२०२६ सालमा नेर्पा-९, खोटाङमा जन्मेका नेपालीका उपप्राध्यापक धनप्रसाद सुवेदी ‘श्रमिक’ हाल पीएचडी शोधकार्यमा संलग्न छन् । उनी एकजना अथक र सक्रिय शोधकर्ता एवम् साहित्यसेवी हुन् । अनुसन्धान, लेखन, प्रकाशन र संस्थागत संलग्नताले यिनको उपनाम (श्रमिक) सार्थक भएको पुष्टि हुन्छ । उपन्यास, समालोचना र कविता एवम् गजल विधाका चारओटा पुस्तक प्रकाशित गरिसकेका धप्रसु श्रमिक मूलतः समालोचना र अनुसन्धान क्षेत्रका जागरूक र उत्साही वाङ्मयसेवी हुन् । २०५६ सालमा नेपाली उपन्यासमा आञ्चलिकता नामक समालोचनासङ्ग्रह प्रकाशनको दसवर्षपछि प्रकाशित धनप्रसाद सुवेदी ‘श्रमिक’ को खोजमूलक गहन पुस्तक हो -खोटाङ जिल्ला ः विगत र वर्तमान ।
शोध, खोज र अनुसन्धान स्वयम्मा अत्यन्तै कष्टप्रद, कठिन र अपजसे कार्य हो । कठोर परिश्रममा अधिक समय र खर्च लगानी गर्दा पनि यो कार्य सधैँ अपूर्ण नै रहन्छ र सबैको चित्त बुमm्न कहिल्यै सक्दैन । यस्तो जोखिमपूर्ण शोधमार्गमा यात्रा गर्न अदम्य साहस, धैर्यता, सहनशीलता र अथक परिश्रमको आवश्यकता पर्दछ ।
आफू जन्मेको विकट पहाडी जिल्ला खोटाङका विविध पक्षमा ऐतिहासिकदेखि वर्तमान- सम्मका धेरै कुराहरू समेटेर तयार गरिएको धनप्रसाद सुवेदी ‘ श्रमिक’ को पुस्तक खोटाङ जिल्ला ः विगत र वर्तमान मा १२ ओटा विषयगत अध्याय र २४ परिशिष्ट छन् । खोटाङ जिल्लाको परिचय, इ्तिहास, राजनीतिक पार्टीहरूको इतिहास, खोटाङमा जनयुद्ध, वर्गीय तथा पेसागत आन्दोलन, खोटाङ जिल्लाको साहित्य, कला-सङ्गीत तथा पत्रकारिताको इतिहास, सामाजिक साँस्कृतिक परम्परा, आर्थिक तथा शैक्षिक परम्परा, जिल्लाको विकास तथा जनजागरणमा संस्थागत प्रयत्न, खोटाङ जिल्लाका विविध पक्ष र खोटाङ जिल्लाका सहिदहरू जस्ता अध्यायहरूमा क्षेत्रगत नालीबेली (इतिवृतान्त) तथ्याङ्कसहित व्याख्या, विश्लेषण गरिएको पाइन्छ । अनुसन्धानात्मक प्रकृया र शोधको शैलीमा पुस्तक-लेखन भएकाले यसभित्रका कुराहरू मनोगत, काल्पनिक र तथ्यहीन लाग्दैनन् । सान्दर्भिक कुराहरूलाई सन्दर्भ-सामग्री र स्रोतबाट साभार गरी ट्वाक्क-ट्वाक्क मिलाएर राखेकाले प्रमाणिकतामा आशङ्का गर्ने ठाउँ छैन ।
भूमिकामा डा. विष्णु राईले खोटाङको डिक्सनरी, नगेन्द्रराज रेग्मीले खोज, लेखन र सम्पादनको त्रिवेणी, सुकुम शर्माले अनुसन्धानमूलक अभिलेख र भोगीराज चाम्लिङले खोटाङलाई चिनाउने फराकिलो प्रवेशद्धार भन्दै मुक्तकण्ठको प्रशंसामा यो पुस्तकको वास्तविक चित्रण गरेका छन् । पुस्तकको पछिल्लो पाटाका २४ ओटा परिशिष्टहरूमा जिल्ला, इलाका र गाविसस्तरका विविध तथ्य, तथ्याङ्क र जानकारीकाअतिरिक्त लेखकका पूर्वप्रकाशित फुटकर लेखहरू विभिन्न पत्रिकाहरूबाट साभार गरी राखिएको पाइन्छ ।
खोटाङ जिल्लाको भूगोल, इतिहास, समाज, साहित्य, कला-सङ्गीत, राजनीति, सँस्कृति, शिक्षा, प्रकृति आदिका वारेमा कालक्रमिक रुपले २०६६ सालसम्मको समग्र दस्तावेजका रुपमा आएको यो विशिष्ट ग्रन्थ धनप्रसाद सुवेदी ‘श्रमिक’ को अथक साधना, परिश्रम र धैर्यताको प्रतिफल हो । अत्यधिक पुस्तक, पत्रपत्रिका र सरोकारवाला व्यक्तिहरूलाई सन्दर्भ-सामग्री बनाएर अत्यन्तै मेहनतपूर्वक तयार गरिएको ४९६ पृष्ठको यो पुस्तक विविध दृष्टिमा खोटाङलाई हेर्ने जीवन्त दर्पण हो । यो बहुआयामिक दर्पणबाट खोटाङलाई चिन्न र हेर्न चाहने जिज्ञासु आँखाहरू (मनहरू) सन्तृप्त हुने कुरामा दुईमत छैन ।
खोटाङको पारदर्शी र सग्लो फोटो खिच्न सफल फोटोग्राफर भएका छन्-अन्वेषक धनप्रसाद सुवेदी ‘श्रमिक’ । उनको यो शव्दचित्र खोटाङ जिल्ला ः विगत र वर्तमान खोटाङको सन्दर्भमा जानकारीमूलक, ज्ञानवद्र्धक, पठनीय र सङ्ग्रहणीय भएको कुरा पुस्तक पल्टाएपछि पाठकलाई छर्लङ्ग हुने छ ।
