Skip to content

सितार सम्राटबारे दुई शब्द

  • by


नरेन्द्र वाटाजू र सितारवादन एकाअर्काका पूरक हुन् भन्दा फरक पर्दैन । सितारका सातै तारका झंकारबाट जीवन-जगतलाई झंकृत पार्नमा अति पोख्त हुनुहुन्छ हाम्रा नरेन्द्र वाटाजु ।

दशकौंदेखि सितारवादनको विशिष्ट विधामा तपस्यारत वाटाजू राष्ट्रिय-अन्तर्राष्ट्रिय जगत्का अद्वितीय साधक हुनुहुन्छ । उहाँसरह बेजोड प्रतिभासम्पन्न स्रष्टालाई सुन्ने, जान्ने, बुझ्ने स्रोताहरू विश्व मानचित्रमा बृहत्बाट बृहत्तर हुँदै गइरहेका छन् । यसै मेसोमा विश्वप्रसिद्ध सितारवादक रविशंकर उहाँको प्रकृतिप्रदत्त, स्वाभाविक र जन्मजात प्रतिभाबाट मन्त्रमुग्ध हुनुभएर गहिरो सिर्जनात्मक आत्मीयता तथा स्नेहभावमा बाँधिन पुग्नुभयो ।

सन् १९४४ मार्च १७ मा बुवा पुण्यचरण वाटाजू र आमा छोरीमैंया हाडाबाट काठमाडौं, भोटाहिटीमा जन्मनुभएका नरेन्द्र आठै वर्षको उमेरदेखि सितारको प्रारम्भिक ज्ञान आर्जन गर्नपट्ट िलाग्नुभयो । सितारसँग उहाँको प्रेम सुरुदेखि नै तीक्ष्ण र प्रगाढ थियो । त्यही तीक्ष्णता र प्रगाढताले एक दशकपछि एक

धूनमा लागेका नरेन्द्रलाई संगीतको हरितगृह भनिने तत्कालीन भारतको लखनउमा पुर्‍यायो । त्यसपछि नरेन्द्र वाटाजूको सितार- वादनको सुरमय यात्राले कहिल्यै पछाडि र्फकनु परेन, निरन्तर अघि बढिरह्यो ।

गुरु नारायणप्रसाद श्रेष्ठ तथा युसुफ अली खानजस्ता दिग्गज व्यक्तित्ववाट सुरु भएको यात्राका पैतालासँगै स्नातकोत्तरका अग्ला चुचुरा टेक्दै लखनउ, दिल्ली हुँदै उहाँ पुनः काठमाडौं आइपुग्नुभयो । विलक्षण यात्रा यतिमै टुंगिन्थ्यो र ? काठमाडौं आएर सितार शिक्षणमा व्यस्त उहाँका झंकृत स्वरलहरीले हिमालका उच्चतम श्वेत-धवल हिमाली चुचुराहरूको प्रदक्षिणा गरेन

कि ? अटलान्टिक महासागरदेखि प्रशान्तसम्मका लहरहरूमा ती तारसप्तकका नादहरूले परम आध्यात्मिक अभिशून्यताको बीजारोपण गरेको छैन कि ? बाटाजूको छत्रछायामा सितारवादनको तालिम पाउनेहरू स्वदेशी मात्र होइनन् युरोपेली, अमेरिकी तथा विश्वका अन्य भागका युवा समुदायले पनि आफूलाई गौरवशाली र भाग्यशाली ठान्न थाले । भूगोलका सीमारेखाहरू अब नरेन्द्र वाटाजूको निम्ति साँघुरो भयो ।

कलाकार जब कला साधनाको चुचुरोमा पुग्छन्, तब भूभागका सीमारेखाहरू पनि साँघुरिंदै जान्छन् । नरेन्द्र वाटाजू नाम गरेका अवर्णनीय प्रतिभाका अति विशिष्ट, तारसप्तकका अध्येतालाई ‘सितार सम्राट’ सम्बोधन गरेर ‘स्वर सम्राट’ नारायणगोपाल संगीतकोषले एउटा इतिहासको संरचना गरिसकेको छ । अन्तमा बिलियम वड्र्सवर्थका ‘नेसनल इन्डिपेन्डेन्स एन्ड लिवर्टी’ काव्यका चार पंक्ति वाचन गर्दै सम्मानित व्यक्तित्वको चिनारी टुंग्याउँदै छु ः

दुइटा आवाज छन् त्यहाँ, एउटा सागरको
अर्को उच्चतम पर्वतहरूको, दुइटै शक्तिशाली छन्
शताब्दीऔंदेखि दुइटैमा अत्यधिक रमाइरह्यौै तिमीहरू
सम्भवतः तिमीहरूले रुचाएको संगीत स्वतन्त्रता नै हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *