Skip to content


मोबाइलको एलार्मले आँखा खुल्यो । पक्कै पाँच बजिसकेको होला । उठ्नु छ यो बुझ्दा पनि अल्छी मान्छु, एकछिन भए पनि ओछ्यानमा सुतिरहेँ । फेरि मनले मान्दैन । उठ्छु, दस-बाह्रको कोठामा एक-दुई फन्का लगाउँछु अनि त्यसपछि बाथरुममा छिर्छु । जब निवृत्त भएर बाहिर निस्कन्छु सवा पाँच बजिसकेको हुन्छ । झ्याल खोलेर दक्षिणी आकाशतिर हेर्छु । अहिले पनि बादल लागेकै छ । रातभरि त बादल गर्जेकै थियो, पानी परेकै थियो । काठमाडौँमा यसपालि सायद पाँच-सात दिनपछि मनसुन आएको छ । ढिलो आएको क्षतिपूर्ति बेहोर्दै छन् मेघदूतहरू ।

म मर्निङ्गवाकका लागि ट्रयाक सुट लगाउँछु । दाहिने खल्तीमा केही खुद्रा पैसा पनि हाल्छु । नित्य मैतीदेवी मन्दिरनिर पत्रपत्रिका पसलबाट दैनिक सामाचारपत्रहरू किन्ने गर्छु । मोजा लगाएर गेट नजिकै जुत्ताको र्‍याकमा राखेको स्पोर्टस् सुमा पैताला छिराएर त्यसको लामो तुनालाई मिलाएर कस्छु । साँचो कुरा छ- मलाई यस्तो जुत्ताको तुना बाँध्न साह्रै अल्छी लाग्छ । यो भन्दा पहिले जुत्ताको तुना बाँधेर गरिदिएको थिएँ । जाने बेलामा सीधै पैताला छिराउँथे तर यो जुत्तामा त्यो सम्भव छैन । त्यसैले जति हतार भए पनि तुना विस्तारै कस्नै पर्छ । तुना बाँधिसकेपछि म एउटा हातमा सानो छाता लिएर मूलद्वारमा तल ओर्लन्छु । सर्टको दाहिने खल्तीबाट चाबी निकालेर द्वारको ताल्चा खोल्छु । माथिबाटै मसँगै आएको घरबेटीको कुकुरको गन्ध नाकमा छिर्छ । लाग्छ सक्दो चाँडो द्वार खोलौँ, यो दुर्गन्धबाट मुक्ति पाऔँ । द्वार खोल्दा कुकुर जोडले दगुर्दै बाहिर निस्किन्छ । तल ग्यारेजको सामुन्ने सु-सु गरेर त्यहीँ निदाउन थाल्छ । म सीधै मैतीदेवी चोकतिर वेग गतिमा अगाडि बढ्छु । अलि टाढा पुगेपछि केही याद आउँछ र सुटको बायाँ खल्तीबाट मास्क निकालेर नाक र मुख छोप्छु । काठमाडौँमा वायु प्रदूषण तीव्र गतिमा बढिरहेको छ । मास्क लगाउनु बाध्यता हो । घडीमा हेर्छु, पाँच बजेर पच्चीस मिनेट । आज ठीक समयमा निस्केको छु । पानी पनि रोकिएको छ र आकाशको कालो बादल पनि आराम गर्ने मनस्थितिमा छ ।

म सधैँझैँ आफ्नै गतिमा बानेश्वर चोकतिर अगाडि बढ्दैछ । सडकमा बिहानै घुम्नेहरू पनि बाहिर निस्किँदै छन् । म पूर्वतिर हेर्छु । आकाशमा बादल छ । मात्रै पश्चिमतिर अलि सफा भएको छ । सूर्य उदाउनमा अझै समय लाग्छ । कर्मनिष्ठ भएर दिनभरि काम गरेर थाकेका सूर्य रातमा शान्त निद्रामा सुतेको होला । वर्षाको रिमझिममा निद्रा पनि त मधुर होला नि ! त्यसैले बिहान उठ्न अल्छी मानेको होला । बिहानको सपनाको आफ्नै आनन्द हुन्छ । विगत ५९ वर्षदेखि यस्तै सपनाको आनन्दमा बिहान आठ बजेसम्म मस्त हुन्थेँ ओछ्यानमा तर अचेल मोबाइलमा एलार्म लगाएर पाँच बजे उठ्न बाध्य भएको छु । त्यति मात्रै होइन पाँच कि.मि.को यात्रा जोडले हिँडेर पूरा गर्छु । सपना र आनन्दको सबै अनुभूत जिउबाट पसिना भएर बगिरहेको

छ । त्यो दुःख त म बेहोर्दै छु । सूर्यलाई के छ ? ऊ त सर्वव्यापी नियमित समयमा ब्युँझाउनलाई आफ्नो घोडाको रथमा सवार भएर आकाशमा ड्युटी बजाउनलाई आतुर हुन्छ । आज कतै देखिँदैन त्यसमा उसको के दोष ? यो त बादल र वर्षाको षड्यन्त्र हो । नेपालको ठूला दलहरूको गोप्य गठबन्धन जस्तै अबुझ । यस्तोमा बिचरा सूर्य पनि द्विविधाग्रस्त अथवा अल्छी भएका छन् भने यसमा उसको के दोष । म किन अग्नि कवि सोमदेव जस्तै डकैत भनौँ उसलाई ।

म पुरानो बानेश्वर चोक आइपुगेको छु । देब्रेपट्ट िप्रतिष्ठापित गणेशजीको मूर्ति हेरेर टाउको निहुराई ढोग्छु, हिँड्दा हिँड्दै उत्तर दिशामा गौशाला जानलाई हिँड्न सुरु गर्छु । बाटोको दुवैतिर बिहान डुल्ने र फर्किने मानिसहरूको भीड छ । केही नभने पनि धेरै अपरिचितसँग परिचित भइसकेको छु । एक वर्षदेखि नियमित सडकमा भेटघाट, एउटा सहयात्रीको सुख ………. मानौँ मनमनै (मौन) परिचय र आत्मीयता बढाउँदै । यस्तो कति दिन भएको छ, भीडको कुनै नियमित अनुहार बाटोमा नदेख्दा मन बेचैन हुन्छ । के भयो होला ? स्थास्थ्यस्थिति कस्तो होला ? कतै गएको होला कि । के-के मनमा आउन थाल्छ । बिहान घुम्नुको अर्थ पूर्ण स्वास्थ्य रक्षाको काम हो, रोगले बढी च्यापियो भने खतरा पनि त हुन सक्छ । कसैलाई सुगर, कसैलाई हाइब्लड प्रेसर, कसैलाई हर्ट प्रब्लम ……….. । शङ्का गर्नु ठीकै हो, दुईचार दिनपछि जब फेरि बाटोमा हेर्छु अनि मन शान्त हुन्छ । यो कस्तो सम्बन्ध हो जुन सडकमै विकसित हुन्छ, सडकमै मजबुत हुन्छ र सडकमै अन्त्य पनि हुन्छ । न कुनै बोलचाल, कुशल क्षमा न कुनै नाता सम्बन्ध तर जुन आत्मीय सम्बन्ध विकसित भएको हुन्छ त्यसको गहिराई आत्मीयलाई मात्रै थाहा हुन्छ । थाहा छैन अर्को पक्षमा यो कथित सम्बन्धको प्रभाव पर्छ कि पर्दैन । परे पनि अभिव्यक्तिको माध्यम के ? हो, बाटोघाटोमा हिँड्ने बेला एकअर्काको आँखामा जुन चमक अनुभूत गरिएका हुन्छन् । प्रायः यहीँ नै परिचितिको द्योतक हो ।

बिहानको हिँडाइमा सबै अपरिचित हुन्छ भन्ने पनि छैन । कोही परिचित पनि हुन्छन् । देखादेख पनि हुन्छ, हात हल्लाएर अभिवादन साटासाट हुन्छ तर डेग आफ्नो वेगमा बढिरहेको हुन्छ । जोडले हिँड्ने बाध्यता भएकोले रोकिनबाट जोगिनु पर्छ । प्रहृलाद र शैलेन्द्रको जोडीको कुरा नै बेग्लै छ, डेराबाट सँगै निस्कन्छन्, पशुपति जान्छन्, फर्किने बेलामा चियाका चुस्की लिन्छन् र सहज गतिमा डेरा फर्किन्छन् । सौभाग्यशाली छन् उनीहरू, सँगै मनका कुरा साटासाट गर्दै घुम्छन् । हामी त सँगै घुम्न पनि सक्दैनौँ । एउटा मोटो हाकिम र मोटीजस्तै लाग्ने उनको पत्नी नियमित बेगले हिँड्छन् । पति अगाडि, पछाडि अलि टाढै पत्नी हाँफ्दै, अनुहार रातो पारेर ।

गौशाला चोकमा आएर आफ्नो नियमित गतिमै आँखा घुमाउँछु । यो त्यही चोक हो जहाँ अधिकांश कमाउनलाई विदेश जाने तराईका मान्छेहरू बसबाट ओर्लिरहेका हुन्छन् उडानका लागि । कसैलाई पासपोर्ट बनाउने हतार, कसैलाई भिसा लगाउने हतार त कसैलाई डाक्टरी जाँच ………… । कतिलाई विदेश जान लागेकाहरूलाई छोड्न बुबा, आमा अथवा समाजका कुनै व्यक्ति आएका हुन्छन् । कोही त एजेन्टको पछाडि बेहाल हुन्छ, कति महिनादेखि पछाडि पछाडि दगुरी रहेका हुन्छन्, न भिसा नत पैसा फिर्ता । सयकडा पाँच रूपियाँ तिरेर दोहा उड्नलाई कर्जा लिएका कति पीडित एजेन्टको भरमा गौशाला चोकमा भौँतारिरहेका हुन्छन् । लजमा बसिरहेका हुन्छन् ।

यस्तै यस्तै प्रसङ्गमा जोडिएका आफ्नै गाउँघरका व्यक्तिहरूलाई खोज्न आँखा नचाउँछु । भेट्दा पनि राम्ररी कुरा गर्न सक्छु त्यो सम्भव लाग्दैन, घुम्नलाई हड्बडिएको हुन्छु । तथापि आँखा नचाउँछु गौशाला धर्मशालाको तल सिलिङ समाएर उभिएका मधेसीझैँ लाग्ने ग्रामीणहरूसँगै सडकको दायाँपट्ट िफुटपाथमा उभिएका व्यक्तिहरूमा । कोही लजमा बस्नलाई ताल-भजार गरिरहेका हुन्छन् । यसमा कुनै परिचित जस्तो लाग्दैन । ठीकै भो, नत्र कुरा गर्न पाएन भनेर मन खिन्न हुन्थ्यो । यो क्रम निरन्तर जारी छ । अहिले पौनेे छ बजेसम्म कोही भेटेको मलाई याद छैन । आज पनि कोही भेटिएला कि भन्ने आश पनि थिएन, दैनिक रुटिनझैँ खोज्ने असफल प्रयास गर्दैछु ।

काठमाडौँमा आत्मीय खोजी गर्नु यसको आवासीय इथिकभन्दा भिन्न मानिन्छ । एकदुई दशक पहिलेसम्म नयाँ सडकको पिपलबोटनिर साँझमा मान्छेहरू जम्मा भएका हुन्थे र आत्मीय कुराकानी हुन्थ्यो तर उसलाई आफ्नो डेरा देखाउने वा लाने जोखिम कसैले पनि गर्दैनथे । सानो-सानो कोठमा जीवन बिताउने बाध्यता, महँगो चामल, दाल, तरकारी । पाहुनाको स्वागत-सत्कार, फाल्तुको काम । बाहिरै बसेर एककप चियामै ज्यान जोगियो भने राम्रो कुरा ।

आज पनि यसमा परिवर्तन आएको छ त्यो होइन । हो आफ्नो सामथ्र्य अनुसार बस्ने अवस्थामा परिवर्तन आएको छ । एक दुई दिनको पाहुनालाई अब साधारण रूपमा लिन थालिएको छ, त्यसैले नयाँ सडकको पीपलबोटको गन्तव्य काठमाडौँको डिल्लीबजार, घट्टेकुलो, सातदोबाटो, कलङ्की, ग्वार्को, मैतीेदेवी, गौशालातिर पसरिसकेकाछन् । अब भेट्दा आनाकानी गर्दैनन्, आत्मीयपूर्वक कुशलता र अभिवादन साटासाट हुन्छ तर पनि कोठामा लान अहिले सङ्कोच मान्नेहरूका कमी छैनन्, स्थान र सहजताका लागि बढी । म पशुपति मन्दिरको बाहिरी प्रवेशद्वारमा आइपुगेको छु । बायाँतिर गणेशको मूर्तितर्फ टाउको निहुराउँदै मनमनै प्रणाम गर्दै अगाडि बढ्छु । भक्तजनहरूको भीड अलि बढी नै छ । चारैतिरबाट मान्छेहरू यहाँ आएर जम्मा हुन्छन् । केही मर्निङ्गवाक गर्नेहरू र केही दर्शनार्थीहरू ……… ।

पशुपतिनाथ मन्दिरका सुरक्षाकर्मीहरू निःशुल्क जुत्ता-चप्पल राख्नलाई जोडजोडले हल्ला गर्दै बोलाउँदै छन् । म त बाहिरबाटै दर्शन गरेर फर्किने व्यक्ति हुँ । मूल प्रवेशद्वारमाथि बनाइएको भगवान शङ्करको मूर्तिलाई हेरी आँखा चिम्म गरेर स्मरण गर्छु र ओम नमः शिवायको मन्त्रोच्चारण गर्दै मनलाई हलुको पार्छु । बाहिरबाट पशुपतिनाथको दर्शन सम्भव छैन, आँगनमा मन्दिरको मुख्यद्वारलाई ठूलो पित्तलको बसाहाले सम्पर्कबिच्छेद गर्ने गर्दछ तर मनमनै संस्मरण गर्ने श्रद्धालुलाई कसले छेक्छ ?

म मुख्य बाहिरी प्रवेशद्वारतिर फर्किन्छु । फेरि मेरा दृष्टि द्वारको दक्षिण दिशामा भिक्षाका लागि बसेका मानिसहरूतिर पुग्छन् । केही दान गर्नलाई होइन । बरू एउटा महिलाको खोजमा जुन जनकपुरकै छिन् र यहाँ समय-समयमा दान ग्रहण गर्छिन् । जनकपुरको एउटा सामान्य कामदार परिवारको महिला । उसको श्रीमान् दाउराको व्यापारी थियो, छोरा लठेब्रो भए पनि ठेला गाडा चलाउँथ्यो । ऊ आफैँ रङ्गविरङ्गको साडी, विन्दी र सिगरेटमा रमेकी । नाम के थियो थाहा भएन । मानिसहरू उसलाई माइराम भन्ने गर्थे । एकवर्ष पहिले जब म उसलाई माग्नेहरूको भीडमा कपडा ओछ्याएर बसेको देख्दा अचम्मित भएको थिएँ । म राम्ररी चिन्छु उसलाई । ऊ माग्नलाई किन बाध्य भयो । परिवार त थियो नै । कतिपटक मनमा आयो कि डेरामा गएर नारायणजीको आमालाई यी सबै कुरा भनौँ । उनलाई सबै कुरा थाहा हुन सक्छ । आफ्नै टोल-छिमेकको कुरा थियो तर मेरो जिज्ञासा मनमै हुन्थ्यो । पछिल्लो पटक जनकपुर जाँदा स्टेसनको प्लेटर्फममा एउटा कार्यक्रममा श्रोताको भीडमा आफ्नो काखीमा एउटा तीन-चार वर्षको बच्चालाई च्यापेर राम्रो लुगामा सजिएकी माइरामलाई उपस्थित देखेर फेरि अचम्मित भएको थिएँ । यस्तो दुईटा रूप किन ? अनि याद आयो मेरो गाउँको सुकन मलाह, मेथरू साहका कथाहरू । काठमाडौँंका हुनमानढोका, वसन्तपुर, भक्तपुर दरबार क्षेत्र, बौद्ध, स्वयम्भूमा लट्टा बढाएर, टीका चन्दन लगाएर आसनमा बसी हजारौँ आम्दानी गर्थे र पाँच छ महिनामा गाउँ फर्किंदा पाँच-दश हजारसँगै कम्बल, झोला लिएर फर्किन्थे । उनीहरूकै मुखबाट सुन्थेँ विदेशीहरू साधुलाई पैसा दिन्थे फोटो खिचे वापत, सँगै माग्ने पनि गर्दथे पसल-पसलमा गएर । पैसा जम्मा भएपछि आफैँ घर फर्किन्थ्यो वा कसैद्वारा पठाइदिन्थे ।

यी माइराम पनि यही गर्छिन् भन्ने कुरा यसपालि थाहा पाएँ । एक मन हुन्थ्यो कि पारिवारिक झगडाबाट आक्रान्त भएर पशुपतिमा बसी माग्दै थियो कि ? जब घरका व्यक्तिहरूलाई गल्ती अनुभूत भयो अनि बोलाएर फेरि गाउँमा ल्याएको होला । अब यो सबै छोडेर गाउँमै बसिरहेको छ । हुनसक्छ कुरा मिल्यो होला । तैपनि म हिँड्दा हिँड्दै बाटोको बायाँतिर एक पङ्क्तिमा लामबद्ध भएर बसेका माग्नेहरूतिर दृष्टि घुमाउँछु । अँ ! माइराम त फेरि माग्नेहरूको भीडमा आसन जमाएर बसेकी छे । आँखा तल पारेर मजाले सिगरेट पिउँदै छ । एक मन भयो एकछिन पर्खेर उसको गतिविधिमाथि दृष्टि राखौँ । एक मन भयो होइन यो पनि यही कार्य सुरु गरेको छ । लाचारका लागि कमाइको बाटो भीख माग्ने पनि राम्रै निदान हो तर यसका लागि यो कुरा कहाँ लागू हुन्छ । यो माग्ने काम पनि अव व्यावसायिक भयो ।

मलाई यो गन्थन-मन्थनमा पर्नु बेकार जस्तो लाग्छ । मेरो कार्य हो बिहानै उठेर मर्निङ्गवाक गर्दै मैतीदेवी मन्दिरको पूर्वमा अवस्थित आफ्नो डेरामा फर्केर आउने । कहिलेकाहीँ बाटोमा जोडले हिँड्दा यस्तै कुराहरू मनमा खेलिरहन्छ र यसमै अल्झिरहन्छु तर सधैँ यस्तै अफसोच हुँदैन । कहिलेकाहीँ कति समस्याका समाधान बाटोमै निस्किन्छन् । प्रज्ञामा आएको कति समस्याको समाधान हिँड्दा-हिँड्दै निकालेको छु । धेरै योजनाहरू बने । धेरै गीत, गजल, नाटकको विम्ब मर्निङ्गवाकबाटै प्राप्त गरेको छु । अनि कहिलेकाहीँ माइराम जस्तो पात्रले पनि मनमा हलचल मच्चाउनु स्वभाविक हो ।

म ज्ञानेश्वर आइपुगेको छु । म परसाहीवाली बुहारीलाई घुम्टो (टाउकोलाई कपडाले) नछोपी हातमा केही बोकेर यतैतिर आएको देखिरहेको छु । ऊ बिहानै-बिहानै आफ्नो पुरानो डेरामा जाँदै गर्छे । मलाई देखेर लजाउन सक्छे त्यसैले म नहेरेझैँ गरेर मैतिदेवी मन्दिरतिर अगाडि बढरहेछु ।

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *