Skip to content


आफ्नै अनुहारमा चाउरीहरूसँग पोको पर्दै
आफ्नो उद्धार आफैँ गर्नुपरेको छ
बृद्धबृद्धाहरूले अब ।
आफूलाई
शिकारीहरूको अचानो बनाउनबाट जोगाउँदै
आफ्नो भविष्यको जगेर्ना
आफैँ गर्नुपरेको छ नानीहरूले अब ।
आफ्ना घरहरूमा
आफैँ डढेलो लगाउँदै
आङ सेकेर बसिरहेछन्
विक्षिप्त युवायुवतीहरू
शरणार्थी भएर
जीवन गुजार्नुपर्ने भएको छ
त्यता नलाग्ने बाँकी सबैले अब ।
न्यूयोर्कका जुम्ल्याहा भवन
ढलेको देखेकै हौँ हामीले
काश्मिर, बग्दाद, चेचेन र अन्यत्र पनि
विविध नाममा
नरबलीको अभियान चलेको
देखिरहेकै छौँ हामीले ।
तर लाखौँको प्राण हरेर
के पायो हिटलरले ? के पायो पोलपोटले ?
मात्र दुःख बोक्यो धर्तीले-मानवताले
पक्ष-विपक्ष त भन्न मात्रै हो
सबैभन्दा बढी यातना पायो तेस्रो पक्षले -निस्पक्षले ।
त्यसैले हामीले ठन्डादिमागले
ढिलो नगरी सोच्नैपर्छ अब
नत्र त
हामी कसैले पनि
मीठा सपनाहरू नसजाए भयो अब
नत्र त
हामी सबैले
आफ्नै बिगतसँग आफैँ लजाए भयो अब ।
आफैँमा जुधाजुध गर्नेहरू
आफ्नै बन्धुहरू हुन्भन्दा
कसले तिनलाई पशु ठान्दैन !
आफ्नो जयकार नगर्ने जतिको बध गर्दै हिँड्नेले
जगत्को भलाईको ढोल पिट्दा
कसले ओठ लेप्य्राउँदैन ?
त्यसैले
नरोक्ने हो भने
गढीमाईको बाह्रबर्से मेलालाई समेत उछिन्ने
यत्रतत्र जारी नरबलीका मेलाहरू
हामीले
बुद्धलाई आफ्ना पुर्खा भनेर नाक नठड्याए भयो अब
र झुण्डझुण्डका सङ्कुचित स्वार्थहरूले
वर्तमानको प्राङ्गणमा फणा फिजाउँदै
त्रासद् नृत्यमा सामेल हुनेसम्मको छुट पाइरहने हो भने
हामीले
सगरमाथा टाकुरोलाई
आफ्नै हो भनेर सिरानी नलगाए भयो अब ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *