Skip to content


-पृथ्वी न्वारन शा मेरो कन्टिनेन्टल ओछ्यानमा निदाइरहेको थियो ।

म, प्राय: घाटहरूमा देखा पर्दोरहेछु ।

मुर्दा जलाउने घाट या शव गाड्ने ग्रेभ-यार्डहरूमा कहिलेकाहीँ तपाईंले अवश्य देखेको हुनुपर्छ । तर, म घाटमा मुर्दा जलाउने मानिस या ग्रेभ-यार्डको क्रूर ग्रेभ-डिगर होइन …।

पेसाले म आत्मा बोलाउने मानिस हुँ । पृथ्वीको वायुमण्डलमा फकिर शैलीमा यात्रारत अ-शरीर, अमर आत्माहरूसित मेरो बरोबर सहचार्य हुने कुरा तपाईंर्ंलाई ‘प\mयान्टासी’ या आश्चर्य लाग्नेछ । तर, यो साँचो हो ।

मेरो पुरातात्त्विक आश्रम घाटको छेवैमा छ । मेरो पुर्ख्यौली घरलाई तपाईंको सहरमा जाडोको छुट्टी मनाउन आउने पर्यटकहरू यदाकदा मुर्दा-गृह भन्ने गर्छन् । तर, मुर्दा अर्थात् डेढ बडीहरूसित मेरो कुनै ‘अफिसियल’ सम्बन्ध छैन । मेरो प्रेम त आत्माहरूसित छ । प्रेतात्माहरूसित…।

वैदिक मन्त्रोच्चारणमार्फत म आत्माहरूसित सदा सम्पर्कमा रहिरहन्छु । प्रेतात्माहरूको अतृप्त इच्छा, गुगलमा नभेटिइने उनीहरूका गुनासा, कथा/व्यथा इत्यादि सुन्दासुन्दै अब त म तपाईंको प्राइभेट राष्ट्रको ज्येष्ठ नागरकि पो भई गएँ । आत्माहरूको निरन्तर सम्पर्कमा सायद म पनि प्रेतात्मा बनिसकेको छु ।

जीवित मानिसहरूको पट्यारलाग्दो सम्बन्धमा कुनै भ्यानिला-आकर्षण नरहेपछि मैले एकालाप जवानीमा, धेरै वर्षअघि यो अनौठो पेसा अपनाउनुपर्‍यो । विश्व-प्रसिद्ध आत्माहरू मेरो लिभिङ्-रुममा रडिर्स डाइजेस्टका पुराना अङ्क पढ्न आउँछन् ।

समय मिले म ती प्रख्यात् आत्माका किम्बदन्ती अवश्य सुनाउँला । तर, आज म तपाईंलाई स्वदेश प्रसिद्ध, एक भट्किएको आत्माबारे ताजा घटना सुनाउने ‘मुड’मा छु ।

घटना वास्तवमा गत इन्द्रजात्राको एकाबिहानै भयो ।

त्यसदिन म केही चाँडो उठेको थिएँ भन्ने छिमेकीहरूको हल्ला सत्य हो । प्रात:कालीन नित्यकर्मपछि ध्यानमा समाधिस्थ भएँ । केही वैदिक मन्त्र आफ्नो मङ्गोल एव म माङ्गलिक ओठबाट उच्चारण भएको अनायास सम्झिरहेछु । सूर्योदयको प्रथम किरण मस्तिष्कमा छताछुल्ल पोखिएपछि मैले ध्यानस्त आँखाहरू उघारेँ,

र, देखेँ :
-पृथ्वी
न्वारन शा
मेरो कन्टिनेन्टल ओछ्यानमा
निदाइरहेको थियो

कछाड प्लस गन्जीमा निदाइरहेको प्रेतात्मालाई मैले प्रसङ्गवश चिन्ने कुरा भएन ! कुन ‘फकिर आत्मा’ आएछ भनेर म आफ्नो स्ट्रबेरी कचिनतिर लागेँ । ग्यास बालेँ । नेस्क्याफे-कफी उमालेँ । इन्द्रजात्राको दिन, एकाबिहानै कुन आत्मा सम्पर्कमा आएछ भनी केही समय गुमसुम रहेँ ।

दुई मग ब्ल्याक-कफी लिई शयनकक्षमा छिरेँ । प्रेतात्मा उठिसकेको थियो । एक मग उसलाइदिएँ । हाम्रा अपरिचित आँखाहरू जुधे । अन्तत: प्रेतात्माले आफ्नो परचीय खुलायो । भन्यो :

“मलाई नचिन्याँ ? म हुँ बडामहाराज पृथ्वीनारायण शाह ।”

“गुड मर्निङ् पृथ्वी न्वारन शा !” अभिवादन गरेँ ।

पृथ्वी टुक्रुक्क बसेको थियो ओछ्यानमा । ऊसित श्रीपेच/राजदण्ड/सिंहासन केही पनि थिएन । तपाईंको देशको कुनै जमानाको शक्तिशाली राजा मेरो कोठामा कुनै भिखारीझैँ आत्मवत् उपस्थित थियो । र, यसबेला भित्तामा झुन्डिएका शशि शाहका एक्रेलिक क्यानभासमा बेलगाम घोडाहरूलाई एकनासले हेररिहेको थियो सुरुप सुरुप सुरुप कफी पिउँदै ।

“पृथ्वी आज इन्द्रजात्रा हो,” भनेँ,”आफ्नो इतिहासबारे केही सम्झना छ ?”

उसले सोध्यो,”यो कुन शताब्दी हो ?”

“यो एक्काइसौँ शताब्दी हो,” सिगरेट सल्काउँदै भनेँ,”चुरोट पिउने पृथ्वी ?”

“घुस खान्या र घुस दिन्या देशका बैरी हुन् । बुझी लिन्याँ । सबै प्रजामा चेतना भया !”

“घुस होइन । यो सिगरेट हो, पिउने ?” फेरि सोधेँ ।

“म घुस नखान्याँ ।”

त्यसो भए भुस खाऊ, मनमनै भनेँ र रेकर्ड प्लेयर खोलेँ । प्रिय जोन डेन्भर कोठाभरि मद्दिम स्वर-लिपिमा गुञ्जन थाल्यो : कन्ट्री रोड टेक मी होम …।

पृथ्वीले म ‘कान्तिपुर नगरी’ हेर्न जान्या भनेपछि म केही सतर्क भएँ । उसलाई मैले आफ्ना पोसाकहरू लगाउन दिएँ । मसित अवश्य पनि श्रीपेच/राजदण्ड/मुगल सम्राटका क्लासिक जुत्ताहरू थिएनन् । पृथ्वी केवल कछाड र एउटा मैलो गन्जीमा थियो । उसले मेरो श्वेत टीसर्ट लगायो, नीलो जिन्स लगायो र गन्हाउने पहेँलो मोजा लगायो । श्रीपेच नभए पनि मेरो ‘एडिडास क्याप’ लगाउँछौ किभन्दा पृथ्वी प्रथमपटक मुस्कुरायो ।

त्यसपछि पृथ्वीलाई १८२५ सालको कान्तिपुरी नगरी होइन, ०६४ सालको काठमान्डू डुलाउन मैले उसको पथ प्रदर्शक बनिदिनुपर्‍यो । नरभूपाल शाहको छोरालाई लिई म काठमान्डू -विसङ्गति/पीडाको राजधानी)का अश्वेत गल्ली एव म सङ्ग्रहालयतिर गएँ । साथमा डिजिटल क्यामरा प्लस सेल फोन नभएको पृथ्वीनारायण शाह नाम गरेको पर्यटक बडो उदेकलाग्दो सावित भयो । पाको, इन्द्रचोक, असन, न्युरोड इत्यादि इलाकाहरूमा हिँडिरहँदा मैले पृथ्वीलाई उसका सन्तानहरूबारे अप्रसङ्ग व्याख्या गर्नुपर्‍यो ।

सहरको व्यस्त ट्राफिकमा पृथ्वीलाई जोगाउन मलाई बडो गाह्रो भइदियो । सिंहदरबारको ढोकाअगाडि छोपिएको सालिक देखाउँदै उसलाई भनेँ : “त्यो सालिक तिम्रो हो ।”

“मेरो सालिकलाई किन यसरी रातो वस्त्रले छोप्या ?” सोध्यो उसले ।

“यो रक्तक्रान्ति हो महाराज !” भनेँ ।

“यो रक्तक्रान्ति भन्याँ क्या हो, गाँठे !”

“आऊ/म तिमीलाई देखाउँछु ।”

त्यसपछि मैले पृथ्वीलाई सहरभरि घुमाउनुपर्‍यो । देशको पछिल्लो राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक घटना ‘सर्ट ह्यान्ड’ सुनाएँ । युद्ध, हिंसा, जातीय वचिलन, राज्य, सेना, राजनीति, विद्रोहका कुरा सुनेर पृथ्वी छटपटाउन थाल्यो । नारायणहिटी राजदरबार सामुन्नेको ‘जय नेपाल’ थिएटरमा देवनागरी होइन, बरु आङ्ल भाषाको बेट्रोलुसीको क्लासिक फिल्म द लास्ट एम्पोरर चलिरहेको थियो । नारायणहिटीबारे उसलाई बताएँ । पृथ्वीले भन्यो : “मेरा भूराहरू यस्ता भव्य महलमा बस्न्या गर्छन् ! इनीहरूलाई प्रजाको रत्ति चिन्ता छैन्याँ ?”

“छैन प्रभु,” भनेँ ।

“यो महल अनि अर्को निर्मल निवास भन्या महलमा अचेल को बस्न्याँ ?”

“ज्ञानेन्द्र बस्न्याँ, पृथ्वी !” भनेँ ।

पृथ्वी उदास भयो । फुटपाथ/माइक्रो, बस/ट्याक्सीमा उसलाई राणाकाल, त्रिभुवनकाल, महेन्द्रकाल, वीरेन्द्रकाल एवम्रीतले ज्ञानेन्द्रकालका अलोकप्रिय कुरा मिडिया अन्दाजमा सुनाउनुपर्दा आपै“mलाई उदेक लाग्यो । भनेँ,”तिम्रा यी नालायक सन्तानहरूले आफूलाई विष्णुको अवतार ठाने र देशमा निरङ्कुुश राज गरे ।”

“यिनीहरूले आफैँलाई देउता ठानी बडो भूल गर्‍याँ । प्रजाले पनि यी पाजीहरूलाई देउता ठान्याँ ?” सोध्यो ।

“पाजीहरूले आफूलाई विष्णुको अवतार ठाने र प्रजा काजीहरूले चुपचाप माने ।”

“मैले धिक्कार गर्‍याँ मेरा यी नालायक खोटा सन्तानहरूलाई ।”

“पृथ्वी ! अब समय बदलिइसक्यो । प्रजा प्रजा रहेनन् । उनीहरू यस देशका सार्वभौम नागरकि भइसके ।”

“सार्वभौम नागरकि भन्याँचाहिँ कुन चिडियाका नाम ?” सोध्यो ।

“स्वतन्त्र देशवासी,” विनम्रतापूर्वक बताएँ ।

नरभूपाल शाहको छोरा तैँ चुप मै चुप भयो । सरकारी बिदामा इन्द्रजात्रा धुमधाम मनाइँदै थियो । परम्परागत नेवारी धिमे बाजा बजाउँदै झुन्डझुन्डमा नरनारीहरू सहरका गल्लीहरूमा उल्लासित देहभङ्गिमामा नृत्यमग्न देखिए । बडो नोस्टाल्जिक फ्लेवरमा पृथ्वीले आफ्नै इतिहास सुनायो :

“समय बडो चलाख ! छट्टु ! सबैमा चेतना भया । १८२५ कहन्छु । असोज १२ । इन्द्रजात्राको दिन । यहाँका राजा जयप्रकाश मल्ललाई मैले जितिलियाँ । कसरी भुल्न्याँ होला त्यो दिन ! त्यसको १३ दिन वाद असोज २५मा पाटनका राजा तेजनरसिंह मल्ललाई पराजीत गर्‍याँ । दुई ढुङ्गाबीच रहन्याँ यो ‘नेपाल’ को आखिर एकीकरण गर्‍याँ ।

“मेरा सन्तानहरूचाहिँ यसरी मोजमस्तीमा बस्न्याँ ! प्रजाका दु:ख बिर्सन्याँ र मदिरापान गन्र्यां ! मेरो बडो दु:खले आज्र्याको राजतन्त्रको यिनी पाजीहरूले यसरी नाजायज फाइदा लिन्याँ ! वंशै नाश गन्र्यां ! राजा भई पञ्चायत चलाउन्याँ ! बेपार चलाउन्याँ ! प्रजाका कुराचाहिँ नसुन्याँ ! मैले सोच्याँ, मेरो देश अब कहाँ पुग्न्या हो ?”

एकनासले पृथ्वी एकालाप शैलीमा बर्बराउन थालेपछि मैले उसलाई रोक्नुपर्‍यो । भनेँ : “पृथ्वी ! त्यो तिम्रो प्वाल पर्‍याको थुतुनो अब बन्द गन्र्यां र मलाई सुन्न्याँ । कीर्तिपुरवासीको त्यसरी नाक काटेर किन त्यस्तो रास बनाको तिमीले ?”

“काजी ! सङ्ग्राममा यी कुराहरू चल्न्याँ हुन्,” पृथ्वीले भन्यो ।

पृथ्वीले आफ्नो रणकौशलको असफल बचाउ गररिहेको उसको अनुहारमा स्पष्ट झल्कन्थ्यो । उसले ‘एडिडास क्याप’ निकाल्यो र गालाबाट पसिनाका स-साना मोती दानाहरू पुछ्यो ।

उत्तर-मध्याह्नका बेला ! भोक लागेर अब त करबि ३१ मिनेट गइसकेको थियो घन्टाघरको घडीमा ! पृथ्वीलाई व्यस्त बागबजारमा अवस्थित ‘देवनागरी क्याफे कर्नर’मा पुर्‍याएँ । म यदाकदा जाने त्यो क्याफे सुनसान थियो । उसका ग्राहकहरू सायद नयाँ क्याफे खोज्न चन्द्रमातिर गएका हुँदा हुन् ! साहुनी/किराँती साहुनी एक्लै थिई र उसको वैदिक लोग्ने ‘काम कुरो एकातिर गर्ल फ्रेन्ड बोकी ठिमितिर’ इन्द्रजात्रा हेर्न गएको रहेछ ।

“आज कुन आत्मा तपाईंको पाहुना ?” सोधी मलाई,”यो भीखमङ्गाचाहिँ को ?”

“पृथ्वीनारायण शाह, चिन्छौ ?” सोधेँ ।

“यो नाम कताकता सुनेझैँ लाग्छ ।”

कफी प्लस पिज्जाको अर्डर गरेँ । पृथ्वीले पिज्जा खाने इच्छा देखाएन । “म घुस नखान्याँ” भन्यो र कफी मग उचाल्यो । किराँती साहुनीले टीभी स्क्रीन ‘अन’ गरी । ‘ब्रेकिङ् न्युज’ प्रसारण भइरहेको थियो : देशका विभिन्न ठाउँ/कुठाउँमा हिंसा, हत्या, अपहरणजस्ता समाचार विभिन्न च्यानलका संवाददाताहरूले ‘कभर’ गररिहेका थिए ।

मन्दिर-मस्जिदजस्ता पवित्र इलाकाहरू आगजनीमा परेका थिए । छुट्टै राज्य माग्ने प्रिय स्वदेशवासीहरू तरवार, खुँडा, बन्दुक बोकी एकापसमा मारकाट गर्नमा तल्लीन थिए । यावत् राजनेताहरू टीभी स्क्रीनमा आउँदा-जाँदा थिए । पृथ्वीलाई एक नजर फ्याँकेँ । ऊ उदास थियो । साहुनीलाई टीभी बन्द गर्न आग्रह गरेँ । आग्रह तत्काल पालना भयो । पृथ्वीको आवाज कानमा गुञ्जियो : “मैले एकीकरण गर्‍याँ यो देशको भविष्य क्या हुने हो ? म दु:खी भयाँ । बाइसे-चौबीसे राज्यहरूलाई मिलायाँ । अब यी एकापसमा लड्न्या, भीड्न्याँ नेपालीलाई कसले मिलाउन्याँ ?”

पृथ्वीको कुराले मलाई पनि चोट पुर्‍यायो । सिगरेट सल्काएँ । देशको पीडाग्निले मेरो कलेजो अँझ डढाइदियो । वास्तवमा, पीडाको दागबत्ती ज्यादै संवेदनशील/प्रज्ज्वलनशील हुने गर्छ । सिगरेट निभाउँदै पृथ्वीलाई मैले बताउनुपर्‍यो : “पृथ्वी ! तिमीले नेपालको भौगोलिक एकीकरण गर्‍यौ । तर, यो देशमा युगाैँदेखि बसोवास गरेका मानिसको पवित्र मनको एकीकरण गर्नबाट तिमी चुक्यौ । भूगोलको दसगजा क्षेत्र वरपर तिमी लड्यौ । सफल भयौ । तर, मनको दसगजा चिन्नमा तिमी असफल भयौ ।”

“म अब केही नसुन्याँ । म जान्याँ,” पृथ्वी उजाड थियो ।

“कहाँ ?” सोधेँ ।

कुमारी घर, असनचोक, काष्ठमण्डप इत्यादि घुमेपछि पृथ्वीलाई हनुमानढोका सङ्ग्रहालय लगेँ । द्वारपालले पृथ्वीलाई रोक्यो : “तपाईंको टिकट ?”

“यो टिकट भन्याँ क्या हुन् ?”

द्वारपाललाई दुइटा टिकट दिएपछि मैले पृथ्वीलाई टिकटको अर्थ सम्झाउनुपर्‍यो । उसले भन्यो : “म बडामहाराज पृथ्वीनारायण शाह । मलाई यो आफ्नै दरबार छिर्न क्याँको टिकट !” द्वारपाले चकित पर्‍यो । सङ्ग्रहालयमा एउटा इतिहास लिपिबद्ध थियो । पृथ्वीले बुझ्यो । त्रिभुवनको कफिन बाकसअघि नरभूपाल शाहको छोरा केहीबेर अलमलियो । अनि, उदास भैगो । पृथ्वीले यही दरबारमा कान्तिपुरी नगरीको राजसिंहासन आरोहण गरेको तथ्य तपाईंले अवश्य पनि बुझिदिनु हुने नै छ ।

नौतले दरबारको भर्‍याङ चढ्दा जो कसैलाइरहस्यबोध हुन्छ । यसबेला पृथ्वी प्रसन्न मुद्रामा थियो । ऊ आफैँले बनाउन लगाएको दरबार त्यो जो थियो, जहाँको बालकोनीबाट पृथ्वी आदिम कान्तिपुरी नगरी हेर्थ्यो । नौतले दरबारको उपल्लो तल्लामा पृथ्वी र म मात्र थियौँ ।

आँखीझ्यालबाट मैले तपाईंको ‘केटीएम’ अर्थात् काठमान्डूलाई हेरेँ । तपाईंहरू परविार/प्रियजनहरूसित इन्द्रजात्रा मनाइरहनुभएको थियो ।

त्यसैबेला पृथ्वीको आवाज सुनेँ : “मेरा ठूला दु:खले आज्र्याको राजतन्त्र अब क्या हुन्या हो ?”

स्वयम्भूको डाँडामाथि ट्राफिक जाममा परेको गोधूलि सूर्यास्तलाई हेर्दै मैले भनेँ :

“पृथ्वी ! तिम्रो राजतन्त्र अब नष्ट हुन्याँ हो !”

क्लोज अप :

-नौतले दरबारको बालकोनी, घाटझैँ सुनसान थियो । पृथ्वी न्वारन शालाई त्यहाँ कतै देखिनँ । बरु एउटा कुनामा पोसाकको थुप्रो फेला पर्‍यो । हेरेँ । त्यसपछि देखेँ : श्वेत टीसर्ट, नीलो जिन्स, गन्हाउने पहेँलो मोजाबीच एउटा ‘एडिडास क्याप’…।

पृथ्वी, कतै थिएन

नेपाल साप्ताहिक २६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *