एउटाले भन्दैछः
सिंहदरबार, चटकेहरूको अखडा
बस्नेहरूलाई सधैँको बाह्रमजा !
यस्तो सुनेर / यस्तो बुझेर
सुन्ने र बुझ्नेहरूले सोध्दैछन् :
पस्न नभाएर / बस्न नपाएर उभिएर बीच बाटोमा
टाढैबाट यसलाई हेरिरहनुपर्ने हामी जस्तालाई कथा हो नि सिंहदरबार ?
ए तिमीहरूलाई, तिमीहरू जस्तालाई कथा हो नि
सिंहदरबार ?
जस्ताको तस्तै, ढिँडालाई निस्तै
कालो अक्षर भैँसी बराबर
उल्टोसुल्टो सबै सराबर
सपनाहरूको सधैँ लिलाम बढाबढ !
सुन्यौ त मान्छेपिच्छे कति फरक छ एउटै सिंहदरबार ?
तर बुझ, समय छँदै राम्ररी बुझेर राख
मेरोलागि भने आजसम्म पनि उस्ताको उस्तै
हेर न, कैल्हे दूधवालाहरूको दूध खोसुवा सर्पहरूकै सगबगी
कैल्हे बिच्छी, भ्यागुता र गँगटाहरूकै रजगजी
कैल्हे छुचुन्द्रा मात्र छुचुन्द्राहरूकै बिगबिगी
र हरेक पटक अन्तत ः
सधैँ खाली शिशी पुराना कागज
टाउको दुख्दा नाइटोमा ओखती !
चन्द्रशम्शेरको भूतले दिउँसै सताउँने आफ्नैको घाँटी
आफ्नैले अँठ्याउने
आफूहरूलाई सधैँसधैँ आजको आजै
अरूलाई भने भोलिभोलि भन्दै सधैँ झुक्याउने
अब पनि कहाँ हुन सक्छ र यस्तो भनेर मुख बाउने जत्तिलाई
प्राप्तिएको शक्तिको उन्मादमा लठ्ठिएर,
झन्झन् पात्तिएर लात्ती, मुक्का र लाठी वषर्ाउने
सिर्फ भूतहरूको बसोबास गर्ने
एक अर्कासँग भलाकुसारी गर्दै एकदमै रमाउने एउटा भूतबङ्गला !
र त आजसम्म पनि यसले गर्न सकेको छैन सबैको
मङ्गला !!
नपत्याए पुतली – बगैँचा र बरफबागमा पुगेर, बसेर, फर्केर आएकाहरूलाई सोध त
जवाफमा उनीहरूले पनि यसै भन्ने छन् !
हो, उसले भनेको ठीक हो, एकदम ठीक हो
हो, अझै- अझै पुतली – बगैँचा र बरफबागमा
आधा रातमा सुनिन्छ
हेलम्बुका दिदीबैनीहरूको स्वर कङ्कला !
वास्तवमा सोह्रै आना हो नै यो एउटा भूतबङ्गला !!
नपत्याए लौ फेरि मूलढोकानिर पुगेर एक क्षण उभिएर
ध्यान दिएर आफ्नै कानले सुन त
ड्युटीमा बसेकोले सिपाही पनि उस्तै छ र त भन्दछ ः
ऐ ! ढोकामा नउभी यसरी
के हेर्छस् हँ भित्र नै घरिघरि ?
पर जा वर नआ, आफूलाई मेरो नेटोबाट कटा !
ऐ ! बाहिरै पो छस् कि क्या ?
हैन, मैले भनेको सुन्दै सुनिनस् कि क्या ??
पर जा, वर आउँदै नआ, छिट्टै आफूलाई मेरो नेटोबाट कटा भनेको !
नत्र भेट्छस् नि फेरि !!
हो इन्द्रजात्रा हेरेर अब चाँडै फेरि
यहाँ महाराज जुद्धशम्शेरको सवारी हुँदैछ !
महाराज जुद्धशम्शेरको सवारी हुँदैछ !!
मधुपर्क २०६८ माघ
