Skip to content

हेर्दा हेर्दै (मधुपर्क २०६८ माघ)

  • by


एक स्रष्टाले कार्यकक्षमा पस्दै मसँग भन्नुभयो ः ‘सम्पादकज्यू ! मेरो कविता त ‘सहिद’ भयो कि क्या हो ? अझै छापिएन ।’

ती कविमा कविता प्रकाशन नभएपछिको गुनासो थियो कि ‘सहिद’ प्रवृत्तिमाथिको व्यङ्ग्य थियो ? मलाई छुट्याउन जरूरी थिएन । नेता र दलहरूका लागि आफ्ना कार्यकर्ताको मोहमा अपभ्रांशित ‘सहिद’ को खोजी न्यायिक हो भने कवि महोदयहरूका लागि त आफ्नै सिर्जना कवितारूपी सहिद ठहरिनु किमार्थ अशोभनीय थिएन । अनि मैले भने ः ‘कवितारूपी सहिदलाई त प्रकाशित नभएसम्म ‘पैसो’ दिन मिल्दैन नि ।’ ती कवि महोदयले हाँस्दै भने ः ‘मत झण्डा भए पनि ओढाऊँ कि भनेर आएको । मलाई ‘पैसो’ होइन मेरो कविताको लास वा सास चाहियो ।’

अचेल परिवेश र परिभाषा बदलिएका छन् । ठट्टाहरू क्रुर यथार्थमा परिणत भएका छन् । भोगाइहरू कृत्रिम पो हो कि भन्ने लाग्न थालेका छन् । वृहत् नेपाली शब्दकोषमा लिपिबद्ध भनाइहरू, गराइमा पटक्कै मिल्दैनन् । अरू त अरू ‘सहिद’ को सम्मान, सत्कर्म र समर्पण सगरमाथाको शिखरबाट रसाताल भासिने क्रममा छन् । ‘कविता’ समेत सहिद हुन थाल्ने हो भने वबिता, सविता र पबिता त त्यसै उसै पनि ठूला दलहरूका ‘नेतृ’ भएपछि दशलाखे सहिद हुनबाट कसले रोक्न सक्ने ? सहिदगेटमा अटाइएका सहिदहरुको सम्मान यतिखेर टुँडिखेलमा समेत नअटाउने विस्कुन जस्तो बनेको । सहिद सङ्ख्या सय, हजारमा होइन लाखमा पुग्ने हो कि ! यस्तै/उस्तै संशय सबैमा पाइन्छ । त्यसैले मैले लेखेँ ः

हे धर्मभक्त ! हे शुक्रराज !!
तिम्रा नाममा फुल्ने
फूलहरू खै ?
आदर्शले पछ्याउने हूलहरू खै ?
हे गङ्गालाल ! हे दशरथ !!
समर्पणले फुट्ने
मूलहरू खै ?
सत्कर्मले उठ्ने
शूलहरू खै ?

परिवर्तिन परिवेशमा ‘नयाँ नेपाल’ निक्कै चर्चामा छ । अखण्ड संरचनामा नयाँ नेपाल बनाउने हो भने वास्तवमै हामीले पुरातन सबै सोच संस्कारलाई तिलाञ्जली दिएर मात्रै पुग्दैन । अहिले यत्रतत्र देखिएका विचलन, विसङ्गत विम्बहरूलाई समेत ‘ठिक’ गर्न सक्नुपर्छ । ‘सहिद’ जसरी ठट्टा बन्नु हुँदैन, त्यसैगरी संविधान ‘हास्य’ ठहरिनु हुँदैन । साहित्य जसरी सर्वकालिक हुनुपर्छ, उसैगरी सर्जक सर्वस्वीकार्य बन्नुपर्छ । मान्छेले मान्छेलाई हेर्ने दृष्टिमा मान्छेकै व्याख्या विश्लेषण जन्मनुपर्छ । जाति, वर्ग, क्षेत्र र लिङ्गका आधारले मात्रै मान्छेलाई जोड घटाउ गर्ने हो भने त्यसले सधैँ तेरो र मेरो नतिजा दिलाउँछ । यसतर्फ धेरै सोचेर हामीले थोरै केही गर्ने कि ?

अचेल मान्छेहरू सर्पले काँचुली फेरेजस्तै हुने नियतिमा उद्यत भएका कुरा गर्छन् । सर्पले काँचुली फेर्ने हो कि नयाँ काँचुलीले पुरानो सर्पलाई छाड्ने हो ? त्यसप्रति हामी सचेत छैनौँ । फगत् आफू र आफ्नो परिवेश बाँच्न र बचाउन हामी मुलुक निर्माणको गीत नलेखेर स्वार्थको स्तुत्य-महाकाव्य तयार गर्दैछौँ । अचेल साहित्यिक कार्यक्रमहरूमा पुग्दा स्रष्टाहरू ‘मधुपर्क’ लाई ‘दमदार’ बनाउने कुरा गर्नुहुन्छ । ‘दमदार’ के र कसरी हुन्छ ? त्यो त म जान्दिन तर मैले बुझेको सर्वथा सत्य के हो भने स्रष्टाहरूले ‘दमदार’ सिर्जना गरे मात्र पत्रपत्रिकाहरूले ‘दमदार’को पगरी र परिणाम हात पार्ने हुन् । सन्दर्भ साहित्यको मात्र होइन, जहाँ, जसले, जे गरे पनि निचोडमा उचालेको कुकुरले मृग मार्दै-मार्दैन । अर्थ र गाम्भीर्य नबुझिकन दल, बल र दवावका आधारमा मात्र ‘सहिद’ बन्ने प्रवृत्तिलाई हुर्काइरहने हो भने एकदिन त्यो अवस्थाले वास्तविक सहिदहरुलाई समेत ऐँठन र आक्रान्त तुल्याउने छ । सिर्जना सामर्थ्य र सत्कर्म हुने हो भने उसले कोटाको ‘सहिद’ फेहरिस्तमा नचढे पनि सत्पात्रको जसले आफूलाई सधैँ र सदैव जीवन्त तुल्याइरहेकै हुन्छ ।

रोजाइको मालिक तिमी
म त केवल ‘सेवक’ न हुँ ।
लक्ष्य तिमी भए पनि
म त दौडिरहने धावक न हुँ ।।

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *