गर्छु अरु भन्दा फरक काम तिमी खुट्टा तान्दै गर
कमाउँछु यहाँ उचोँ नाम तिमी खुट्टा तान्दै गर
ब्रम्हलुट गरी भकारी नै रित्याउने दाउ गर्छौ
हुन्छु भोक मेट्ने मिठो माम तिमी खुट्टा तान्दै गर
दीपशिखा बन्ने मेरो सारा उष्णाहरू मार्न खोज्छौ
उदाउँछु बन्दै न्यानो घाम तिमी खुट्टा तान्दै गर
अवमुल्यन गर्छौ मेरो, मानौ कुनै तुच्छ बस्तु हुँ म
बन्नेछु तिर्नै नसक्ने दाम तिमी खुट्टा तान्दै गर
मुटु बनी धड्किनेछु बस्दै हर दिल दिमागमा
राज गर्छु अब खुलेआम तिमी खुट्टा तान्दै गर
बिना तामाङ
काठमाण्डौं
