म एकै क्षण जेलबाट निस्किएर
नखुलेको आकाशबाट फुत्किएर बन्धनमुक्त भएँ
खै कसरी ब्यक्त गरूँ तिमी सामु
खै कसरी पोखुँ भावना
सम्हालिन नसकेर पोखिएँ म
उम्लिएको पानी झै
छरिए म, च्यातिएका फूल झै
लथालिंग भताभुङ्ग भए म
हुरीले उडाएको चरीको गुँड झै
रुमलिएको भूमरीबाट व्यूझिएँ एकै क्षण
जसरी बाढी आउँछ
जसरी आँधी हुरी चल्छ
जसरी ज्वालामूखी अनि भुकम्प आउँछ
शायद मेरो खुसीको सिमा नाघेर होला
सायद उन्मुक्त हाँसो हास्न पाएर होला
सायद अथाह पीडा, व्यथाको बोझ कम भएर होला
समयले दिएको घाउमा समयले भलम पट्टी लगाई दिएर होला
मानव हुनुको मूल्यबोध, जीवनबोध, कर्तव्य बोध
साँच्चै विगत विगतै हो
किन सम्झेर दुःखी भै रहने
वर्तमानमा बाँच्न सिक्नु पर्छ अनि
भविष्यको सुन्दर खाका कोरी
स्वच्छ भावनाको क्यानभासमा
शुभ वर्तमान भन्दै
पतझर पछि पौलिएको मुनासँगै
पौलिनु पर्छ साँच्चै पौलिनु पर्छ
नयाँ पालुवाको लागि पुरानो झर्नै पर्छ ।
इटहरी, सुनसरी ।
