साहित्यक जगतमा आफ्नो मातृभाषा तथा संस्कृतिको पहिचान एवं सम्बर्धनको निमित्त लामो समयदेखि निरन्तर रुपमा लागिपरेको साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०२ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६८ साल कार्तिक २६ गतेका दिन सम्पन्न भयो ।
डाजाङको नियमित कार्यक्रम भन्दा पृथक रुपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । डाजाङले यसपटकको कार्यक्रम तामाङ साहित्य उत्थानार्थ लागिपरेका अन्य चार संस्थाहरू भाषा तथा साहित्य विभाग नेपाल तामङ घेदुङ्, तामाङ सेमलेङ न्हान भक्तपूर, तामङ ग्योतथेन सेमल्हेङ सेङजाङ र नाङसाल क्लब नेपालसँग सहकार्य गरेर आयोजना गरेको थियो ।
कार्यक्रम बिशेषत: तामाङ साहित्यक जगतका प्रथम लेखक स्वर्गिय श्री बुद्धिमान मोक्तानको ११२ औं जन्मजयन्तीमा केन्द्रित थियो । ‘जिक्तेन ताम छ्योई’ नामक कृति नै तामाङ साहित्यको पहिलो कृति हो र यसैको आधारमा श्री बुद्धिमान मोक्तान नै पहिलो तामाङ लेखक हुन् भन्ने हालसम्मको विभिन्न स्रोत तथा सामाग्रीले पुष्टि गरेको छ ।
कार्यक्रमको संचालन संचारकर्मी एवं स्रष्टा आदरणिय श्री सन्चु ब्लोनजीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता तामाङ भाषा तथा साहित्य विभाग नेपाल तामाङ घेदुङको प्रमुख श्रीकुमार घिसिङले गर्नुभएको थियो भने अथितिगणहरूमा भाषाबिद् श्रीअमृत योञ्जन, श्रीअजितमान तामाङ, लेखक प्रताप बल, रेम्बोर्छे श्रीबुद्धछिरिङ मोक्तान, लोकगायक चन्द्रकुमार मोक्तान लगायतका महानुभावहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष बुद्ध योञ्जनले अथितिहरूलाई खादा अर्पण गर्नुभएको थियो । त्यसै गरी रेम्बोर्छे बुद्ध छिरिङ मोक्तानको बाहुलीबाट स्रष्टा श्रीबुद्धिमान मोक्तानको तस्वीरमा खादा अर्पण तथा दीप प्रज्वलित गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।
यसपटकको कार्यक्रममा नियमितको भन्दा बढी साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो । लगभग १५०को हाराहारीमा स्रष्टा एवं साहित्य अनुरागीहरूको उपस्थितिले क्रायक्रमको रौनकता बढेको थियो । कार्यक्रममा नाङसाल क्लब नेपालको उपाध्यक्ष लालीमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
स्रष्टा श्रीबुद्धिमान मोक्तानको प्रथम कृति ‘जिक्तेन ताम छ्योई’को बारेमा भाषाबिद् अजितमान तामाङ, अमृत योञ्जन, रेम्बोर्छे बुद्धछिरिङ मोक्तान, लगायतका अथितिहरूले चर्चापरिचर्चा गर्नुभएको थियो ।
कार्यक्रमको बीचबीचमा स्रष्टाहरूले साहित्यिक रचनाहरू वाचन गर्नुभै थप उल्लासमय वातावरण निर्माण गर्नुभएको थियो ।
यसै क्रममा गायक तथा साहित्यकार रोशन फ्युबाले तामाङ गीत गाउनुभै एकैछिनलाई हल तताउन सफल हुनुभएको थियो । अघिपछिकोभन्दा नितान्त फरक शैलीमा आयोजित यस क्रायक्रमका आयोजकहरूको सहकार्यता देख्दा आगामी दिनहरूमा तामाङ भाषा तथा साहित्यको उत्थानर्थ हातेमालो गर्दै एक्यबद्ध भएर अगाडि बढ्न सक्ने संकेत देखिएको छ जुन स्वागत योग्य एवं खुसीको कुरा हो ।
डाजाङसँग सहकार्य गरेर हिड्ने अभिलाषा रहेको जानकारी गराउँदै कार्यक्रमको अध्यक्ष कुमार घिसिङले उपस्थित महानुभावहरूलाई धन्यवाद दिदैँ कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
