शुष्क मनका धाँजाहरूमा
भरिइरहेछन् –
आवर्तित समय विम्वहरू ।
अतीतका
कुइनेटाहरूमा अलपत्र
स्मृतिपटको सग्लो अक्षर
जिन्दगी उपहास लेखिरहेछ ।
समय नदीको
किनारामा
देउता भएर वाँच्न विवश
कठै ! ती ढुंगाहरू
मान्छेहरू झैं कठोर छैनन् ।
जीवन सापेक्ष
रसायन –
मिठो स्पर्श घुट्का चाहन्छन् :
ढुंगेनी मनका प्यासहरू ।
आवर्तित
समय विम्वहरू
अनि
युद्धका दुन्दुभी आह्वानहरू
छेडिइरहेछन् –
बस्तिहरूमा ।
जीवन अनुभूत
ढुंगाका छातीमा डोजरहरू’
गुड़ीरहेछन् ।
देउताको मृत्युमा
विजय उत्सव
ध्वजा फहराईरहेछ –
रक्ताम्य जिन्दगी ।
यद्यपि
म देखिरहेछु:
ढुंगाहरूमा उम्रिएका
मनहरूले उकालो चढ्दै गर्दा
शीतको थोपा जुनैसित
खसिरहेछ ।
गरा गरा गहुँबारी
भिजिरहेछ क्रमश:,
मेरो प्यारो भुर्जुङ खोला
बगिरहेछ।
किनारै किनारा बाटोमा
लस्करै उत्तीसका बोटहरू
गुल मोहर’ जिन्दगी साटिरहेछन् ।
पैयुँ फुलेका मनहरू
आवर्तित
समय विम्वहरूको किनारमा
जलिरहेछन् दन्दनी
किनकी
दुर्घटनाहरूले ग्रस्त छ :
मेरो डाँडागाउँ ।
आक्रान्त छन् –
वर्षौं देखिका
आवर्तित समय विम्वहरू ।
प्रतिकार र प्रतिक्रान्तिले
बुलन्द यिनका घाउहरू
चहराइरहेछन् ।
न्युटन, नेपाल र मट्टीतेल
खोज्दै हिंडेको
मेरो देश
आवर्तित समय विम्वहरूमा
झुन्डिएर कहाँ पुग्यो ?
लाली गुराँसको रुखमा
चढेर हेर्दै छु –
देशको यात्रा त्यो
सामल बोकेर हिंडेको ।
