दुई दशकदेखि टे्रकिङ शुरु भएपनि पर्याप्त होटल-लज नभएकाले प्रायः क्याम्पिङ गर्ने समूहको मात्र छनोटमा पर्दो रहेछ, अन्नपूर्ण क्षेत्रको बेनी-खोप्रा-खयरताल पदयात्रा। अहिले महावीर पुनको अगुवाईमा स्थानीय बासिन्दा र विद्यालयले दुइटा निजी तथा एउटा सामुदायिक लज निर्माण गरेका छन् भने थप दुई सामुदायिक लज बनाउँदै छन्। सामुदायिक लजको आम्दानी स्थानीय विद्यालयमै लगानी गर्ने योजना छ।
बेनी-खोप्रा-खयरताल घुम्न जाने उचित समय शरदयाम नै हो। बसन्तमा लालीगुराँस र अन्य फूलपातीले डाँडै ढाकेको देख्न सकिन्छ, तर हिमालहरू अहिलेजस्तो खुल्दैनन्। बेनीबाट मल्लाज गाउँ हुदै उक्लिन शुरु गरेदेखि नै गुर्जा पिक, धौलागिरि, वराहा शिखर, अन्नपूर्ण साउथ र माछापुच्छ्र्रे हिमाल लहरै उभिएका देखिन्छन्। आठ घण्टाको हिँडाइपछि पहिलो बास यिनै हिमालको काखमा अवस्थित नाँगीमा हुन्छ। भोलिपल्ट काठ, दाउरा, स्याउला काट्न नहुने जनविश्वास गाँसिएको नाँगीको कुमारी जङ्गलको घुमफिर र मन्दिर दर्शन गरेर बास बस्न स्वाँता पुगिन्छ। बाटोमा गुराँसको जङ्गलैजङ्गल चार-पाँच घण्टा हिँडेपछि आउने फूलबारीमा सामुदायिक लज बनिरहेको छ।
स्वाँताबाट अर्को दिन खोप्रा (३६०० मि.) तिर लाग्दा गुराँसको घना जङ्गल विस्तारै पातलिँदै र रूखबिरुवा होचिँदै-छरिँदै जान्छन् र घाँसका पहेँलो बुट्यान मात्र भेटिन्छन्। यहाँ पनि लगभग आधी बाटोको धानखर्कमा सामुदायिक लज बन्दैछ। डाँडाको अन्तिम छेउको खोप्राबाट पश्चिमतर्फ निकै तल देखिन्छन्― अन्नपूर्णको फेरोमा पर्ने घोडेपानी र पुनहिल।
खोप्राको साँझ् विशेष हुन्छ। अस्ताउँदो सूर्यसँगै पश्चिमपट्टि क्रमशः पहेँलो र रातो हुँदै गएका डांडाहरू अनि तल उपत्यकालाई छोपेर बसेको बादलको संसार कुनै हिमालको शिखरबाट देखिने दृश्यभन्दा कम हुन्नन्। सूर्य डुब्दै जाँदा रङ्गिने क्षितिज र त्यही रङ्गमा देखिने विशाल धौलागिरि खोप्राको प्रमुख आकर्षण हो। खोप्राबाट सूर्योदय त देखिँदैन, तर बिहानीको लाली छरिएको आकाश र हिमालको अनुपम रुप अनि बादलको चलखेल अद्धितीय नै हुन्छ। म्याग्दीका विद्यालयमा इन्टरनेट पुर्याउन राखिएको रेडियो टावरले खोप्रालाई पनि बाँकी संसारसँग जोडिदिएको छ।
खोप्राबाट आउन-जान झ्ण्डै ११-१२ घण्टा लाग्ने ४६०० मिटरको उचाइमा अवस्थित खयरतालमा बस्ने-खाने ठाउँ नपाइने हुनाले बेलैमा फर्किन सकिने गरी यात्रा शुरु गर्नुपर्छ। दिउँसोको लागि खानेकुरा र न्यानो लुगा लैजानुपर्छ। बाटोमा ठाउँठाउँमा भेडीगोठ देखिन्छन्। डेढ घण्टा हिँडेपछि खयरताल र घान्दु्रकताल जाने बाटो छुट्टिन्छ। कास्कीका गुरुङले घान्दु्रकताल र म्याग्दीका मगरले खयरताललाई शिरखर्क (धार्मिक महत्व गाँसिएको भेडा चराउने उपल्लो मैदान) मान्ने गरेको घान्द्रुकका होटल व्यवसायी ध्रुव गुरुङ बताउँछन्।
स-साना पहाडले घेरिएको खयरतालको छेउछाउमा कात्तिकमै हिँउ जमेको देखिन्थ्यो। सफा पानीमा स-साना जीव पनि चल्मलाइरहेका थिए। अघिपछि सुनसान यो लेकमा जनैपूर्णिमाको दिन लाग्ने मेलामा भोग दिइने पाठा र अरू सामान बेच्नेहरुको ठूलो चहलपहल अनि बस्ने ठाउँको समेत व्यवस्था हुँदो रहेछ। मन्दिर वरिपरि फालिएका सिक्का, चढाइएका स-साना त्रिशूल, पाठाका सिङ र रौँले अहिले पनि तीन महिनाअघिको मेलाको झ्ल्को दिइरहेका थिए।
खोप्राबाट अर्को दिन आएकै बाटो फर्कन वा बयलीतर्फ लागेर टाडापानी, घान्दु्रक हुँदै पोखरा र्झ्न सकिन्छ। अर्कोतिर स्वाँताबाट घोडेपानी, उल्लेरी हुँदै पोखरातिर लाग्न पनि सकिन्छ। खोप्रा छोड्नुअघि यहाँबाट देखिने धौलागिरि र अन्नपूर्ण क्षेत्र छुट्याउने दानास्थित कालीगण्डकी नदीको विश्वकै गहिरो खोँच हेर्नैपर्छ, जहाँ त्यो खोँच चिनाउने सानो स्तम्भ छ।
साँझ्को वयलीलाई आकाशै ढाक्ने सूर्यास्तको लाली र गाढा नीलो आकाशमा अँध्यारो डाँडा पछाडि झल्किने चन्द्रमाले अविस्मरणीय बनाउँछन्। बिहान लहरै डाँडामा पोखिने लालीले इलाम यिनै डाँडापारि त छैन भन्ने भान पार्छ। वयलीबाट तीन घण्टामा पुगिने टाडापानीतिर लाग्दा अन्नपूर्ण परिक्रमा गर्ने पर्यटकहरू देखिन्छन्। फराकिला बाटा, अलि बाक्ला बस्ती र पसल-रेस्टुरेण्टमा चकलेट, कोक तथा थरीथरीका परिकार भेटिन्छन्। धौलागिरी टाढिँदै जान्छ, अन्नपूर्ण साउथपछिल्तिर अन्नपूर्णको चुचुरोले चियाउन थाल्छ। घान्दु्रकको चिटिक्क परेको गुरुङ वस्तीबाट वीरेठाँटी-नयाँपुल वा लान्द्रुक-धम्पुस-फेदी भएर पोखरा लाग्दाबाटोभरि माछापुच्छ्र्रेले तानिरहन्छ।
