तिम्रो अघि उदाएको जुन बिहानी छ
सुहागरात त्यसले बिथोलेको कहानी छ ।
रक्ताम्य दागहरू कसरी बोकेर उदायो सूर्य
अफसोच यही छ कि, भगवान्को नादानी छ ।
सलाम गरुँ त्यसलाई कसरी सेतो पहिरनले ?
अभिषेक होइन, हातमा घर जलेको खरानी छ ।
नउदाए चाँदनी रात, नलगा मोहनी सौन्दर्यको
नदुःखा कलिलो मन, चहराइरहेको जवानी छ ।
उफ ! तिम्रो सत्ताको मादकता, गिज्याउँछ यसरी कि ?
न्याय होइन नियतिका, सारै ठूलो बेइमानी छ ।
निष्ठुर यो प्रकृतिको बिपरित मधुमासमा
कोइली होइन स्याल र ब्वाँसाहरूको मनोमानी छ ।
पर्ख ‘रामु’ हिसाब किताब लिएर आउनेछ इतिहास
यो देशमा क-कसको, के-कति कुर्वानी छ ।
धनगढी, कैलाली
मधुपर्क २०६८ माघ
