कुम्लो ठीक पार
लट्ठी ठीक पार
भुराभुरीहरू तयार हौ
दौरा छुट्यो कि
चौबन्धी छुट्छ कि
हस्याङ्फस्याङ गर्नु छैन
हतार गर्नु पर्दैन
सुस्त सुस्त हिंडे हुन्छ
किन?
थाहा छ!
आज बाटो बन्द छैन
हावामा सोडा गन्ध छैन
डराएकी भाउजू नन्द छैन
भारी बन्दुक धर्तीमा बिसाउदा
एकै आमाका सन्तान सगै मिसाउदा
हर्ष बिभोर!
तिमी हामी,
खुशी नै खुशी बोकेर
छताछुल्ल बाटैभरि
तल बेँसी झर्दैछौ
असीमित आनन्दले
हिजोका रित्तो
झोली भर्दैछौ।
तिमीले हिजो राती जून हेर्यौ ?
चन्द्रमा देख्यौ ?
अब
शताब्दी, शताब्दी
बर्षौ, बर्ष
खण्डग्रास र खग्रास
ग्रहण लाग्ने छैन
अनि
हो यस्तै यस्तै
सुनौलो चाँद जस्तै
हाम्रो भाग्यमा सन्त्रास हुने छैन,
अनौठो;
खण्डग्रास र खग्रासका
अधेरीहरू छिचोलेर
सुनौला गोरेटोमा
उन्मुख्त हाम्रा पाइलाहरू,
अब फेरी
कहिल्यै त्यो रातमा फर्किने छैन।
अँ! हो त है!
हामी त बेँसी झर्दै थियौ,
कुम्लो बोकेर!
उध्यौली मनाउन,
उभाउली निम्त्याउन!
गाइ दिउ एक लर्को
सोइ… सोला… हो.. हुरर्.. रा.. हा.. हा
अनि पो छरपस्टिन्छ त
हाम्रा सदभाव र सदासयहरू
खुशीहरू, सामीप्यहरू, अनुभूतिहरू!
यी खुशीहरू यी सामिप्यहरू
यी अनुभूतिहरू!
सधैं सधैंका लागि
चीर कालका लागि
कति खुशी छौ है आज!
बुद्धि मोक्तान
दक्षिण कोरिया
