म एउटा गरिब तारा
झरेँ –
धर्तीको कुनै प्राचीन खोँचमा
‘ऊ … तारा खस्यो’
आँखा चिम्लिएर
प्रेमको दर्ीघायुका लागि
उभिए होलान् मायालुहरू
लेऊ जमेको पोखरीको किनारमा
‘जरेइ …
ए जरेइ तारा खस्यो’
केटाकेटीहरू
उफ्रिए होलान् आँगनीमा
म घाइते तारा
सम्झिन्छु
पहिलोपल्ट तिमीले नै लेखेकी थियौ
सबै निदाइरहेको बेला
इन्द्रेणी प्रेमपत्र, पहिलो भेटमा
अस्ताउन तम्तयार घामझै
कस्तो र्समाएकी थियौ
साथीहरू भन्थे – ‘ए तारा
त कहिल्यै हुन सक्दैनस् – जूनको’
म मूर्ख सानो तारा
मन पराएँ त पराएँ
कुनै सिजनमा हरियो भएको धर्ती
देखाउदै भन्थ्यौ तिमी – ‘प्यारो तारा
ऊ … त्यो हरियो धर्ती तिमीलाई है’
सपना देखायौ खुब
खेल्यौ खेल पिरतीको
पापिनी ठूलो पाप गर्यौ
अघायौ जून तिमी
ताराबस्तीका दादा ग्रहहरूलाई
मेरो हत्याको षड्यन्त्र सिकायौ
कुनै रात ताराबस्तीको किनारामा
आकाशगङ्गा माइजूको करेसाबारीमा
दादा ग्रहहरूले छुरा रोपे झर्याप्प
र, फलिदिए बादलको समुद्रमा
डुब्दैडुब्दै खसें
धर्ती
अहिले मेरो दाया हात भाच्चिएको छ
दुवै खुट्टा चल्दैनन्, टाउको फुटेको छ
जिङ्रिङ्ग बढेको छन् दाह्रीहरू
म देखिरहेछु
आफ्नो देशमा
राजकुमारी जून
अहिले फेरि तिमी ताराहरूको बस्तीमा
कलिलो –
सुन्दर ताराको खोजीमा छ्यौ
थाहा छैन सुन्दरताको जालले
कत्ति ताराहरूको हत्या गर्यौ –
सत्य –
धेरै लुक्न सक्दैन अब तिम्रो पाप
किनभने,
तिम्रो पापको प्रमाण बन्ने छ
तिम्रो सुन्दरतामा जमिरहेको
एक टुक्रा कालो दाग
नेपाल साप्ताहिक
अंक ११४
