निलो आकाशमा टांगिएको त्यो चर्को घामलाई छल्दै प्रकृतिले एक झर्को वर्षाद गरिहाल्यो । अनि पो देख्न पाईयो त प्रकृतिको त्यो अनुपम दृश्य । भर्खरै जन्मिएको सानो बालक झै लाग्ने कोमल घामले राहत दिलाएको थियो गर्मीको प्रसबलाई । चिसो चिसो हावा पनि बयली खेल्दै कहिले त्यो अग्लो बडेमानको टावरलाई चुम्दथ्यो त कहिले बैशंमै ईज्जत गुमाएका तरुणी जस्तै देखिने खजुरका बिरक्त लाग्दा रुखका हाँङ्गाहरू हल्लाउन पुग्थ्यो । छुदाँ पनि दाग लाग्ला झै लाग्ने ती टलक्क टल्किएका नागबेली सडक-राउण्ड बोट वारी-परि मौलाएका दुबोहरू र फूलका बेर्नाहरू पनि आनन्दको सास फेर्दै गरे झैं देखिन्थे ।
म यी दृश्यहरू नियाल्दै कारमा रफ्तारका साथ मनभरि कुरा खेलाउदै आफ्नो गन्तब्य तिर लम्किंदैथें । सधै झै ल्यापटप ब्यागबाट डायरी निकालेर केही कोर्ने विचारले नघोत्लिएको पनि हैन यद्यपि हातमा भएको मोबाईलमा आफ्नो फेसबुक स्टाटस अपडेट र साथीभाईको गतिबिधि बुझ्ने क्रम भने यथावत नै थियो । मैले यात्राको गति लिएको ठाउँबाट करिब २२ किलोमिटरको दुरीमा पुगेर कार रोकियो । केरला (इन्डियन) मुलका ड्राइभरले –“भाइ साप नेसनल आगए’” को आवाज सँगै म झस्किएँ । २० कतारी रियल नै चाहिन्छ भन्ने उनको मागलाई मैले शिरोपर गरें र” ओके थ्यांङ्कस “भन्दै थुपुक्क त्यति नै रकम उनको हातमा थमाईदिई लागें गन्तव्य भेट्न । मेरो यात्राले अझै गन्तव्य भेटिनसकेकोले अझै अघि केही दुरी पर तिर लागें । यात्राको क्रममा केही हदसम्म भएपनि सहुलियत पाउन सार्बजनिक (यातायात) बस कार्ड बनाउनु उपयुक्त भएता पनि सधै यात्रा गर्न नपर्ने र कहिलेकाँही गर्नै परे ट्याक्सीकै सहारा लिने अभ्यास म मा विद्यमान छ ।
२०११-११-११ भर्खरै मुस्लिम समुदायको बकर ईदको बिदाले गर्दा कतारका मुख्य-मुख्य शहरमा म जस्तै मजदुरहरूको चहल पहल नै बढी देखिन्थ्यो । हतार हतार ट्याक्सीबाट ओर्ले गन्तव्यमा पुगे पछि । ओर्ले पछि स्वत मेरा औंलाहरू कान्तिपुरका पत्रकार मेरो मित्र राजेश्वरजी लाई कल गर्न मोबाईलामा नाच्न थालिसकेछ । थाहा पाएँ उहाँ नजिकै आइसक्नुभएछ । अनि लाग्यौ उहाँ भए तिर । अनेसासको प्रमुख हेमन्त सर बाहेक अरु सबै प्रेम लामाजी, सागर अजनबीजी, राजेश्वर ढकाल जी चर्चित जी र तिर्थ संगम ज्यु केही समय अघि मात्रै नेपालबाट हटाईएको राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाँटिएर उपस्थित हुनुभएको देख्दा त कता कता डाहा पनि लाग्यो । यो डाहालाई थाम्न नसकेर प्याच्चै भनिहालें -“मलाई त डाहा पो लाग्यो ।” अनि छिनमै गर्व पनि लाग्यो । गर्व यस अर्थमा लाग्यो कि हाम्रा राजनेताहरूले बुझ्न नसकेको नेपाली मनलाई मेरो मित्रहरूले गर्वकासाथ आफूमा समाहित गरेको प्रत्यक्ष देख्दै थिएँ । यसरी दुरदेशमा बसेर पनि आफ्नो भेषभुषा र संस्कृतिलाई माया गरेको देखेर उहाँहरूप्रति म नतमस्तक हुन पुगें । फेरि मन उडेर नेपाल पुग्यो । हाम्रो राजनेताहरूले पनि यो लगाव, यो आस्था, यो माया र सामिप्यता आफ्नो कला, धर्म, संस्कृतिलाई गरिदिएको भए आजको यो अराजक अवस्था सिर्जित हुन्नथ्यो होला । यसो सोचिरहदाँ आफूलाई तत्कालै अर्को नयाँ माहोलमा समायोजन गर्नुपर्छ भन्ने कुराले् भने कोट्याउन छोड्न सकेन । वास्तबै त्यस दिन हामी एउटा महान व्यक्ति अथवा भनौं महाकबिको १०२ औं जन्मजयन्ती भव्य रुपमा मनाउँदै थियौं । जसको लागि केही समय अघिदेखि हामी अनवरत रुपमा लागि परेका थियौं । त्यसैको फलस्वरुप हामीले उक्त कार्यक्रम त्यसदिन दिनको ठिक १२:३० मा सुरु हुनेवाला थियो ।
कार्यक्रम शुरु हुन अझै एकडेढ घण्टा बाँकी रहेकोले अन्तराष्ट्रिय राजधानीका पत्रकार प्रेम लामाजीले नजिकै एउटा श्रदान्जली कार्यक्रम हुनगैरहेको जानकारी गराउनुभयो साथै त्यहाँ जानको लागि अनुरोध गर्नुभो । समय अझै बाँकी रहेकोली मैले स्वीकारोक्ती जनाएँ । साथीहरूलाई एकैछिनमा उपस्थित हुन्छु भनेर उहाँसँगै टप फोरम रेस्टुरेन्ट तर्फ लागें । हामी त्यहाँ पुग्दा केही भद्रभलादमीको उपस्थिति भैसकेको पाएँ । एकछिनमा सबै जम्मा हुनुभयो । मलिन मुहारमा उपस्थित सबैजनाले मृतक आत्माको चिर शान्तिको लागि केहीसमय मौन धारण गर्नुभयो । कसको मृतशोकसभा हो भन्ने जान्न मन लाग्यो र सोधपुछ गरिहालें । सोधपुछमा थाहा पाएँ केही समय अघि मात्रै सवारी दुर्घटनामा परेर २ जना साथीको मृत्यु भएको रहेछ भने १ जन घाईते अवस्थामै हुनुहुदों रहेछ । मृत्यु हुनेमा १ जना माओवादीको सकृय कार्यकर्ता हुनुहुदोँ रहेछ । तसर्थ माओवादी समर्थक संगठनले नै उक्त शोक कार्यक्रम राखेको रहेछ । जो जे जस्तो संगठनको भएता पनि म त्यतिबेला एउटा मानबियताको हिसाबले त्याहाँ उपस्थित थिएँ । अनि एकछिन पछी श्रदान्जली सभा बाट हामी हामीले आयोजना गरेका : कार्यक्रमस्थल ढाका रेस्टुराँ फर्कियौं । हामी फर्किदा आदरणीय डक्टर गोबिन्दराज भट्टराईको गरिमाय उपस्थिति कार्यक्रमले पाईसकेको रहेछ । त्यस्तै विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार एबं म जस्तै मजदुर साहित्यिक मन हरूको बाक्लो जमघट त्याहाँ भैसकेको रहेछ । यसो हेरिरहदाँ त कुनै ठुलै मेलाको उद्घाटन हुन लागे जस्तै लाग्यो । मेलाको रौनकता आफैमा रङ्गिन थियो । कता कता हराउन थालेको आभास गरें तर त्यसरी हराउन कहाँ पाउँथे र आयोजक पदाधिकारी भएपछि । त्यसपछि लागें साथीहरूसँगै कार्यक्रमलाई अगाडी बढाउन । हामी मध्य कसैले ब्याज वितरण गर्न थाल्यौं त कसैले बस्ने कुर्सीहरू मिलाउन त कसै पाहुनाहरूको लागि खानेपानीको व्यवस्था गर्न थाल्यौं ।
यति लामो समय विदेशीभूमिमा रहदाँ अहिलेसम्मको मेरो भूमिका भनेको केवल अरुले आयोजना गरेको कार्यक्रममा उपस्थित भैइ रचनावाचन गर्ने मात्रै हुन्थ्यो तर त्यस दिन आफै स्वयं आयोजकको भूमिका निर्वाह गरिरहदाँ अनौठो लागिरर्ह्यो । त्यसमाथि आफुलाई मनपर्ने विषयमा समबन्धित भएर कार्यक्रममा तल्लिन हुन पाउँदा एककिसिमको आनन्द आईरहेको थियो । उसो त यसैपटक मात्र म अनेसास कतार च्यापटरको सदस्य बन्न पाउँदाको खुसी पनि म भित्र समेटिएको थियो । अधिवेशन लगत्तै अग्रजहरूबाट केही सिकाई हुने अभिलाषामा हामीले डक्टर गोबिन्दराज भट्टराईको प्रमुख आथित्यमा १०२ औं लक्ष्मी जयन्ती मनाउने निर्णयमा पुगेकाथियौं । सोहि अनुरुप नै उक्त दिन कार्यक्रम सम्पन्न हुन गैरहेको थियो । मन फुरुङ्ग परिरहेको थियो । कार्यक्रमलाई यो हदसम्म बनाउनुपर्छ भन्ने ध्ययले नै हामीले लक्ष्मी जयन्ती मूलसमारोह समिति गठन गरेका थियौं । जसमा प्रचारप्रसार विभागमा कान्तिपुरकर्मी मित्र राजेश्वर ढकाल, अन्तराष्ट्रिय राजधानी पत्रिकाका मित्र प्रेम लामा र म स्वयं थिएँ ।
कार्यक्रमको रौनकता बढ्दो थियो । साहित्यक कार्यक्रमको मुख्य रौनक भनेकै स्रष्टाहरूको रचना वाचनमा रहने हुनाले क्रमबद्दरुपमा स्रष्टाहरूले आ आफ्ना रचना वाचन गर्न थाल्नुभयो भने डक्टर भट्टराई ज्यू बडो गम्भिर्तापुर्वक रचना वाचन श्रवण गर्दैहुनुहुन्थ्यो । बेला बेलामा टाउको पनि हल्लाउँदैहुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा उहाँले करिब करिब ४५ मिनेट जति आफ्ना भनाईहरू बडो चाखलाग्दोगरि हामीबिच राख्नुभयो । उहाँ प्रफुल्लित मुद्रामा देखिनुहुन्थ्यो । उहाँका अनुसार दुरदेशमा यसरी नेपाली साहित्यलाई माया गरेर आयोजना गरिएको कार्यक्रममा देखाईएको माया, सद् भाव, आस्थाले देश विदेश सबैतिर साहित्यको लहर फिजिंदै गएको आभास दिलाएको छ । उहाँको आतिथ्यमा कतार बाहेक १७ अन्य देशमा यस्ता साहित्यिक कार्यक्रम संचालन भैसकेको पनि उहाँकै मुखारबिन्दुबाट हामीले सुन्न पायौं । तर कतारको त्यस कार्यक्रममा उपस्थित साहित्यिक मनहरू जतिको जुजारुकता भने अन्त नपाएको पनि व्यक्त गर्नुभयो जुन हामी जस्तोको लागि प्रेरणाको कुरा थियो । यस बेला मलाई एउटा भनाई यहाँ जोड्न मन लाग्यो ।
“हिरा चट्टानमा हुन्छ ।” साँच्चै नै यो उजाड मरुभूमिमा नेपाली साहित्यिक फूलहरू फुल्दैछन्, झाँङ्गिदैछन् । त्यसको ज्वलन्त उदारहण यसै वर्ष सम्पन्न विश्व अडियो कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल व्यक्ति अरु कोही नभई हाम्रै परम मित्र श्री चर्चित ढुङ्गेल हुन्हुन्छ । उहाँप्रति हामी गर्व गर्छौं । यसबाट पनि प्रष्ट हुन्छ कि दुरदेशमा रहेर पनि हामी कविता, कथा, गजलरुपी बासनायुक्त फूल फुलाउँदैछौ, गोड्मेल गर्दैछौं अनि मलजलगर्दै कडा परिश्रमका रगत र पसिनाले सिचिंत गर्दैछौ साहित्यलाई । अनि भन्न मन लाग्छ सलाम ती साहित्यक मनहरूलाई, सलाम ती साहित्यक अनुरागीहरूलाई ।
६ घण्टा लामो उक्त कार्यक्रम हामीले पुर्बी नेपालको एक एफ एम “संदेश” बाट प्रत्यक्ष प्रसारण गरेका थियौं जुन साहित्य इतिहासमा पहिलो पटक हो जस्तो लाग्छ मलाई यसरी परदेश बाट घर देशमा प्रत्यक्ष प्रसारण गरेको । हलको चारैतिरको स्पिकर स्रष्टाहरूको रचना वाचनले गुञ्जयमान हुदैंथियो । पत्रकार साथीलगायत अन्य साहित्यिक मनहरू समुद्रका माछा नाचे झै पल्याक्क, पिल्लक्क गर्दै तस्वीर लिनमा व्यस्त हुनुहुन्थ्यो । म भने सानैमा चाईनिज क्यामराले फोटो लिने रहर पुर्याईसकेकोले होला एउटा कुनामा आफूलाई लुकाउँदैथिएँ । यद्यपि साथीहरूको क्यामराबाट भने बच्न सकिनछु भन्ने थाहा पाएँ जब फेसबुकका भित्तामा आफूलाई देखें । कार्यक्रमको अन्त्यमा प्राय सबैले डक्टर भट्टराईसँग बसेर सामुहिक तस्वीर खिच्ने रहर पुरा गरेरै छाड्नुभयो । यसैमा म पनि परेछु । कार्यक्रमको समापन भव्यताका साथ भएकोले हाम्रो कार्यक्रम ६ घण्टा लम्बिएको थियो । घामले डाँडा काटेर आकाशले जूनतारा फुलाउने तरखर गर्न थालेको थियो । हाम्रो भेट हुने साझा चौतारी एउटै भएता भने छुट्ट्टिएर फेरि छरिन बाध्य थियौं हामी । फलत सबै साथीहरू बिस्तारै एक अर्काबाट ओझेल हुदैंहुनुहुन्थ्यो । आत्मीय मित्र श्याम कुमार घ्लान पनि मसँग बिदा मागेर लम्कनुभयो आफ्नो गन्तव्यतिर । मलाई पनि
हतार नभएको त हैन तर आयोजकको नाताले त्यसरी कार्यक्रमस्थललाई असरल्ल पारेर जान सकिन । त्यसैले लागे काम फत्ते गर्नतिर । हामी मध्य कसैले तुल झिक्यौं, कसैले किताब जम्मा गर्यौं । सबै काम सकिएपछि सबैजना एकैठाउँमा बसेर चिया पिएर मात्रै छुटिने सल्लाह भयो । बाहिर चिसो स्याँठ चल्दैथियो । समयले नेटो काटिसकेको अनुमान गर्दै घडि हेरें । झण्डै ७ बज्न लागिसकेछ । म अत्यासिएँ । कारण ९ बजेको रात्रीकालिन ड्युटी थियो । मेरो रङ्ग उडेको अनुहार हेरेर मित्र जगतराम बर्देवाजीले “किन आत्तिनुभको? म पुर्याईदिन्छु । पहिले गाडीपार्किङ्ग गरौं अनि चिया पिएर लागौला गन्तव्यतिर ।”भन्नुभयो । म नि के खोज्छस कानो आँखा भने जस्तै दङ्ग परें र सहमतीमा लागें जगत जीसँगै पार्किङ्ग गर्न । तर त्यो बगरको ढुङ्गा झै मोटरगाडी भएको ठाउँमा लगभग ३० मिनेट खोजि गर्दा पनि भेटाउना सकिएन पार्किङ्गको लागि उपयुक्त स्थल । खुब दु:ख गर्नुभो त्यसदिन उहाँले मेरो लागि । उहाँलाइ यसको लागि धन्यवाद नदिई रहन सक्दिन । ८ बजेको थियो सायद मलाई उहाँले बस स्टासनमा पुर्याउनु हुँदा । म त्यहीँबाट छुट्टिए । दिनभरिको रमाईलो पललाई मनसपटलमा कैद गर्दै म आईपुगे आफ्नो कुटिमा । कता कता नमिठो पनि लाग्दैथियो । सायद प्रमुख अथिति र अन्य मित्रहरूसँग राम्रोसँग बिदाई हुन नपाउँदाको पीडा थियो । प्राय एकान्त मन पराउने भएकोले होला त्यसदिनको स्वर सराबा रातिसम्म मेरो कानमा गुञ्जयमान थियो ।
टाउको पनि भारी हुदैँथियो । ८:३० भैसकेकोले हतार हतार खाना बनाएर टिफिनमा हालेर लागें नूनको सोझो गर्न रातिकालिन ड्युटीमा । सायद अरु साथीहरूको झै शुक्रवार मेरो पनि बिदा भैदिएको भए म पनि आराम गर्थें होला । तर आफ्नो छुटी नमिल्ने हुँदा रातैभरि जाग्राम बसी लक्ष्मी जयन्तीको नाममा बिर्सी दिएँ टाउको दुखाई ।
समाप्त ।
राजेश रुम्बा लामा “अतृप्त”
२३-११-२०११
