तिमी प्रेमले जम्न खोज्यौ
म प्रेमले बग्न खोजें
शुरुबिहिन र अन्तबिहिन
सिसिफसका मिथक भए –
प्रेम – प्रवृत्ति बाटाहरु
प्याउली झैं पँहेला मनहरु
आँखाबाटै पोखिइसके,
गुलाबी सपना
मनको अग्लो
धरहराबाट खसिसक्यो /
अब बाँकि छ
एउटा परिवेश –
रित्तो अतीतको
अनि बाँकि छ
एउटा आकाश-
कल्पनाहरुको /
समानान्तर प्रेमका आभाहरु
क्षितिजसम्म फैलिइरहँदा
तिमीले प्रेमलाई
केवल एउटा
च्याम्बरभित्रको दृष्टि भन्यौ,
मैले प्रेमको प्रियतत्व
हृदय उमार्ने सृष्टि भनें /
नियती उस्तै
प्राप्ती उस्तै
विचारको सापेक्ष गोलार्ध उस्तै
मात्र परिधि फरक फरक
अक्षांशहरुमा हिँडयौं-हामी /
तिमीले प्रेममा प्रयुक्त
असम्भावाना सोचिरह्यौ ,
मैले प्रेममा प्रतीक्षित
सम्भावना लेखिरहें /
टीठलाग्दो समयले
तिमीलाई पनि बेरिरह्यो
मलाई पनि बेरिरह्यो /
कोरा कागजमा लेखिएन –
श्वैरकल्पना कथाहरु /
समानान्तर प्रेमका आभाहरु
कल्पनाको आँगनमा छरिंदै गर्दा
उन्मुक्त अमूक बोलीहरु
चराहरुले चोरिरहे /
खुल्ला आकाशका चराहरु
प्रेम चोरेर उडिरहे,
डाली डालीमा चराहरु
चुच्चो जोडेर रमाइरहे
किनभने
प्रेममा सीमाना छँदै थिएन /
विघटित आशक्त मुटु सधैं
अदृश्य मायामा उफ्रिरह्यो
तर प्रेमको पाइला कहिल्यै
दुर्घटित भएन-
अनपेक्षित दृश्यहरुमा /
परिस्थितिका असजिला मोडहरुमा
तिमी मोडियौ
समय मोडियो
ऋतु मोडियो
ऋतु पिच्छे फुल्ने सबै फूल मोडिए
किनभने
यथार्थ सामु थियो
जिन्दगी मोड हो भन्ने कुराको /
समानान्तर प्रेमका आभाहरु
मेटिन्नन् भन्ने थाह थियो
तर ती प्रेमका रेखाहरु
भेटिन्नन् भन्ने थाह थियो /
