
“ए माइला! डोको लिन घरसम्म आइपुगे, तयार छ कि के छ?” एकबिहानै झिसमिसे उज्यालोमा माइला बाको घर अघिल्तिर देखिन्छन् गाउँका काजी धनपति।
“गीतामा भनिएको छ– निष्काम कर्म गर तसर्थ प्रायजसो हामी आफ्नो स्वार्थको लागि कर्म गर्छौ, त्यसैले यसको फल पनि त्यस्तै हुन्छ। कर्म निश्चित छ, कुशल कर्म ले सुख प्राप्ति हुन्छ।”
काजीका यी वाक्यहरु कानमा नपुग्दै माइला बा ढोका अघिल्तिर मलिन मुद्रामा काजीलाई हेर्दै आफ्नो गल्ति स्वीकार गर्दछन्।
माइला बाको मुख्य पेशा डोको बुन्नु हो। उनको परिवारले परापूर्वकालदेखि यो पेशा धान्दै आइरहेका छन्। भनिन्छ, उनले प्रयोग गर्ने बासको चोयाबाट बनेको डोको हालसम्म अरुले त्यति बलियो बनाउन सकेको पाइँदैन रे। “डोको बोक्नुस्, कम्तिमा पाँच वर्ष ढुक्क,” माइला बाको यो भनाइ सात गाउँसम्म प्रचलित छ।
काजी रिसाउने स्वाभाविकै भयो तरपनि काजीले भनेको भोलीपल्टै डोको तयार गर्नु सहज पक्कै थिएन। माइला बाले पनि भोलिनै तयार गर्छु भनेका पनि थिएनन्। उता काजीलाई भने आफै माइलाको घरमा सबेरै धाउँदा समेत वास्ता नगर्ने भन्ने कुराले मनमा चिसो पसेको हुन्छ। ‘पछि भेटौला माइला !’ भन्दै आफ्नो बाटो लाग्छन् काजी।
माइला बा बिहान सबेरैदेखि साँझ घाम नअस्ताउँदासम्म निरन्तर खटिएर आफ्नो काममा लागि रहन्थे।जो कोही मेहनती मानिस काम गर्न आलेटाले गर्दैन। अरूको नजरमा सानोतिनो जस्तो देखिने काम पनि रमाई-रमाई गर्छ। आफ्नो व्यक्तिगत आवश्यकता पूरा गर्न अनि अरूलाई मदत गर्न परिश्रम गर्छ,त्यस्तै छन् माइला बा।
उता काजी घर पुग्छन्, काजी जस्तो मान्छेले पनि डोको ल्याउन नसकेकोमा खिसिटिउरी गर्दै आफ्नै पत्नीले जिस्किएको महसुस गर्छन् काजी। उनले माइला बा लाई कसरी सजाय दिन सकिन्छ भन्ने सोच्दै थिए। पानी बोक्न डोको निकै अपरिहार्य पनि थियो किनकि फेदिबाट आधाघण्टा लगाएर पानी बोकेर आउनुपर्ने विडम्बना थियो। काजीको सपरिवार बिहान मन्दिर दर्शनको लागि निस्किए तर काजी भने टीका र प्रसाद मात्र लिने भनेर घरमा बसे, पूजाआजा सकिएपछि परिवारहरु घर फर्कनेक्रममा बाटोमा पहिरो गएको कारणले सुरक्षाको कारण देखाउँदै बाटो बन्द भयो उनीहरू कोही पनि फर्कन पाएनन्। त्यसदिन घरमा काजी एक्लै बस्नु पर्यो।
भोलिपल्ट, माइला बा डोको काधमा बोकेर काजीको घरमा पुग्छन्। माइला बाको मनमा अनेक कुराहरु खेल्छन डराउँदै डराउँदै ढिलो भयो काजी साब! माफी दिनु होला भन्दै ढोका ढकढक्याउदा घरमा काजी बेहोश अवस्थामा देखेपछि, छिमेकीहरूको आग्रहमा त्यही डोकोमा बोकेर स्वास्थ्य चौकी लैजान्छन्। केही समयपछि काजीको होस आउँछ, माइला, माइला…! भनेपछि माइला बाकाजी सँगै बिरामीको ओछ्यानमा बस्छन्। काजीले अङ्कमाल गरेर रुँदै भने “मैले चिन्न सकेको रहेनछु माइला ! तिमीलाई र तिम्रो डोकोलाई।”
दिवाकर भट्टराई
दमौली, तनहुँ
