हाम्रा हिन्दु धर्मग्रन्थहरूमा नारीलाई दिइएको सम्मानपूर्ण स्थानबारे आज पनि धेरै चर्चा हुने गर्दछ । ‘धर्मले नारीहरूमाथि शोषण गरेको छ’ भनेर कसैले आवाज उठाए भने ‘धर्मशास्त्रले नारीहरूलाई निकै उच्च सम्मान दिएको छ’ भन्दै पञ्चकन्याहरूको उदाहरण दिने गरिन्छ । पुराण र धर्मग्रन्थहरूले ‘पञ्चकन्या’ भनेर सम्मानित गरिएका नारीहरू यस्ता नारीहरू हुन् जो कुलीन घरानामा रहेर पनि यौन हिंसा र यौन शोषणमा परेका थिए । तत्कालीन समाजमा यौन हिंसामा परेका यी पञ्चकन्याहरूको हकमा मेरो आफ्नो विचार भने अलग किसिमको छ । म त यिनीहरूलाई ‘सम्मानूर्ण शोषणमा परेका नारीपात्र’ भनेर भन्ने गर्दछु । जसलाई समाजले आवश्यकता अनुसार उपयोग गरेको देखिन्छ ।
पौराणिक धार्मिक कथामा उल्लेखित यी नारी पात्रहरूको उदाहरण दिँदै आजको आम समाज मात्र होइन, महिला अधिकारको क्षेत्रमा काम गर्ने केही महिलाले पनि नारीहरूलाई दिइएको उच्च सम्मानबारे कुरा गर्ने गर्छन् । महाभारत कथाका नारी पात्र द्रौपदी र कुन्तीको उदाहरण दिँदै उनीहरू ‘धर्मग्रन्थहरूमा यौनलाई सहज रूपमा लिएको हुँदा आजको समाजमा पनि यौन र यौनिकतालाई साँघुरो घेराभित्र राखिनु नहुने’ तर्क दिन्छन् तर उनीहरूले कुन्ती र द्रौपदीहरूको यौन जीवनको अर्को पाटो भने देख्न सकेको पाइँदैन ।
द्रौपदी, कुन्ती, तारा, मन्दोदरी र अहिल्यालाई धर्मशास्त्रले पञ्चकन्याको उपाधि दिएको छ । पञ्चकन्या भनिएका यी नारीहरू एकपतिमा मात्र सीमित रहेको पाइँदैन । बहुपतिबाट सन्तान जन्माएका वा भनौं हाम्रो समाजको भाषामा ‘बिटुलिएका’ यी महिलाहरू सबै नै कुलीन परिवारका भएको र समाज र परिवारबाट नै बाध्य पारिएका यी महिलाहरूलाई पुनः समाजकै आवश्यकता र कुलको इज्जतका लागि ‘कन्या’ को उपाधि दिइएको हुन सक्छ । तिनै पञ्चकन्यामध्येका दुई नारी पात्रहरू-द्रौपदी र कुन्तीको यौन जीवनसमेत केही प्रमुख नारी पात्रहरूको यौन जीवनबारे यस लेखमा खास चर्चा गर्ने प्रयास गरिएको छ ।
प्राचीन मातृ सत्तात्मक भनिएको समाजमा यौनलाई व्यवस्थित र निर्देशित गर्ने काम नारीहरूबाटै हुने गर्दथ्यो भन्ने कुरा केही पौराणिक र वैदिक ग्रन्थहरूको अध्ययनबाट जानकारी हुन्छ तर जब समाज विकासको क्रममा मध्य युगमा प्रवेशसँगै निजी सम्पत्ति र पुँजीवादतर्फ समाज अगाडि बढ्दै आयो । यसपछि नारीका अधिकारहरूमा कटौती हुँदै गए र नारीहरू पनि निजी सम्पत्ति सरह पुरुषको अधीनमा जान थाले । अब यौन र यौनिकतालाई परिभाषा गर्ने अधिकार पुरुषको जिम्मामा पुग्यो ।
मध्ययुगको सुरूताकाको समाजमा मातृसत्ताको बाँकी रहेको अवशेषको रूपमा देख्न सकिन्छ- महाभारतकालीन नारी पात्रहरू सत्यवती, कुन्ती र द्रौपदी । मातृ सत्ताको यथासक्य प्रयोग गर्न सफल पात्र सत्यवतीको यौन जीवनलाई कुन्ती र द्रौपदीसँग तुलना गर्न अलि नमिल्ने हुन्छ । नारी शोषणको बीऊ रोप्ने र मलजल गर्ने काम अत्यन्तै चलाखीपूर्ण रूपमा भएको मध्ययुगमा समाजले यौनलाई समाजको आवश्यकता र स्वार्थ अनुसार सहज रूपमा स्वीकार र अस्वीकार दुवै गरेको पाइन्छ । अतः कुन्ती र द्रौपदीका यौन सम्बन्धलाई व्यक्तिका चाहनाभन्दा पनि समाजका आवश्यकताको रूपमा लिन सकिन्छ ।
यहाँ समाजको कुरा गर्दा यो पनि उल्लेख गर्नु आवश्यक देखिन्छ कि- प्रशिद्ध समाजशास्त्री इमाइल दुर्खीमले भनेका छन्- व्यक्तिका आवश्यकता र चाहनाभन्दा समाजका आवश्यकता र चाहना महत्त्वपूर्ण हुन्छन् । उनले विवाह, यौन र परिवारलाई सामाजिक एकताका लागि अपरिहार्य पक्षको रूपमा व्याख्या गरेका छन् । यौनलाई व्यक्तिगत सन्तुष्टिसँग जोड्न चाहदैनन् उनी । दुर्खीमको मान्यतालाई लिएर हेर्दा कुन्ती र द्रौपदीको यौन जीवनलाई केवल सामाजिक एकताका लागि भएका सम्झौताको रूपमा लिन सकिन्छ ।
तर प्रसिद्ध दार्शनिक कार्ल मार्क्सले विवाहलाई यौटा शोषणको माध्यमको रूपमा व्याख्या गरेका छन् । उनले पुँजीवादसँगै महिलालाई पुरुषले आफ्नो आवश्यकता र स्वार्थ अनुरूप निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै र शोषण गर्दै आएको कुरा बताएका छन् । दुर्खीम वा मार्क्स दुवै आ-आफ्नो ठाउँमा सही हुन सक्छन् तर यहाँ बहसको विषय धर्मग्रन्थ र त्यसभित्रका यौनका कुरा हुन् ।
व्यक्तिगत रूपमा हेर्ने हो भने समाजले उनीहरूलाई कसरी शोषण गरेको छ भन्ने कुरा खोतल्नु नै पर्छ । तत्कालीन समाजले उनीहरूको यौन जीवनलाई केवल स्वार्थको रूपमा प्रयोग गरेको छ । यौन सहजतालाई व्यक्तिको चाहनासँग जोडिएको छैन । यौनलाई वंश परम्परा धान्ने माध्यम र नारीलाई त्यसको पूरकको रूपमा लिइएको छ । आफूमा निहीत मातृ सत्ताको पूर्ण उपयोग गर्दै सत्यवतीले आफ्ना सन्तानहीन विधवा बुहारीलाई वंश धान्न र राजगद्दीको उत्तराधिकारीको लागि जबरजस्ती आफूले विवाह पूर्व परासर ऋषिबाट जन्माएको छोरा व्याससँग यौन सम्बन्ध राख्न लगाउँछिन् । जुन सम्बन्धबाट धृतराष्ट्र र पाण्डुको जन्म भयो । यी दुवै सन्तान खोटी जन्मने भविष्यवाणी व्यासले गरेकाले अर्कोपटक फेरि तिनै अत्यन्त डरलाग्दो र कुरूप व्याससँग यौन सम्बन्धका लागि सत्यवतीले बुहारीहरूलाई पठाउन खोज्दा उनीहरूले सल्लाह गरी दासीलाई पठाए र उक्त दासीबाट बिदुरको जन्म भयो । जसलाई समाजले सहजै स्वीकार्यो । यहाँ यौनलाई समाजले सहज रूपमा लिनुको अर्थ ती जवान विधवा बुहारीको यौन चाहनासँग सम्बन्धित थिएन ।
यसरी धानिएको हस्तिनापुरको राजगद्दीमा फेरि वंशको समस्या आयो पाण्डुको पालामा । नपुंसक पाण्डुलाई आफ्नो वंश रोकिएको चिन्ता थियो र नै त कुन्तीको इच्छा विपरीत जबर्जस्ती विभिन्न पुरुषहरूसँग यौन सम्बन्धका लागि बाध्य गरिएको थियो । उनका सन्तान- पाँच पाण्डवलाई उनीहरूका असली बाबुको नामबाट चिनाइनु जरूरी थियो किनकि समाज जान्दथ्यो- पाण्डु नपुंसक थिए । यसरी परिवार र समाजको आवश्यकता अनुसार बनाइएको ‘नियोगप्रथा’ को रूपमा जबर्जस्ती परपुरुषसँग यौन सम्बन्ध राख्न लगाउनुलाई यौन उदारता मान्न सकिएला र ?
नत्र कर्णले किन असली बाबुको नाम पाउन सकेनन् र जीवनभर ‘सूतपुत्र’ को नामले परिचित र अपमानित बन्नु पर्यो ? किन कुन्तीले समाजसामु सूर्य र आफ्नो सम्बन्धबाट कर्णको जन्म भएको कुरा समाजसामु भन्न सकिन् ? त्यो समाजले नारीलाई यौन स्वतन्त्रता दिएको भए त गुपचुप जन्माएर छोरालाई नदीमा बगाउनु नै पर्ने थिएन नि !
द्रौपदीकै कुरा गरौं । आफूले रोजेको पुरुषसँग बिहे गरे पनि पाँचै भाइलाई यौन सन्तुष्टि दिन बाध्य भएकी द्रौपदी यौटी त्यस्ती नारी पात्र हुन् जो कुलीन घरानाभित्रै यौन शोषणमा परेर जीवन बिताउन बाध्य भइन् भने पटकपटक यौन हिंसाबाट गुज्रिनु पर्यो । समाजले त उनलाई इज्जत दिनै पर्थ्यो किनकि उनी राजघरानाकी कुलबधू जो थिइन् तर खै कहाँ थियो उनको व्यक्तिगत जीवन ? यौटा सुन्दर वस्तु थिइन् उनी जो सबै भाइको सामूहिक सन्तुष्टिका लागि प्रयोग भइन् तर उनका पाँचै पतिहरू भने उनीसँग मात्र सन्तुष्ट हुन सकेनन् र द्रौपदीबाहेक सबैले आ-आफ्ना अलगअलग पत्नीहरू राखे । सबैभन्दा बढी त अर्जुनले नै बिहे गरे, जसले द्रौपदीलाई स्वयंवर गरेका थिए । अतः द्रौपदीको यौन जीवन शोषणको चरम नमुनाको रूपमा लिन सकिन्छ । धर्मग्रन्थमा यौनलाई सहज रूपमा लिएको थियो वा स्वार्थको रूपमा भन्ने सम्बन्धमा अर्काे उदाहरण हुन् गौतम ऋषिकी पत्नी अहिल्या । छलकपट गर्दै ऋषि भेषमा आएको इन्द्रद्वारा बलात्कृत अहिल्यालाई समाजले इज्जत दिएन र उनी मिल्क्याइन पुगिन् ढुङ्गा जस्तै वर्षौंसम्म । बहिस्कृत भइन् समाजबाट । अन्त्यमा यौटा बलात्कारी पुरुषका कारण बहिस्कृत बन्न पुगेकी अहिल्या वर्षौंपछि अर्को पुरुष (राम)-जसले आफ्नी गर्भवती पत्नीलाई सामाजिक प्रतिष्ठा र यौनकै कारण मध्यरातमा जङ्गलमा लगेर छोड्न लगाएको थियो-ले पाउ स्पर्स गरेपछि शुद्ध भएको कुरालाई कसरी यौन उदारताको रूपमा लिने ? तत्कालीन समाजमा यौनलाई सहज रूपमा लिएको भए गौतमले अहिल्यालाई सहज रूपमा स्वीकार्नु पर्थ्यो । रामले सीतालाई जङ्गल नधपाउनु पर्थ्यो । गुरु वृहस्पतिले चन्द्रमाद्वारा बलात्कृत पत्नीलाई सहजै स्वीकार्नु पर्थ्यो तर हुन सकेन यस्तो । विष्णुबाट बलात्कृत जालन्धर पत्नी बृन्दाको कुरा उस्तै छ । सुन्दर देखेपछि अर्काकी पत्नी पनि नभन्ने त्यो धार्मिक युगको यौनको कुरा के गर्नु खै ! मन्दोदरीको कुरा पनि उस्तै छ । बिहे अगाडि नै उनी एक कन्याकी आमा बनिसकेको कुरा पनि कतैकतै उल्लेख गरिएको पाइन्छ भने रावणका भनिएका मन्दोदरीले जन्माएका छोराहरू स्वयं रावणका थिएनन् भनिन्छ । तत्कालीन समाजमा वीर र पुरुषार्थी पुत्र जन्माउन ठूला ठूला महषिर्हरूसमक्ष आफ्ना पत्नी तथा पुत्रीलाई पठाउने गरिन्थ्यो । स्वयं रावणादी दाजुभाइलाई जन्माउन रावणकी आमालाई उनका बाबुले एक महान् ऋषिसँग सम्बन्ध राख्न स्वयं लिएर गएको कुरा पुराणहरूमा पाइन्छ । वा ! धर्मग्रन्थ ! कसरी उपयोग गरिएको छ नारी देहलाई !
यौनलाई त्यति सजिलै लिनेले किन पुरुष र नारीका चाहनामा यत्रो विभेद गर्नु ! धर्मग्रन्थमा यौनलाई पुरुषको मनोरञ्जन बाहेक अरू कुरालाई त्यति महत्त्व कहाँ दिइएको छ र ? नारीलाई त केवल उपयोग गरिएको छ । मात्र ती धर्मग्रन्थमा साहित्यका मीठा शिल्पीले यसलाई ढाकछोप गर्ने प्रयास भएको छ । आज पनि हामी प्रत्येक मन्दिरका टुँडालहरूमा देख्न सक्छौ, कसरी नारी देहलाई मनोरञ्जनको साधन बनाइएको छ । यौनलाई एकपक्षयी बनाइएकै छ । समाज आज पनि उस्तै छ, सोचाइ उस्तै छ – नारी भनेका मनोरञ्जनका साधन मात्र हुन् । यो विभेद तबसम्म रहिरहने छ जबसम्म नारी स्वयं आफूलाई सुन्दर वस्तुको रूपमा हेर्न छोड्ने छैनन्, आफ्नो असली महत्त्व बुझ्न सक्ने छैनन् ।
मधुपर्क २०६८ मंसीर
