाई एकल कोष्ठकमा समेत यसरी उल्लेख गरिएको छ ः
म त यहाँ छु-
जहाँ ‘टिक्रित’को एउटा दूलो बाँच्दछु ।
३.५. सन्दर्भपरक प्रकार्य
‘अनुपस्थिति’ कवितामा सन्दर्भपरक प्रकार्यले कवितालाई अर्थ प्रदान गर्नमा सबैभन्दा सशक्त भूमिका खेलेको पाइन्छ । यस कविताको पाठमा पश्च सन्दर्भको सशक्त भूमिका रहेको छ । सम्बोधकका रूपमा उपस्थित कवि निबद्ध पात्रले अन्त्यमा प्रकट गरेको “म त यहाँ छु- जहाँ ‘टिक्रित’को एउटा दुलो बाँच्दछु ।” भन्ने अभिव्यक्तिले समापक वाक्यको काम गरेको छ । यस समापक वाक्यले नै कवितामा रहेका अनुमान गर्न नसकिने खालका पूर्व पङ्क्तिहरूलाई विभिन्न कोणबाट अर्थ प्रदान गर्न सघाएको छ । कवितामा पश्च सन्दर्भित उक्त अभिव्यक्तिले पाठकीय चेतनालाई बाह्य जगतसित सम्पर्कित गरी इराक विरुद्धको अमेरिकी नेतृत्वमा छेडिएको युद्धको अन्तिम समयको तत्कालीन निश्चित सन्दर्भमा जबर्जस्त तरिकाले पुर्याउँछ । अन्तर्राष्ट्रिय तहको घटनामा आधारित सन्दर्भमा द्विचर विरोधको प्रतीक वा एक कित्ताको शक्तिकेन्द्रका रूपमा उभिन खोज्ने चिन्हित पात्र सद्दाम हुसेनले विरोधी शक्तिबाट ज्यान जोगाउनका लागि अन्तिम अवस्थामा जमिनमुनि केही समय लुकेको अवस्था नै प्रस्तुत अभिव्यक्तिको जगत्-सत्य सन्दर्भ वा खास बाह्य सन्दर्भ हो । यस सन्दर्भले कविताको आन्तरिक भावलाई अर्थ्याउनका लागि सवल भूमिका खेलेको छ ।
४. निष्कर्ष ः कवितामा रहेका विभिन्न धार र तहको द्विचर विरोध र सम्पेषण प्रक्रियाका भाषिक तत्वहरूको सम्बन्धको व्यवस्थित प्रयोगबाट ‘अनुपस्थिति’ कविता संरचनात्मक कोणबाट धेरै हदसम्म सवल रहेको निष्कर्ष निकाल्न सकिन्छ । द्विचर विरोधको युग्मकमा पहिलो घटकका रूपमा ‘म’ पात्रका अभिव्यक्तिले ‘तिमी’ पात्रलाई छक्काएको भावाभिव्यञ्जनाले लुकेको पात्रलाई नै अग्रभूमीकरण गरी केन्द्रीयतामा राखेको वा धनात्मकता प्रदान गरेको देखिन्छ । हारेर पनि जितेको, लुकेर पनि देखिएको र थाकेर पनि जागरुक रहेको विरोधीभावको अग्रभूमीकृत आभास यस कवितामा भेट्न सकिन्छ । अस्तित्वको लडाइँमा ‘अनुपस्थिति’ले पनि प्रतीकात्मकरूपमा ‘उपस्थिति’को काम गर्न सक्छ भन्ने सन्देशलाई यस कविताले आफ्नो लक्ष्य, अभीष्ट वा कर्मका रूपमा संवहन गरेको पाइन्छ ।
मधुपर्क २०६८ कार्तिक
