Skip to content

आज म अत्यन्त गुहृय कुराको
रहस्योद्घाटन गर्दैछु-
जति पनि कविता, गीत
जति पनि पुस्तक आजसम्म
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !

क्षमा चाहन्छु
मैले पाठकलाई ठगेँ
यो कुरालाई अहिलेसम्म लुकाएर
मैले जघन्य अपराध गरेँ
तर मानिसको स्वभाववश
म विवश थिएँ
लेखक कहलाउने लोभलाई
मैले संवरण गर्न सकिनँ ।

वस्तुतः पाँच दशकदेखि
मात्र सार्ने काम गर्दै आएको छु मैले
कसैले टिपाउँदै जान्छ
म खुरुखुरु सार्दै जान्छु
र्सार्दछु र साफी गरेर
आफ्नो नाममा छपाउँछु,
वास्तविक स्रष्टालाई
मैले पनि देखेको छैन
किन उसले घरिघरी टिपाउँछ
त्यो पनि मलाई थाहा छैन
उसको स्वरमात्र सुनेको छु
यदाकदा ऊसित संवाद गरेको छु
तर कुनै प्रसङ्गमा उसले
मसित कहिल्यै गुनासो गरेन
बारम्बार उसले टिपाउँदै गयो
मैले आफ्नो नाममा
छपाउँदै गएँ ।

गल्ती यहाँको
परम्पराको पनि हो
जहाँ लेखन्दासले पनि
आफूलाई लेखक भन्ने गर्छ
गल्ती यहाँको प्रचलनको
पनि हो
जहाँ काम गर्छ एउटाले
नाम र दामचाहिँ
अर्काको भागमा पर्छ ।
मलाई थाहा छ
र मलाई चिन्ने सबैलाई थाहा छ
मजस्तो व्यक्तिले
यस्ता कविता गीत लेख्नै सक्दैन
कुनै तादात्म्य छैन
म र मेरा रचनाबीच
यो त्यसै पनि
उहिले पत्ता लागिसक्नुपर्ने थियो ।

तर मलाई धन्यवाद दिन पर्छ
कमसेकम मैले
आफ्नो अपराध स्विकार गरेँ
मैले आफैँलाई समातेर
सुपुर्दगी गरिदिएँ
अहिले म आफ्नैसामु
आत्मर्समर्पण गरेर भनिरहेछु
गर्वका साथ भनिरहेछु –
जति पनि कविता गीत
जति पनि पुस्तक मेरा नाममा
प्रकाशित भएका छन्
त्यो एउटै पनि
मैले लेखेको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *