Skip to content

सर्पले पुतलीलाई सोध्यो -“तिम्रो पखेटामा रगत देखिएको छ । के भएको हो, हा ?”

पुतलीले भन्यो -“एउटा किराले मलाई टोक्यो । म उड्दाउड्दै तपाईंको ढाडमा पो खस्न पुगे ।”

पुतलीको कुराले सर्पलाई दया जाग्यो । ऊ पुतलीलाई ढाडमै राखी अस्पतालतिर लाग्यो ।

सर्पले डाक्टरलाई परैबाट भन्यो -“डाक्टर, यो पुतली सिकिस्त बिरामी छ । यसलाई उपचार………।”

डाक्टरले चिच्याउदै भन्यो -“नाइ…….नाइ !” डाक्टर भाग्दै थियो ।

सर्प नर्सको छेउमा पुग्यो । नर्स पनि डराइन् । उनी भाग्न खोज्दा चिप्लेर बल्र्याङ्ग पछारिइन् ।

सर्प निराश बन्यो । ऊ अस्पतालबाट बाहिर निस्कियो । उसले पुतलीलाई उपचार गराउन सकेन । उसले पुतलीलाई भन्यो -“अब के गर्ने पुतली ? उपचार गराउने डाक्टर पनि सबै भाग्छन् । तिमीलाई उपचारको आवश्यकता छ । तिमी पनि सल्लाह देऊ न ।”

पुतलीले भन्यो -“अब जङ्गलतिरै जानुपर्छ होला । औषधी त त्यहा पनि त पाइन्छ नि !”

सर्पले भन्यो -“तिमीले ठीक भन्यौ है । अस्ति मलाई पुच्छरमा घाउ भएको थियो । जङ्गलकै एक किसिमको झार पिसेर लगाउदा ठीक भएको थियो । म तिमीलाई पनि जङ्गलमै लैजान्छु ।”

पुतली सर्पकै ढाडमा झोक्राएर बसेको थियो । सर्प १० मिनेटमै जङ्गलभित्र पस्यो ।

पुतलीले भन्यो -“पर्खनुस् ! औषधी झार त यहीा छ । तर यसलाई पिस्ने कसरी ?”

सर्पले भन्यो -“म बिस्तारै मुखले ढुङ्गामा पिसुला नि ।”

‘……….तर तपाईंसाग त मुखमा विष पनि छ । मलाई विष लाग्दैन ?’ पुतलीले भन्यो ।

‘लाग्दैन, म विष निकाल्दिन नि !” सर्पले भन्यो ।

सर्पले पुतलीको पखेटामा झारको रस लगाइदियो । पुतलीलाई तुरुन्त आराम भयो । पुतली उड्न सकेको भने थिएन ।

केही समयपछि नै पुतली उड्न सक्ने भयो । दुवै जङ्गलकै फूलबारीमा रमाएर बस्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *