Skip to content

मेरो जीवन

  • by


जब जब जीवन के हो?
प्रश्न मनमा उब्जिन्छ
तब तब हृदयमा तुफान चल्छ
प्रश्नहरूको ओईरोले
आँधीबेहरी चल्न थाल्छ
अनि लथालिङ्ग बनाईदिन्छ
तन हैन तर मनलाई
शिथिल हुन्छु
क्षणिक आँधी तुफानले
गल्छु, ढल्छु
यद्यपि उत्तर पाउन असफल हुन्छु
अब म तुलना गर्छु
जीवनलाई फूलसँग
अनि देख्छु दुई फूल
एउटा छ परागले भरिएको
जीवन सम्भावनाले भरिएको
मुस्कान छरिएको
सबैको चहेता फूल
स्वर्गसँग उसको तुलना गरिन्छ
सबैको आँखाको नानी
त्यस्तै अर्को फूल छ
अझ भनु नामको मात्रै फूल
कहिल्यै नफुलेको फूल
जसको न पराग छ
न जीवन राग छ
छ त केवल
दुर्भाग्यको भाग छ
अस्तित्वको कालो दाग छ
सोचि नसक्नुको बिषाद छ
न फुल्दै पात झरेको छ
उत्साह मरेको छ
उ रित्तो छ
न त्यहाँ भँवरा भुन्भुनाउँछ
न कुनै गीत गुनगुनाउँछ
न प्रेमको संदेश सुनाउँछ
उसको आफ्नो कथा छैन
छ त मात्रै
सही नसक्नुको व्यथा छ
राग छैन विराग छ
भाव छैन अभाव छ
ऊ फुल्न सक्दैन
त्यसैले सफल छैन
फूल भएर पनि फुल्न नसक्नु
उसको बिडम्बना हो
सायद यहि नै बिधिको बिधान हो
हो मेरो जीवन प्रतिनिधि
त्यही नफुलेको फूल हो ।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *