सानो जाति भनि गाउँमा हेला गर्छन् अँझै
नजिक बस्न खोज्यो भने पर सर्छन् अँझै
गाउँको साझा पँधेरो नि छोईने रैछ क्यारे
हामीलाइ टाढा रोकी एक्लै पानी भर्छन् अँझै
देउता पनि ठुला जातको मात्र हुदा रैछन्
सँगै मन्दिर गयो भने आँखा तर्छन् अँझै
समानताको कुरा गर्छन् सबै मुखले मात्र
भित्र भित्रै अछुत भनी भ्रम छर्छन् अँझै
हेपिएर बाँच्नु पर्ने कस्तो रैछ भाग्य
सबै कुरा सम्झिल्याउँदा आँसु झर्छन् अँझै
